जारी टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन् ।
सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका बाहिरिएका छन् ।
अब सेमिफाइनलका दुवै खेल बिहीबार हुने छन् । बिहीबार बिहान पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुने छ । ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार विहान ६:१५ बजेदेखि शुरु हुने छ ।
दक्षिण अफ्रिका सुपर आठमा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बंगलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । यस विश्वकपमा दुवै देशको यात्रा रोचक रहेको छ ।
दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहेपनि सबै खेलमा संघर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुगेको छ भने अर्कोतर्फ अफगानिस्तानले समुह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस आघ सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
त्यस्तै अफगानिस्तान भने इतिहास बनाउँदै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म २ टी -२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जितेको छ ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।
भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ । इङ्ल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो ।
भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल
- अपी हिमाल
- आफ्नै लगानीमा च्याउ उद्योग: बर्दिबासदेखि इटहरीसम्म बजार जोड्दै महोत्तरीका युवा
- भारतमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यस्त दोस्रो दिन: राष्ट्रपति भवनमा राजकीय स्वागतदेखि मोदीसँग द्विपक्षीय वार्तासम्म
- पोचेटिनोको खराब सुरुवात, युनाइटेड ४-० ले पराजित
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- सोमबारको मौसम: उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली