मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ। मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट सुरु गरिएको हो।
बर्खायामलाई बिदाइ र हिउँदयामको मौसमलाई स्वागत गर्दै मुक्तिनाथ क्षेत्रका स्थानीयले बर्सेनि यार्तुङ पर्व मनाउने प्रचलन रहेको छ। शनिबार मुस्ताङको खिङ्गा गाउँबाट सुरु भएको यार्तुङ जनपूर्णिमाको दिनमा मुस्ताङको पुराङ रानीपौवा र झारकोट गाउँका स्थानीयले संयुक्त रुपमा यार्तुङ मनाउने गरिएको छ।
यारको अर्थ बर्खा र तुङको अर्थ समाप्ति भन्ने बुझिन्छ। स्थानीय भाषामा यार्तुङको शाब्दिक अर्थ बर्खायाम सकिएको र हिउँदयाम सुरु भएको जनाउँछ। खिङ्गा गाउँका स्थानीय छिचु गुरुङले यार्तुङ पर्वमा गाउँका पुरुष र महिला मिलेर संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी यार्तुङ पर्व मनाउने गरिएको बताए। स्थानीय गुरुङका अनुसार शनिबार भएको मुक्तिनाथ क्षेत्रको पहिलो यार्तुङमा खिङ्गा गाउँवासीले मुक्तिनाथ मन्दिरको दर्शन गरी यार्तुङ पर्व मनाएको जानकारी दिए।
खिङ्गा गाउँबाट सुरु भएको मुक्तिनाथ क्षेत्रको यार्तुङ पर्वमा खिङ्गा गाउँका पुरुष र महिला टोलीहरु मौलिक वेषभूषामा चिटिक्क सजिएर गाउँको समाजघरमा जम्मा हुन्छन्। त्यसअघि गाउँका स्थानीय पुरुषहरुले घोडाचढीको तयारी र व्यवस्थापन गर्छन्। महिलाले मीठामीठा खानेकुराका परिकार बनाएर राख्छन्। बिहानको खाना संयुक्त रुपमा गाउँको समाजघरमै खानपान गरी पुरुष मौलिक पहिरनमा सजिएर घोडामा सवार हुन्छन्। घोडामा सवार पुरुषको अघिअघि महिलाले यार्तुङ पर्वसम्बन्धी स्थानीय भाषामा गीत गाउँदै मुक्तिनाथतर्फ उकालो उक्लिन्छन्।
खिङ्गा गाउँबाट घोडामा सवार गरेका पुरुषको अघिअघि हुँदै महिला स्थानीय गीत गाउँदै झारकोट र पुराङ रानीपौवा हुँदै मुक्तिनाथ दर्शन गर्न पुग्छन्। मुक्तिनाथ मन्दिरमा दर्शन गरी खिङ्गा गाउँको यार्तुङ टोली मन्दिर नजिकै रहेको गुम्बामा पुगेर दर्शन गरी जलपान गर्छन। त्यहाँ स्थानीय गीत गाउँदै स्याब्रो नाच नाच्छन्।
खिङ्गाबाट मुक्तिनाथ दर्शन गर्न पुगेको खिङ्गा गाउँको यार्तुङ टोली दिउँसो चार बजेपछि मात्रै पुन यार्तुङ पर्वसम्बन्धी गीत गाउँदै फेरि रानीपौवा बजारमा झर्छन्। मुक्तिनाथ रानीपौवामा खिङ्गा गाउँको यार्तुङ पर्व मनाउने आफ्नै भूमि रहेको छ। मुक्तिनाथ मन्दिरबाट फर्किएरपछि खिङ्गा गाउँका पुरुषहरुले रानीपौवा बजार क्षेत्रमा घोडा कुदाउँछन्। घोडाचढी कला प्रदर्शन गरेपछि साँझपख स्थानीय पुरुष र महिलाले संयुक्त रुपमा स्थानीय गीत गाउँदै स्याब्रो नाच देखाउँछन्।
खिङ्गाबाट मुक्तिनाथ हुँदै रानीपौवा झरेर यार्तुङ पर्व मनाएका स्थानीय पुनः बेलुकापख पुरुष घोडामा सवार हुने र त्यसको अघिअघि महिलाले स्थानीय भाषाको गीत गाउँदै गाउँ फर्किन्छन् र खिङ्गा गाउँको यार्तुङ सकिन्छ। बारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष एवं खिङ्गा गाउँका स्थानीय प्रमेश गुरुङले यार्तुङ पर्व हिमाली संस्कृति र सभ्यता भएको बताए। यार्तुङ पर्वले सदियाैँ वर्षदेखि चल्दै आइरहेको घोडाचढी संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्दै गाउँवासीमा एकता र आपसी भाइचारा अभिवृद्धि गर्ने सन्देश प्रवाह हुने गुरुङले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै
- ला लिगा: फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने