बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकार पत्करमा लागेको आगो झैँ सल्केर सकिन्छ भन्ने धेरैले सोचेका थिए तर त्यो यति छिटो आगो सल्केला भन्नेचाहिँ कसैले पनि सोचेको थिएन। तर मतदाताहरूले चाहिँ केही कुरा पनि भुलेका रहेनछन्, त्यसैले त उनीहरूले प्रधानमन्त्री जोनसनलाई मतदानद्वारा दण्डित गरेका छन्। गत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा प्रम जोनसन र उहाँको कन्जरभेटिभ पार्टीले लन्डनमा सधैँजसो जित्ने दुई प्रमुख काउन्सिलहरू सहित ४ सय भन्दा बढी सीटमा हारेको छ।
उहाँकै दललेसमेत यस्तै किसिमको नतिजा आउने अनुमान गरेको थियो, त्यसैले होला, चुनावअघि नै कञ्जरभेटिभ पार्टीले यो निर्वाचनमा ८ सय सीट गुमाउने छ भन्ने हल्ला उहाँकै पार्टीभित्र व्यापक रूपमा फैलाइएको थियो। धेरै ठाउँमा हार्नुपर्ने हो तर कम ठाउँमा मात्र हारियो भनेर यो नतिजालाई नै जितका रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ।
यस्तै बेइमानी कुरा गरेर सन् २०२४ मा हुने आम चुनावसम्म जोनसनलाई नै पार्टी प्रमुखका रूपमा राखिराख्ने तिकडम चलिरहेको छ। यस्तो बेइमानी काम बोरिस जोनसनले मात्र गर्न सक्नुहुनेछ । यदि उहाँले त्यसो गर्नुभयो भने यसको अर्थ उहाँले बेलायतको राजनीतिलाई सुधार गर्नै नसकिने गरी भ्रष्ट पार्नु हुनेछ ।
बोरिस जोनसनलाई जुलाई २०१९ मा बेलायतको प्रधानमन्त्री चुनिएको थियो र सोही वर्षको डिसेम्बरमा भएको निर्वाचनमा जोनसन र उहाँको पार्टी अत्यधिक मतले विजयी भएके थियो। सरकार बनेको लगभग तीन वर्षसम्म, बेलायत ब्रेक्जिटको झमेलामा फस्यो । त्यसैगरी कोरोना महामारीले सामाजिक जीवन अस्तव्यस्त मात्र पारेन अर्थतन्त्रमा लागतको संकट र दोहोरो अङ्कको मुद्रास्फितिको पूर्वानुमानको समेत सामना गरिरहेको छ। तर राज्यका अत्यावश्यक कामलाई एकातिर पन्छाएर अहिले वेस्टमिनिस्टर स्क्यान्डल (लकडाउनका बेलामा आयोजना गरिएको मदिरा भोज) चलिरहेको छ । यस्तो स्क्यान्डल जसको प्रभाव विस्तारैबिस्तारै भयानक प्रकोपको रूपमा देखा पर्दैछ।
कुनै पनि बेलायती प्रधानमन्त्रीले पदमा रहँदा कानून तोडेबापत सजाय पाएका थिएनन्, तर जोनसन अपवाद भए । |
---|
पहिला कुरा गरौँ- वालपेपर काण्डको। प्रधानमन्त्री जोनसनले ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो निवासका भित्ताहरूलाई सुनौला डिजाइनका वालपेपरले ढाक्नु भयो जसको मूल्य एउटै रोलको १ हजार डलर (लगभग सवा लाख रुपैयाँ) भन्दा बढी पर्छ।
अर्को संकट डोमिनिक कमिंग्सको हो, जोनसनका सबैभन्दा वरिष्ठ पूर्व सल्लाहकार र ब्रेक्जिट योजनाकार डोमिनिक कमिंग्सले ‘ह्विसिल–ब्लोअर’ बनेर गम्भीर आरोप लगाउनुभयो । उहाँले अध्ययन कक्षमा बसेर प्रधानमन्त्री पन्ध्रौं शताब्दीको किताब ‘अ मोनुमेन्ट टु सेन्ट अगस्टिन’ लाई सिरानमा राखेर सपना देख्छन् भन्ने आरोप लगाउनु भएको छ।
यी दुवैभन्दा ठूलो संकट चाहिँ पार्टीगेट काण्ड छ। यो काण्ड बेलायतभरिका जनतालाई लकडाउनमा थुनेर प्रधानमन्त्री जोनसन र उहाँका कर्मचारीहरूले गरेको पार्टीहरूको एक शृङ्खला हो। यसका बारेमा प्रधानमन्त्री जोनसनले जानीजानी संसद्लाई भ्रममा राख्नु भयो जुन एउटा अपराध हो।
