घरबासले जोगाउँदै मगर संस्कृति

हरियो सालको पातको टपरी। त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी। अचार, आलु अनि गेडागुडी। हेर्दै खाउँखाउँ लाग्ने। मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार। लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।

“पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न। त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ।
“सेल रोटी पेटभरि
खाउँ है !
रैथाने चामलले बनाएको।
केही हानि गर्दैन।”

सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ। नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नुभएको थियो। पुग्नुको प्रसङ्ग बेग्लै थियो। तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो।

उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो। सावित्रीले भन्नुभयो, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो।” सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो।

लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो। यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिनुभएको थियो। मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन्।

“लमजुङ घरबासले धानेको जिल्ला हो। यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्”, मन्त्री गुरुङले भन्नुभयो, “घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पु¥याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ।”

मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताउनुभयो। सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।

आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाउनुभयो। मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन्। पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन्।

घरबासका अध्यक्ष हेमबहादुरले भन्नुभयो, “यो वर्ष हिउँ हराउँदै गएर टुप्पामा मात्रै थोरै देखिन थालेको छ।” बाल्यकालमा माथिसम्म हिउँ देखिने गरेको सम्झदै उहाँले अब ती सबै दृश्य लोप हुने चिन्ता मनमा गढेको बताउनुभयो।

हेमबहादुरका अनुसार नरुवाल घरबासबाट अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु, गणेशलगायत पाँच वटा हिमालका दृश्य नियाल्न सकिन्छ। “अहिले जलवायु परिवर्तनको असरले बाक्लो हिमाल पग्लिँदै कालापत्थरमा परिवर्तन हुन थालेको छ। यसले गर्दा घरबास सञ्चालकमा त्यसको प्रत्यक्ष असरमा भोग्नुपर्ने चुनौती थपिएको छ”, उहाँले भन्नुभयो।

नरुवाल मगर घरबास यहाँका स्थानीय महिलाले धानेका छन्। घरबास सञ्चालक फूलमाया राना, सुनिता राना, सविना राना, पार्वती राना, मिना राना, दिलमाया राना, राममाया आले, सङ्गीता आलेलगायत महिलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउँदै आएका छन्।

फूलमाया उमेरले पाकी हुनुहुन्छ। उहाँले घरबासमा पाहुनाको सत्कार गर्दा परम्परागत संस्कार र संस्कृतिमा जोड दिन रुचाउनुहुन्छ। बारीमा फल्ने कोदो, मकै, चामल, यिनै परिकारले बनेका मगरका परम्परागत खानपान पस्किन उहाँ निकै सिपालु हुनुहुन्छ। मिना रानाको घरबासमा आउने पाहुना प्रायः लोकल कुखुरा र ढिँडो खाने हुन्छ।

बेँसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर रानाका अनुसार वडामा मगर समुदायको अर्गानिक खानपान र कलासंस्कृति मुख्य आकर्षण हो। “लमजुङमा केही पर्यटकीय स्थान छन्। यहाँ ऐतिहासिक पाथीभरा मन्दिर छ। ढुङ्गैढुङ्गाको परम्परागत ढुङ्गे डाँडो छ। ऐतिहासिक ढुङ्गे धाराहरू छन्। एक किलोमिटरजति लामो चिप्लेटे ढुङ्गाले बनेको परम्परागत चिप्लेटे खोला पनि पर्यटकलाई हेर्न आकर्षित गर्छ”, उहाँले भन्नुभयो।

वडाध्यक्ष रानाका अनुसार लोप हुँदै गएको मगर समुदायको भेजा प्रथा यहाँ अझै पनि संरक्षित छ। साथै मगर समुदायको कौटा, झाम्रे नाच र वेषभूषा मुख्य आकर्षण रहेका उहाँले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link