जस्ताले बारेको टहरोमा स–साना कोठा । एउटै कोठामा ६ देखि ८ जनाको परिवार । चार रोपनी भिरालो जमिन भाडा लिएर बनाइएको जस्ताको टहरोमा बालबालिका, वृद्धवृद्धा, वयस्क गरी ४०० सदस्य अटाएका छन् । बर्खाको समयमा आएको पानीले टहराभित्र बाढी पसेर उठिबास लाउँछ तर यो टहराबाट बाहिर चिहाउन पनि डराउनुपर्ने अवस्था छ । किनकी उनीहरू देश गुमाएका शरणार्थी हुन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपनमा बसोबास गर्दै आएका अल्पसंख्यक रोहिंग्या शरणार्थी यो शिविरमा बस्न थालेको झण्डै एक दशक भएको छ । सन् २०१३ मा म्यान्मारबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउन भागेर भारतको भूमि हुँदै नेपाल पसेका उनीहरू अहिले काठमाडौंको कपनमा रैथाने जस्तै बनिसकेका छन् । नेपाल आइपुगेका ती रोहिंग्याको न कुनै देशको नागरिक हुनुको पहिचान छ न शरणार्थीको परिचय पाएका छन् । नेपालले अहिलेसम्म औपचारिक रूपमा भुटान र तिब्बती शरणार्थीलाई मात्र मान्यता दिएको छ । सरकारी तथ्यांकले भने अहिले नेपालमा १० देशका २० हजार भन्दा बढी शरणार्थी रहेको देखाउँछ । त्यसमध्ये म्यान्मारका रोहिंग्यासहित आठ देशका शरणार्थी अवैध हुन् । म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका मात्र हैन नेपालमा सोमालियाका हरेक वर्ष द्वन्द्वग्रस्त देशका शरणार्थी थुप्रिरहेका छन् । अधिकांश शरणार्थी भारत हुँदै सडकमार्गबाट नेपाल पसेका हुन् । त्यसैको एउटा हिस्सा हुन्, रोहिंग्या ।
म्यान्मारमा राजनीतिक तथा साम्प्रदायिक हिंसा भड्किएपछि एकसरो लुगाको भरमा देश छाडेर भागेका धेरै रोहिग्यासँग मेरो देश म्यान्मार हो भन्ने प्रमाणसम्म छैन । लामो समय नेपालमा शरणार्थीको जीवन बिताइरहेका जाफर आलम नेपाली भाषामा पोख्त छन् । प्रहरीले दुई दिनभित्र ठाउँ छोडेर नगए आतंकवाद सम्बन्धी मुद्दा लगाउने चेतावनी दिएपछि आलमले आफू र आफ्नो परिवारका केही सदस्यको ज्यान जोगाउन थातथलो छाडेका थिए । भारत हुँदै सजिलै नेपाल पसेका आलम सहितको ११ जनाको समूह धार्मिक हिसाबले मुस्लिम भएकै आधारमा काठमाडांै आएपछि घण्टाघरस्थित जामे मस्जिदको सम्पर्कमा पुग्यो । सुरुमा जामे मस्जिदले नि:शुल्क भोजन र संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले परिचयपत्र सँगै प्रतिपरिवार मासिक चार हजार रूपैयाँ दिने गरेको थियो । नेपालको बसाइ सुरक्षित् देखिएपछि आलमले देश छाडेर बंगलादेश पसेका परिवारका सदस्य र आफन्तलाई पनि नेपाल नै बोलाए । एक कान दुई कान मैदान भनेजस्तै सुरुमा ११ जना आएर आश्रय लिएको कपनमा अहिले सयौं रोहिंग्या छन् । कपनको राम मन्दिर नजिकै जग्गा भाडामा लिएर टहरो बनाएका छन् । यहाँ अहिले चार सय भन्दा बढी शरणार्थी बस्छन्, मोहमद सलिमले बताए । अहिले मुस्लिम शरणार्थीको संख्या ह्वात्तै बढेपछि युएनएचसीआरले सुविधा कटौती गरेको छ । नेपाल सरकारले शरणार्थीको मान्यता दिएको छैन । जग्गा भाडामा दिने व्यक्तिले पनि जमिनको भाडा बढाएर ठाउँ खाली गर्न खोजिरहेका छन् ।
