बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन्। जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन्। पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ। विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रुपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ। त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन्।
दुई/चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो। त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो। पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका– २ का किसान टेकबहादुर विकले बताउनुभयो।
पश्चिम म्याग्दीका प्रायःसबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए। विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरु बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिनुभयो।
“केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्”, विकले भन्नुभयो। विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन्। जुनेलो बजारमा प्रतिपाथी रु चार सयका दरले बिक्री हुने उहाँले बताउनुभयो।
त्यसैगरी फापरको पनि बजारमा माग बढेको छ। विशेषगरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन्। पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन्। पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला–५ की गोमा रोकाले बताउनुभयो। “हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो”, रोकाले भन्नुभयो, “आफैँले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो।”
दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उहाँले बताउनुभयो। “घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ”, उहाँले भन्नुभयो, “बजारमा पनि फापरको उच्च माग रहेको छ।” गाउँमा उत्पादन भएको फापर एक पाथीको रु दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
