राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ ।
यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
- पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य
- पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
- डरलाग्दो अनुवंशीय रोगः थालेसीमिया
- व्यवस्थापनमा ध्यान दिए बढ्ने छन् सामुदायिक विद्यालयमा विद्यार्थी
- निकुञ्जभीत्रै वन्यजन्तुका लागि छैन पानीः २ पोखरी निर्माण
- सडकबाटै अर्गानिक तरकारीको प्रवर्द्धन
- भैँसी पाल्नुहोस् पचास हजार अनुदान पाउनुहोस् !
- थुन्सेले जोगाएको परम्परागत सीप
- धेरै कानुन र धेरै नियामकबाट समस्यामा मेक इन नेपाल