यहाँ महिनौँसम्म, श्रृङ्खलावद्ध रूपमा पार्टी चलिरहेको थियो ‘तासको पत्ताको घर’ जस्तै। वास्तविक र अझ डरलाग्दो कुरा त्यहाँ थरिथरिका पार्टी भए एबीबीए ( भूतकालको फेसनमा रमाउने) पार्टी, जन्मदिनको पार्टी र क्रिसमस पार्टी, जसमा ‘सेक्सिएस्ट अफ दि एयर’ ( वर्षको सबैभन्दा कामुक व्यक्ति) भनिने पुरस्कार दिइयो। यस्ता पार्टीहरू त्यस्तो समयमा भएका थिए जुनबेला धेरै बेलायतीहरूले आफ्नो जागिर र आफ्नो व्यवसाय गुमाइरहेका थिए । कैयौं आफ्नो परिवारबाट अलग रहेर अस्पतालहरूमा एक्लै छटपटाइरहेका थिए र मरिरहेका थिए।
यी पार्टीहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको एक सरकारी कर्मचारी आफैंले पनि पार्टी आयोजना गरेको थाहा भए पछि उनलाई बर्खास्त गरियो । त्यसपछि नियुक्त सु ग्रेबाट जनवरीमा हामीले सूचना प्राप्त गरेका थियौँ। त्यसपछि लन्डन महानगर प्रहरीले आफैंले अनुसन्धान गर्यो र अहिले बोरिस जोनसन, उहाँकी पत्नी र कोषका चान्सलर सहित ५० भन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ।
कुनै पनि बेलायती प्रधानमन्त्रीले पदमा रहँदा कानून तोडेबापत सजाय पाएका थिएनन्, तर उनी अपवाद भए ।
अहिले जोनसनका पक्षमा निराशाजनक चुनावी नतिजा आएका छन् । अब सांसदहरूले उनलाई अविश्वासको मत दिने कि नदिने भन्ने बारेमा निर्णय गर्न ग्रे रिपोर्टको प्रतीक्षा गर्नेछन् कि छैनन् ? उनीहरूले शुरुमै ‘नाईँ’ भन्ने सम्भावना बढी छ किनभने संसदीय दलमा अहिलेसम्म, जोनसनको कुनै उत्तराधिकारी स्पष्टसँग देखिएका छैनन्। अर्थमन्त्री ऋषि सुनकलाई सबैभन्दा सम्भावित उम्मेदवार मानिन्थ्यो किनभने उहाँको छवि अहिलेसम्म सफा नै छ, तर प्रम जोनसनले उनलाई प्राय: भान्सा पुछ्ने टालो झैं मान्छन्।
ऋषि सुनकलाई पनि भाग्यले साथ दिएको छैन जस्तो छ, ऋषिले संसदको सदस्य बनेको लामो समय पछि अमेरिकाको ग्रीन कार्ड पाएको र लिएको तथ्य फेला परेको छ। यसका साथै ऋषिकी श्रीमती, जो एक अर्बपतिकी छोरी हुन्, विशेष करको विवादमा मुछिएको कुरा भर्खरै खुलासा भएको छ। सुनकपत्नीले इङ्गल्याण्डमा भएको उनको विश्वव्यापी आम्दानीमा कुनै कर नतिरेको कुरा बाहिर आएको छ। भर्खरै करको दर बढाएका सुनकसँग मतदाताहरू रुष्ट छन् र यो विषयले उनलाई नोक्सान पुर्याउने स्पष्ट छ।
विदेश मन्त्री लिज ट्रसलाई अर्को एक सम्भावित दाबेदारका रूपमा हेरिएको छ जो ट्याङ्कमा पोज दिएर मार्गरेट थ्याचरलाई प्रतिबिम्बित गर्ने कोशिश गर्नुहुन्छ, तर जब उहाँको मुख खुल्छ सबै भताभुङ्ग हुन्छ। लिज ट्रसको बेबकुफीका बारेमा फेब्रुअरीको एउटा घटना चर्चामा छ, यसमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले लिजलाई रोस्तोभ र भोरोनेजमाथि रुसी सार्वभौमसत्ता स्वीकार गर्नुहुन्छ कि भनेर प्रश्न गर्नुभएको थियो। लिजले त्यो कुरालाई अस्वीकार गर्नुभयो। जबकी रोस्तोभ र भोरोनेज रूस भित्रै पर्दछन्।
बोरिस जोनसनका यी उत्तराधिकारीको विकल्प फेला परे पनि पार्टीलाई मिलाउन त्यो पर्याप्त नहुन सक्छ। जोनसन चुनौतीको डरले खासै काम नलाग्ने र अवसरवादीहरूलाई बढावा दिनुहुन्छ । उहाँ गम्भीर विषयहरूमा छलफल गर्नै चाहनुहुन्न। हरेक गम्भीर मामिलालाई उडाउने प्रवृत्ति र व्यक्तिगत खराब आचरणले जोनसनको छुट्टै छाप बनाएको छ।
यसै वर्ष कन्जरभेटिभ पार्टीका एक सांसदमाथि एउटी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तिनले राजीनामा दिएका थिए । त्यस्तै अर्का एक सांसद माथि यौन दुर्व्यवहार र लागूऔषध सेवन गरेको आरोप लागेपछि पार्टीबाट निलम्बन गरिएको थियो। दुवै दलका ५६ सांसदमध्ये तीन जना क्याबिनेट मन्त्री यस्ता छन् जसका विरुद्ध यौन दुर्व्यवहारको मामिलामा अनुसन्धान भइरहेको छ।