रोहिंग्याहरूको नेपाल सम्बन्ध
नेपालीमा एउटा भनाइ नै छ बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै । यसले बर्मा र नेपालका बीचमा परापूर्वकालदेखि नै नागरिकस्तरको सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ । त्यही बर्मा अर्थात् हालको म्यान्मार । झण्डै डेढ सय वर्षअघि राणाहरूको थिचोमिचो, त्यसपछिको विश्वयुद्ध अनि व्यापार र तीर्थयात्राका क्रममा धेरै नेपाली बर्मा पुगेका थिए । नेपाल भित्रको दु:खले बर्मा भासिएका तिनै नेपालीको एउटा लहरो अहिलेको शरणार्थी समस्यासँग जोडिएको छ । दोस्रो विश्वयुद्धमा भारतीय सेना हुँदै बेलायती सेना भएर पछि बर्मा पुगेका थुप्रै नेपाली भाषीको संगतबाट जाफर आलम र मोहम्मद सलिमले बर्मा मै रहँदा नेपाली भाषा सिकेका रहेछन् । उनीहरूको दाबी अनुसार बर्मा अर्थात् म्यान्मारमा डेढदेखि २ लाख नेपाली भाषी नागरिक छन् । बर्मामा नेपाली भाषा र संस्कृति प्रवद्र्धनमा अखिल म्यान्मा हिन्दू संघले सन् १९८२ देखि नै काम गरिरहेको उनी बताउँछन् । हिन्दू धर्मावलम्बीसँगै हुर्किएकाले पनि उनीहरूलाई कपनको यो शिविरमा बस्न समस्या परेको छैन । म्यान्मारबाट भारत पसेपछि भारतीयहरूले नेपालको मेचिनगरमा बर्माबाट आएका हजारौं बर्मेलीको बस्ति छ भन्दै नेपाल पठाएका रहेछन् तर जाफर आलम र मोहम्मद सलिमले नेतृत्व गरेको रोहिंग्या शरणार्थीको टोली मेचीनगर नगरपालिका १० स्थित बर्मेली टोल नभई काठमाडांै आइपुग्यो । तत्कालीन राजा महेन्द्रले मेचीनगरमा बर्मेली टोल बनाएर देश फर्किन आह्वान गरेपछि आफ्नो पुर्खा बसेको ठाउँ हेर्न फर्किएका धेरै बर्मेली मेचीनगर मै बसेका थिए तर बर्मेली टोलमा हैन रोहिंग्या शरणार्थीको लस्कर सोझै काठमाडौं आयो । बर्मेली नेपालीबीच नङ र मासुजस्तै सम्बन्ध छ, त्यसैले हामी नेपाल आएका हौं, आलम भन्छन्– पितृभूमि नेपाल भए पनि मातृभूमि म्यान्मार नै हो ।
नेपालले अहिलेसम्म औपचारिक रूपमा भुटान र तिब्बती शरणार्थीलाई मात्र मान्यता दिएको छ । सरकारी तथ्यांकले भने अहिले नेपालमा १० देशका २० हजार भन्दा बढी शरणार्थी रहेको देखाउँछ । त्यसमध्ये म्यान्मारका रोहिंग्यासहित आठ देशका शरणार्थी अवैध हुन् । म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका मात्र हैन नेपालमा सोमालियाका हरेक वर्ष द्वन्द्वग्रस्त देशका शरणार्थी थुप्रिरहेका छन् ।
सन् २००७ मा म्यान्मारमा साम्प्रदायिक हिंसा भड्कियो । बलत्कारको घटनालाई जातीय रङ दिएर अल्पसङ्ख्यक रोहिंग्या मुसलमान समुदायलाई तारो बनाउन थालेपछि अल्पसंख्यक मुस्लिम समुदायका जाफर आलमहरूले देश छाडेका हुन् । सन् २०१२ मा म्यानमारमा रोहिंग्या संकट उत्कर्षमा पुग्न थालेपछि आबु ताकर, जाफर आलम र मोहम्मद सलिम पहिलोपटक नेपाल आएका थिए । यस बीचमा उनीहरूकै पदचाप पछ्याउँदै सयौं रोहिंग्या सुरक्षा खोज्दै नेपाल पसे । राज्य पक्षबाट भएको दमन सहन नसकेर नेपाल आइपुगेका अधिकांश रोहिंग्याको कथा दर्दानक छ । म्यान्मारमा अल्पसंख्यक मुसलमानहरूको बस्ति जलाएर सेनाले डोजर चलाइसकेको छ । न अहिले यी शरणार्थी थाकथलो फर्किन सक्ने अवस्थामा छन् न नेपाल बसाइ नै सुखद बन्दै छ ।
