दही र महीको माग बढ्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिंक, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो । तर अहिले परिस्थिति फेरिँदै गएको छ । गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टी प्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ ।

पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्यजस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टी प्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए । “पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसै गरी भोजमा मही र दही राख्न थालिएको छ”, उनले भने ।

गाउँमा मात्र होइन, सहर बजारका पार्टी प्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टी प्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैँले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’मा नै दही महीलाई समावेश गर्न थालेका छौँ ।”

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभा समारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ । यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईँले बताए ।

“स्वाद, स्वास्थ्य र संस्कृतिको संगम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ”, उनले भने । विशेष गरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ । देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिंकको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ ।

माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन् । भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गंगाधर न्यौपानेले बताए । “हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ । यसले किसानलाई फाइदा पुगेको छ”, उनले भने।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link