अहिले चलेका थुप्रै स्क्यान्डलहरू मध्ये एक, कञ्जरभेटिभ पार्टीका सांसद नील पेरिसले पनि हाउस अफ कमन्समा दुई पटक आफ्नो मोबाइलमा पोर्नोग्राफी हेरेको स्वीकार गरेपछि राजीनामा दिनुभएको छ। पहिलो पटक पोर्न साइट हेरेको सार्वजनिक भएपछि नील पेरिसले आफूले डोमिनेटर भनिने कृषिसम्बन्धी उपकरण खोजिरहेको बताउनु भएको थियो तर उहाँसँग पहिले नै डोमिनेटर छ र उहाँको निर्वाचन क्षेत्र पनि ग्रामीण इलाकामै पर्छ। यससम्बन्धी कानून बनाउने सिलसिलामा उहाँले यसलाई इन्टरनेटमा खोज्दै गर्दा अचानक पोर्न साइट खुलेको र एक साधारण मानिस भएका कारण आफूले त्यो हेरेको बयान दिनुभयो। नील पेरिसको सबैभन्दा ठूलो अपराध यो थियो कि उहाँले अर्को पटक समेत यही गल्ती दोहार्याउनु भयो। अनि बीबीसीलाई भन्नुभयो, ‘मैले भयानक गल्ती गरेँ, र यो कुरा संसारलाई बताउन म यहाँ छु।’
सांसद पेरिसले डोमिनेटर खोज्ने प्रयास गरिरहेको बेला, एक ब्रिटिश ट्याब्लोइडले एउटा लेख प्रकाशित गर्यो। जसले उहाँकै पार्टीको अज्ञात स्रोतलाई उद्धृत गर्दै– लेबर पार्टीका उपनेता एन्जेला रेनरले रणनीतिक विरोध स्वरूप हाउस अफ कमन्सभित्रै प्रधानमन्त्री जोनसनलाई इंगित गर्दै आफ्नो भित्री वस्त्र देखाएको दाबी गर्यो। रेनरले भने एक टिभी अन्तर्वार्तामा सो दाबी असत्य भएको बताउनु भएको छ।
यो सरकार कुनै पनि हालतमा आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा नभएका कारण संसद्का मदिरालयमा पाइने सहुलियतको रक्सीलाई दोष दिइन्छ। ‘तपाईं पुरुषत्वको बारेमा केही गर्न सक्नुहुन्न’, संसद्मा धेरै महिलाहरूको लागि अभियान गर्ने हाउस अफ लर्ड्सका कञ्जरभेटिभ सदस्य ब्यारोनेस जेनकिनले भन्नुभयो।
जोनसनको उत्तराधिकारीका अर्का एक दाबेदार रक्षा मन्त्री बेन वालेसले भन्नुभयो- ‘तपाईँले रक्सीको विषयमा केही गर्नुपर्ने हुन्छ।’ उनीहरू रक्सी र बारका बारेमा कुरा गर्छन् मानौं उनीहरूमा चेतना र द्वेष दुबै छ। ‘सांसदहरू बारहरूबाट जोगिउन भन्ने मेरो सल्लाह छ, उहाँले टाइम्स रेडियोलाई भन्नुभयो ‘आफ्नो काम समाप्त गर्नुहोस् र समयमै घर जानुहोस्।’
जोनसन, सायद अन्त्यको पर्खाइमा हुनुहुन्छ, नीतिका कुरा गरिरहनु भएको छ। मानौँ, यो जलिरहेको विधायिकाको सैलुन बारमा उहाँको अन्तिम लडाइँ हो- सामाजिक आवास बेचौ र शरणार्थीहरूलाई रुवान्डा पठाऔ।
जोनसन र हाम्रा अन्य प्रतिनिधिहरू केक, अश्लीलता र रक्सीको पासोमा नराम्ररी फसिसकेका छन्। ती सबै कुराहरूभन्दा पनि माथि यहाँ न नेतृत्व छ, न त निर्देशन ।न यहाँ योजना नै छ।
जोनसन पदबाट बाहिरिएनन् भने, हामीले यो निष्कर्षमा पुगे हुन्छ कि हामी यति धेरै अगाडि बढिसक्यौँ जहाँबाट फर्कन धेरै गाह्रो हुनेछ।
न्युयोर्क टाइम्समा प्रकाशित बेलायती विश्लेषक तानिया गोल्डको आलेखको भावानुवाद।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
- पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
- दमननाथ ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- जापानको आर्थिक वृद्धिदर सुस्त
- हिउँद नलाग्दै सुक्न थाले खोला
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित