मर्चवार लिफ्ट सिंचाइको निर्वाचन: उपाध्यक्ष निर्विरोध, ३ पदका लागि मतदान हुने

रुपन्देहीको मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्था मूल समितिको निर्वाचनमा उपाध्यक्ष पद निर्विरोध भएको छ भने तीन पदका लागि प्रतिस्पर्धा हुने भएको छ ।

संस्थाको मूल समिति चयन प्रक्रिया अन्तर्गत वरिष्ठ उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सादेबी गुप्ताको एकल उम्मेदवारी परेकाले उक्त पद स्वतः निर्विरोध घोषित भएको हो ।

निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागी भने प्रतिस्पर्धा हुने भएको निर्वाचन समितिले जनाएको छ । आइतबार दिउँसो ३ देखी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सीमा तोकिएको छ ।

संस्थाको अध्यक्ष पदमा वर्तमान अध्यक्ष नजीर अहमद खाँ, फिरोज अहमद खाँन र राजेन्द्र प्रसाद यादवले उम्मेदवारी दिनुभएको छ । त्यसै गरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी र अब्दुल सलाम मुसलमान तथा कोषाध्यक्ष पदमा जनार्दन यादव र प्रभु प्रसाद यादवले उम्मेदवारी दिनु भएको छ ।

आगामी चार वर्षे कार्यकालको लागि आउने २३ गते शनिवार मतदान हुँदैछ ।

यस अघि एउटा मात्र उपाध्यक्ष हुने मूलसमितीको संशोधित विधान अनुसार यस पटक महिला उपाध्यक्ष पद थपिएको छ । निर्वाचन समितिका अनुसार, अध्यक्ष, सचिव, र कोषाध्यक्ष पदमा उम्मेदवारी परेकाहरूबिच प्रतिस्पर्धा हुने देखिएको छ । यसका लागि उम्मेदवारहरूले आफ्नो प्रचार‐प्रसारलाई तीव्र बनाउनुभएको छ ।

किसानहरूको हक‐हितका लागि मर्चवार लिफ्ट सिंचाइ महत्त्वपूर्ण मानिन्छ । निर्वाचनले संस्था सञ्चालनमा नेतृत्व चयन गर्ने भएकाले उपभोक्ताहरूको चासो बढेको निर्वाचन समितिका संयोजक एवम् जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर विवेक शाहले बताउनुभयो ।

मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाको विधान अनुसार, निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक शाहले भन्नुभयो, “संस्थाका कुल १ सय ३१ ब्लकका अध्यक्षले मतदान प्रक्रियाबाट संस्थाको पदाधिकारी छान्ने छन् । उम्मेदवारहरूबिच सौहार्दपूर्ण प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link