आबु ताकर भन्छन्– रोहिंग्या बस्तिहरू जलाइएको छ । हजारौंलाई सेनाले हाम्रै अगाडि मारेको छ । बलत्कारको घटना सम्झिनै सकिन्न । हजारौंं परिवार छिन्नभिन्न भएको छ । कति बेपत्ता छन्, हिसाब नै छैन । त्यही हिंसा र ज्यादती झलझल्ती सम्झिएर हामी यहाँ भोकभोकै बाँचिरहेका छौं । सन् २०१२ मा म्यानमारबाट बगंलादेश, भारत हुँदै काठमाडौं आइपुग्दा आबु ताकर र जाफरसहित ३ परिवारका जम्मा ११ जना सदस्य थिए । नेपाल–भारत सीमा बन्द भएकै बेला म्यानमारबाट १४ जना रोहिंग्या शरणार्थी काठमाडौं आइपुगेको घटना सार्वजनीक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मानव बेचबिखनमा संलग्न रहेको भन्दै म्यानमारका नूर अमिन र सोफिक आलम तथा बंगलादेशी नागरिक आजमत अलीलाई पक्रेको थियो । उनीहरू अहिले पनि नेपालको जेल मै छन् तर त्यही गिरोहको सहारामा नेपाल आइपुगेका आलमहरूको शिविरमा अहिले रोहिंग्याको सङ्ख्या बढेर ४ सय पुगेको छ ।
आबु ताकर भन्छन्– सबैभन्दा पहिले ज्यान जोगाउन भन्दै देश छाडेर हिड्यौं । अहिले पुन: म्यान्मार फर्किए सेनाले आतंकवाद सम्बन्धी मुद्दा लगाउने धम्की दिएको छ । यूएनएचसीआरले सहयोग गर्न छाडेपछि उनीहरू शहरी शरणार्थीको मान्यता दिनुपर्ने भन्दै केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । जबकी राष्ट्र संघीय शरणार्थी सम्बन्धी महासन्धिमा हस्ताक्षर नगरेको मुलुक नेपालमा अहिले तिब्बती, भुटानी, म्यानमार, पाकिस्तान, अफगानिस्तान, इरान, श्रीलंका, बगलादेश, इराक, यमन तथा सोमालियासम्मका सहरी शरणार्थी भेटिएका छन् । नेपालमा शरणार्थी सम्बन्धी कानुन नै नबनेको अवस्थामा तिबत्ती र भुटानी बाहेकका शरणर्थीलाई नेपालले कुनै हैसियत नदिएको हो तर यूएनएच्सिआरले शरणार्थीको मान्यता दिएर सुरुमा रोहिंग्यासहित १० वटै मुलुकका शहरी शरणार्थीलाई भत्ता अथवा परिचय पत्र दिएर तेस्रो मुलुक लैजानेसम्मको भूमिका खेलिरहेको छ ।
मानव तस्करको जालोमा परेर नेपाल आइपुगेका रोहिंग्याहरू सुरुमा कपनमा २ आना जग्गा भाडामा लिएर बसेका थिए । सन् २०१६ मा म्यान्मारमा पुन: जातीय हिंसा भड्किएपछि शरणार्थीको संख्या बढ्यो । उनीहरूले आपसमा मिलेर थप जमिन भाडामा लिएर अस्थायी शिविर बनाए तर पाँच वर्षका लागि भाडामा लिएको जग्गाको सम्झौता एक महिनापछि सकिदै छ । उनीहरू लुकी लुकी सस्तो ज्यालामा श्रम गर्दै गुजारा चलाइरहेका छन् । किनकी, अवैध रूपमा बसोबास गर्दै आएका रोहिंग्याहरूलाई नेपाल सरकारले काम गर्ने अनुमति दिएको छैन । पेट र परिवार पाल्नै पर्छ, जमिनको भाडा तिर्नै पर्छ, हामी लुकीछिपी ज्याला मजदुरी गरेर बाँचेका छौं– शरणार्थी मोहमद सलिम बताउँछन् ।
रोहिंग्याको माग
