दूध किसानले पाएनन् सात अर्ब

किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन्। आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै असार ५ गते उनीहरूले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन्।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ। दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो।

“किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो। दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ।

यसबीच प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ। किसानका  समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

प्रतिनिधिसभाको असार ५ गतेको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उहाँको भनाइ थियो।

“किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु ६ अर्ब भुक्तानी पाउन बाँकी छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो– “किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन।” उहाँले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्र्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। “आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
दूध किसानले पाएनन् सात अर्ब
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link