एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई हराएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित हात पारेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। ३३ औं ओभरमा १७४-३ को स्थितिमा रहेको क्यानडाले अन्तिम ४३ रनमा ७ विकेट गुमायो । आजको खेलमा नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । पौडेलले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए ।
यसैगरी ललित राजवंशीले पनि दुई विकेट हात पारे । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले पनि एक–एक विकेट लिए । निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख देखिएको थियो । तर नेपालका स्पिनरले अन्त्यतिर खेललाई लयमा फर्काउँदै रोमान्चक जित दिलाउन सफल भए ।
सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । क्यानडाका दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । क्यानडाका लागि परगत सिंह ५० र निकोलस किर्तनले ६८ रन बनाएका थिए । हर्ष ठाकेरले पनि ३२ रन बनाए । क्यानडाले अतिरिक्त रुपमा १७ रन पाएको थियो ।
ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान गरे । आरिफ शेखले पनि टोलीको खातामा ३८ रन थपे । कुशल मल्ल २० रन बनाउँदै पेभेलियन फर्किए । भीम सार्कीले १७ रन बनाए । पवन सर्राफ १५ रनमा आउट भए । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले पनि २७ रनको योगदान गरे । सूर्य तामाङ ३२ बलमा १० रन बनाउँदै अविजित रहे । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।
यससँगै प्रशिक्षक मोन्टि देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा अपराजित यात्रालाई कायम राखेको छ । नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।
यसैबिच नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेलमा दर्शकले बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई नियन्त्रणमा लिएको थियो।
कीर्तिपुरमा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए। त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो। सोही कारण केहीबेर खेल समेत रोकिएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
- व्यावसायिक माछा पालनबाट वार्षिक ११ लाख आम्दानी
- नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
- पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
- पर्यटकीय घलेगाउँ
- एनपिएल विजेता खेलाडी ट्रफीको साथमा रमाउँदै
- भगवती कोत मन्दिर
- त्रिवेणीधाम
- सापुल्ली गाउँ
- हिउँ बिनाको सिस्ने हिमाल