जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।
शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।
यहाँ स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभँैसी औसत रु ३८ हजारमा बिक्री भएका थिए ।
विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीपहिरो क्षतिः काभ्रेका छजना अझै बेपत्ता, ७८ को मृत्यु
- नेपालको मिडिया परिदृश्य ‘कठिन समय’ को सामना गर्दै
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
- माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म कमाउँछन् पण्डित
- सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
- कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
- जो सिलौटो बेचेर मासिक ४० हजार कमाउँछन्…
- गलकोट दरबार
- उत्तरगया धाम
- युद्ध सुरु भएयता गाजामा सहायताको ‘सबैभन्दा खराब प्रतिबन्ध’ को राष्ट्रसङ्घद्वारा निन्दा