काठमाडौंमा रहेका रोहिंग्या शरणार्थीहरू अहिले ११ बुँदे मागसहित आन्दोलनमा छन् । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोग (युएनएचसीआर) को नेपाल कार्यालयबाहिर पहिलो पटक असार १३ गते उनीहरूले प्रहरीको अवरोध चिर्दै सामूहिक प्रदर्शन गरे । संयुक्त राष्ट्रसंघको सन् १९४८ को मानव अधिकार सम्बन्धी घोषणाले प्रत्याभूत गरेको मौलिक अधिकार सुनिश्चित हुनुपर्ने उनीहरूको मुख्य माग छ । शरणार्थी बालबालिकालाई निजी विद्यालयमा पढ्ने व्यवस्था मिलाई दिन र शरणार्थीलाई काम गर्न पाउने कागजपत्र दिन उनीहरूले माग गरिरहेका छन्। शरणार्थी मोहमद सलिम भन्छन्– ‘नेपाल सरकारले हामीलाई शरणार्थीका रूपमा स्वीकार गरोस् । आधारभूत आवश्यकता व्यवस्थापन गर्न नसके नेपालले भुटानी शरणार्थीलाई जस्तै तेस्रो देशमा पुन:स्थापना हुने वातावरण मिलाई दिन माग गरेका छौं’, अर्का शरणार्थी माहेमद अमिन भन्छन्– तर प्रहरीले हामीलाई धरपकड मात्रै गरिरहेको छ ।
बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मार सरकारले पुस्तौंपुस्ता म्यान्मारमै बसेका अल्पसंख्यक रोहिंग्या मुसलमानलाई निशाना बनाएर बंगलादेशबाट आएको ‘बंगाली’ भन्दै अमानवीय व्यवहार गरेर लखेटेको शरणार्थीहरू दाबी गर्छन् । रोहिंग्या समुदायका धेरै सदस्यले म्यान्मारमा सन् १९८२ देखि नागरिकता समेत पाएका छैनन् ।
शहरी शरणार्थीको हब बन्दै नेपाल
नेपालको अध्यागमन कानुनअनुसार अवैध रूपमा नेपाल आएका विदेशी नागरिकलाई जुन देशको हो त्यही देशमा निष्कासन गर्नुपर्छ । यस बाहेक अर्को कानुन् नेपालमा छैन । तिब्बती शरणार्थीलाई भने नेपाल, भारत र चीनबीचको ‘भद्र सहमति’ अनुसार भारत निष्कासन गरिन्छ । नेपालमा खुला सिमाना दुरूपयोग गर्दै भारत हुँदै विभिन्न ११ देशका शरणार्थी आइसकेका छन् । यसरी अवैध शरणार्थीको संख्या बढ्दा सुरक्षा चुनौती समेत थपिइरहेको नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्तमल्ल ठकुरी बताउनुहुन्छ । शरणार्थीहरू सानो लोभमा पनि प्रयोग हुनसक्ने र कुनै आतंकवादी समूहले आपराधिक गतिविधिमा उनीहरूलाई दुरूपयोग गर्न सक्ने मल्लको आशंका छन् । उहाँले गएको वर्ष भारतले ७५ औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाउँदा रोहिंग्या शरणार्थीलाई प्रयोग गरेर दिल्लीमा हमला गर्न लागिएको भन्दै विशेष सुरक्षा सतर्कता अपनाएको प्रसङ्ग जोड्नुभयो । उनीहरूको आर्थिक अवस्था कमजोर हुन्छ, मान्यता नपाएका शरणार्थीको कुनै परिचय पनि हुँदैन त्यसैले उनीहरू दुरूपयोग हुन सक्छन् । मल्लका अनुसार नेपालमा अहिले तिव्वती र भुटानीबाहेक अधिकांश मुस्लिम समुदायका शहरी शरणार्थी छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेर हिँडेका धेरै शरणार्थी भारत हुँदै नेपाल पस्न सक्ने उच्च जोखिम यथावत छ, मल्लले भन्नुभयो– सीमामा सँधै कडाइ गर्नुपर्छ । युएनएचसिआरले तयार पारेको विवरण अनुसार नेपालमा अहिले तीन सय ८७ जना मात्रै रोहिंग्या शरणार्थी छन् । अफ्गानी र द्वन्द्वग्रस्त मुलुकबाट आएर नेपालमा लुकेर बस्नेको संख्या पनि बढ्दो छ । काठमाडौं तेस्रो मुलुक भाग्न खोज्ने शहरी शरणार्थीको ट्रान्जिट हब बन्दैछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार