एनपीएल २०२६: लुम्बिनी प्लेअफमा प्रवेश गर्दै शीर्षस्थानमा, विराटनगरको आशा जीवितै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दुई रोमाञ्चक खेलमा लुम्बिनी लायन्स र विराटनगर किङ्सले आ–आफ्नो खेलमा ४ विकेटको सानदार जित हात पारेका छन्। यस नतिजासँगै लुम्बिनी लायन्स लिगको शीर्षस्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएको छ भने विराटनगर किङ्सले शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावनालाई जीवितै राखेको छ।

सन्दीपको कीर्तिमानी ६ विकेटसँगै विराटनगरको जित

बिहीबारको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्समाथि ४ विकेटको रोमाञ्चक जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले युवराज सिंह सामराको आक्रामक ब्याटिङ (४७ बलमा ८४ रन) का बाबजुद १७.५ ओभरमा अलआउट हुँदै १३२ रन मात्र बनाउन सक्यो।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै एनपीएल इतिहासकै उत्कृष्ट प्रदर्शन गरे। उनले २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिए, जुन जारी सिजनको पहिलो ह्याट्रिक तथा एनपीएल इतिहासकै सर्वाधिक विकेटको कीर्तिमान हो।

जवाफमा १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै १३६ रन बनाएर लक्ष्य पूरा गर्‍यो। यस जितसँगै ६ खेलबाट ६ अङ्क जोडेको विराटनगर अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। उता, लगातारको हारसँगै ६ खेलमा २ अङ्क मात्र जोडेको पोखरा एभेन्जर्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ।

कप्तान फेर्दा पनि सुध्रिएन कर्णाली, लुम्बिनी शीर्षस्थानमा

दोस्रो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लिग चरणको एक खेल बाँकी छँदै प्लेअफ यात्रा तय गरेको छ। खराब लयबाट गुज्रिरहेको कर्णालीले यस खेलमा सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी स्टार डेविड मिलरलाई कप्तानीको जिम्मेवारी सुम्पिएको थियो, तर नतिजामा भने सुधार आउन सकेन।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स लुम्बिनीको कसिलो बलिङसामु निरीह बन्दै १९.२ ओभरमा मात्र १०५ रनमा समेटियो। कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ र हुसेन तलातले २४ रन जोडे। बलिङतर्फ लुम्बिनीका डी’आर्सी सर्ट, रोहित पौडेल, अभिषेक गौतम र किशोर महतोले समान २–२ विकेट लिए।

१०६ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउँदै १०७ रन बनाएर २० बल बाँकी छँदै जित पक्का गर्‍यो। ब्याटिङमा समेत चम्किएका अलराउन्डर डी’आर्सी सर्टले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान दिँदै ‘प्लेयर अफ द म्याच’ घोषित भए। कर्णालीका मार्क वाटले १२ रन खर्चेर ४ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

यस जितपछि लुम्बिनी ६ खेलबाट ९ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा पुगेको छ। लगातार चौथो हार व्यहोरेको कर्णाली याक्स भने ६ खेलमा ४ अङ्कका साथ सातौँ स्थानमा सीमित हुँदै प्लेअफ समीकरणबाट लगभग बाहिरिने अवस्थामा पुगेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link