कार्यालय प्रमुख विहीन हुदाँ भद्रगोल बन्यो पर्साको कृषि ज्ञान केन्द्र

तलब विहीन भए कर्मचारी

कृषि ज्ञान केन्द्र पर्साका अधिकृत कुशेश्वर यादवलाई अहिले कार्यालको काममा भ्याइ नभ्याई छ । कार्यालयमा एक्लै भएकोले फिल्ड देखि सबै ठाउँ पुग्नुपर्ने यादवको बाध्यता छ । कार्यालयमा जनशक्तिको अभावले ज्ञान केन्द्रको अवस्था धेरै दयनीय भएको यादवको गुनासो छ ।

कृषि ज्ञान केन्द्र पर्सामा जनशक्तिको अवस्था पनि साह्रै कमजोर छ । कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि  तिन जना  कर्मचारीले सबै कम गर्नुपर्ने बाध्यता रहेको यादवले बताए  ।

जिल्लाको पूर्वी सिमाना वीरगन्जमा रहेको यो कार्यालयले वीरगन्ज देखि ६५ किलोमिटर पश्चिम ठोरी गाउँपालिकासम्मको काम गर्नुपर्ने हुन्छ ।

कार्यालयमा ६ जना अधिकृतको दरबन्दी भए पनि आफू लगायत दुई जना मात्र अधिकृत रहेको कुशेश्वर यादवले जानकारी दिए । त्यसमा पनि कृषि प्रसार शाखाका अधिकृत हरिशंकर जयसवाल केही समय देखि उपचारमा रहेकोले कार्यालयको अवस्था झनै नाजुक भएको अधिकृत यादवको भनाइ थियो ।

नासु प्रविधि तीन, नासु प्रशासनमा एक, लेखापाल एक, चालक एक र कार्यालय तीन कार्यालय सहयोगीको दरबन्दी रहेको छ । तर अहले दुई अधिकृत र कार्यालय सहायक एक जना कर्मचारीको पदपूर्ति मात्र छ । कार्यालय प्रमुख नभएकोले आर्थिक कारोबार ठप्प छ । कार्यालयका सबै कामहरू सुस्त रूपमा चलाइ रहेको बताउँदै यादवले भने, ‘कार्यालय प्रमुख नभएको कारण दुई महिना देखि हामीले तलब लिन पाएका छैनौँ । साना तहका कर्मचारीलाई झन् कठिनाइ भएको छ । कार्यालयको अवस्था बारे मन्त्रालयलाई पटक पटक जनाकारी गराइसकेको भए पनि यसको सुनुवाइ भएको छैन ।’ 


प्रदेश मातहतका सबै कार्यालयहरूको दरबन्दीको अवस्था दयनीय भएको प्रदेश कृषि मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेको भनाइ छ  । पाण्डेको अनुसार– ‘प्रदेश सरकारका सबै कार्यालयको दरबन्दी पूर्ति प्रदेश लोकसेवाबाट हुनु पर्ने हो । कृषि मन्त्रालयले पनि ६० प्रतिशत कर्मचारीको दरबन्दीमा मात्रै काम गरिहरेको छ ।’ सबै दरबन्दी पूर्ति गर्न थप ४० प्रतिशत कर्मचारी आवश्यक रहेको पाण्डेले  यसका  लागि मन्त्रालयले प्रदेश लोकसेवालाई सिफारिस गरिसकेको बताए।

मुलुक सङ्घीयतामा गए पछि विकासको गतिले तीव्रता लिने आशा गरिएको थियो । तर कार्यालयहरूको अवस्था झन् झन् दयनीय बन्दै गएको छ । प्रदेश र स्थानीय तहहरू सञ्चालनमा आएपछि देशका समग्र कृषि क्षेत्रमा आमूल  परिवर्तन आउनु पर्नेमा भ्रष्टाचार र बेथिति बढ्दै गएको सर्वसाधरणको गुनासो छ । 

कृषि ज्ञान केन्द्र पर्साका कर्मचारीहरू अप्ठ्यारो परेको बारे मन्त्रालय जानकार रहेको मधेस प्रदेश कृषि मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले बताउनुभयो । कृषि ज्ञान केन्द्रको प्रमुख नवौँ वा दशौँ तहको दरबन्दी भएकोले त्यसको सरुवा गर्ने अधिकार मुख्यमन्त्री कार्यालयसँग भएको सचिव पाण्डेले बताए । उनले भने,‘कृषि ज्ञान केन्द्र पर्साको प्रमुख छिटै पठाउनेमा हामी लागी रहेका छौ, मुख्यमन्त्री कार्यालयमा यहाँबाट नाम सिफारिस गरिएको छ ।’

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र योगदान घट्दै गएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७.६ प्रतिशत मात्र रहने अनुमान गरिएको छ भने करिब ६० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेका छन् ।

तर दुई महिना देखि कार्यालय प्रमुख विहीन अवस्थामा विकासका बजेटहरू फ्रिज हुँदैन त भन्ने प्रश्नमा सचिव पाण्डेले विकासका सबै बजेट खर्चिने मन्त्रालयको दृढ लक्ष्य रहेको बताए । उनका अनुसार – ‘अहिले धेरै समय छ, विकासका सबै कामहरू हामी सम्पन्न गर्छौ । त्यसमा कुनै शङ्का गर्नु पर्दैन ।’

सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुगेको भनिए पनि जिल्ला स्थित कार्यालयहरूबाट र अन्य आवश्यक सेवाहरू पालिकाहरूबाट नै प्रवाह हुने कुरामा आम जनतालाई आश्वस्त पार्न सकिएको छैन । सङ्घ प्रदेश र स्थानीय तहमा अधिकारको खिचातानी त्यसमा पनि जनशक्तिको अभावले कृषि क्षेत्रलाई बिउ र मलको अभावमा कृषकहरू निराश बनेका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
कार्यालय प्रमुख विहीन हुदाँ भद्रगोल बन्यो पर्साको कृषि ज्ञान केन्द्र
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link