तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन्।
धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँमा मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका करिब दुई सय जना यस पेसामा आबद्ध छन्। गाउँका डेढ सय घरपरिवारमध्ये अधिकांशले बाँसबाट ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्री उत्पादन गर्दै आएका छन्।
स्थानीय निर्धन मुखियाका अनुसार विभिन्न समुदायका मानिसले एकअर्काबाट सीप सिकेर यो पेसा अपनाएका हुन्। ठूलो लगानीबिना घरमै बसेर आम्दानी गर्न सकिने भएकाले यसको आकर्षण बढेको उनले बताए।
स्थानीय अरबिन्दकुमार साहका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। जातीय पहिचानभन्दा सीप र मेहनतलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
छठपर्व नजिकिएसँगै बाँसका सामग्रीको माग बढेको छ। ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्री खरिद गर्न व्यापारी गाउँमै पुग्ने गरेका छन्। पर्वका बेला बिक्री बढे पनि वर्षभरि घरायसी प्रयोजनका सामग्रीको माग रहने स्थानीय बताउँछन्।
धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले कटैयागाउँको अभ्यासले कुनै पनि पेसा जातीय घेरामा सीमित नरहेको सन्देश दिएको बताए। परम्परागत सीपको विस्तारले स्वरोजगारसँगै श्रमप्रतिको सम्मान र सामाजिक सद्भाव बढाउन सहयोग पुगेको उनको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- म्याग्दीको बेनी–दरवाङ सडक मर्मत सुरु
- आज भाइटिका पर्व मनाइँदै: दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै दाजुभाइ
- दिदीबहिनी र दाजुभाइ नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्दै
- एनपीएल २०२६: सुदूरपश्चिम रोयल्सको शानदार जित, जनकपुर बोल्ट्स २७ रनले पराजित
- काँकडभिट्टा नाका: गत वर्षको तुलनामा यस असोजमा चिया निर्यात दोब्बर
- आज नेपाल संवत् ११४७ को नयाँ वर्ष र म्ह: पूजा आराधना
- आज ११२औँ गणेशमान जयन्ती: लोकतन्त्रका ‘सर्वोच्च कमाण्डर’लाई सम्झिँदै
- देखासिकी र पश्चिमा संस्कृतिले देउसीभैलोको सांस्कृतिक पहिचान कमजोर बन्दै
- एनपीएल: आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
- आज गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना