प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आज (आइतबार) भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुक तथा द्विपक्षीय विदेश भ्रमण हो।
प्रधानमन्त्री शाह आज दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाह अपराह्न ३:४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तय भएको छ।
भ्रमणलाई लक्षित गर्दै नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ भने मुख्य स्थानहरूमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन्। विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटेल ताज मानसिंह (ताज महल) जानेछन्। आजै साँझ ६ बजे सोही होटेलमा भारतीय विदेश मन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
आइतबार साँझ नै ‘नेपाल–भारत बिजनेस फोरम’ अन्तर्गत दुवै देशका उद्योगी तथा व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा लगानीका सम्भावना र सरकारले अवलम्बन गरेको लगानीमैत्री नीतिका बारेमा भारतीय व्यावसायिक समुदायलाई जानकारी गराउनेछन्। सो अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित दुवै देशका व्यवसायीबिच व्यावसायिक सहकार्य विस्तारबारे छलफल हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धा सुमन अर्पण गर्नेछन्। सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
मुख्य एजेन्डा र परियोजनाहरू
परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमणमा दुई देशबिचको आर्थिक सहकार्य, व्यापार, पारवहन, लगानी, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको छ। यस पटक नेपालले अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग (एयर रुट) उपलब्ध गराउने विषयलाई सर्वाधिक महत्त्व दिएको छ। भारत महेन्द्रनगरबाट उच्च उचाइको हवाई मार्ग दिन सकारात्मक देखिए पनि नेपालले सामान्य उडान तथा अवतरणका लागि बढी उपयुक्त हुने भएकाले कम उचाइबाट प्रवेश गर्न मिल्ने भैरहवा मार्गमै सहमतिका लागि जोड दिइरहेको छ। पश्चिम बङ्गालको बागडोगरा उडानका लागि भारतले नेपाली आकाश प्रयोग गर्ने विषयमा समेत लचकता देखिएकाले यस पटक कम्तीमा एउटा थप हवाई मार्गमा सहमति जुट्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा एक दर्जनभन्दा बढी विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने तयारी छ। परराष्ट्र स्रोतका अनुसार अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्मित नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलास्थित पुल र भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) को उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। त्यस्तै, अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्ने तय भएको छ।
यसै गरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, सूचना प्रविधि, बन्दरगाह तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, उद्योगी–व्यवसायी र पत्रकारहरू सहभागी छन्। उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमकै नियमित उडानमार्फत स्वदेश फर्कने कार्यतालिका छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन–३ को च्याम्पियन: लुम्बिनी १० विकेटले पराजित
- मङ्सिर १६ देखि सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको तोकियो खेलस्थल
- देशभर अधिकांश भूभागमा मौसम सफा, केही ठाउँमा वर्षा र हिमपात हुन सक्ने
- आइतबारका लागि डलर, युरो, पाउन्ड र कुवेती दिनारको विनिमयदर सार्वजनिक
- उत्पादन बढे पनि घट्यो चिराइतोको भाउ, किसान निराश
- फिफा अध्यक्षको निर्वाचन २०२७ : इन्फान्टिनोलाई फ्रान्सका डियालो र जापानका ताशिमाको चुनौती
- यूएनएफपीए प्रतिवेदन: युवालाई आत्मनिर्भर बन्न र परिवार बसाउन बढ्दो चुनौती
- एनपीएल २०२६ : फाइनलमा आज कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै
- कन्याममा सुरु हुँदै प्रथम सूर्योदय चिया महोत्सव
- आजको लागि विदेशी मुद्राको विनिमय दर