सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका गीता राय क्षेत्री (श्रेष्ठ) अहिले काठमाडौको गौशालामा बस्नुहुन्छ। २०५० सालमा जन्मिनुभएकी क्षेत्रीले २०६८ साल मै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता लिएको भए पनि अहिलसम्म भोट हाल्नुभएको छैन । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको चर्चा चलिरहेको बेलामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा घण्टौं लाईन बसेर क्षेत्रीले बसाइँ सराइको प्रमाण पत्र समेत पेश गरेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभयो । अहिलेसम्म मताधिकार प्रयोग नगर्नुभएकी गीता आगामी निर्वाचनमा भने परिवर्तनको पक्षमा युवालाई भोट हाल्ने बताउनुहुन्छ । परिवर्तन सुरु भएको छ । काठमाडौंमा स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वार बालेन साहको पक्षमा खुलेर लाग्नुभएकी क्षेत्री स्थानीय तहको चुनावको नतिजा पछि नै आफ्नो मताधिकारप्रति सचेत हुनुभएको हो । आफ्नै गाउँमा गएर मतदान गर्ने हुटहुटी नभएको हैन, तर गाउँमा पुराना दलका पुरानै नेताले चुनाव जित्छन्, त्यसैले हामीहरू काठमाडौ मै मतदान गर्छौं र परिवर्तनको सन्देश दिनेछौं, क्षेत्रीसँगै लाइनमा भेटिनुभएका जनकपुर उपमहानगरपालिका धनुषाका २२ वर्षीय निरजकुमार ठाकुरले थप्नुभयो।
निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलन गर्न थालेपछि यसपटक जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा दैनीक ५ हजार भन्दा बढीले नाम दर्ता गरिरहेका छन्।
नाम मात्रैको अनलाइन प्रणाली
फोटोसहतिको मतदाता नामावली संकलन कार्यप्रति नयाँ मतदाताको चरम गुनासो आउन थालेपछि, निर्वाचन कार्यालयले आंशिक रूपमा यसलाई सरलीकरण गरेको छ । अनलाइनबाट नै फारम भर्न पाइन्छ तर सोही अनलाइन विवरणका आधारमा मतदाता कार्डका निम्ति फोटो खिच्न र औंठा छापका लागि कार्यालयमा जानुपर्ने हुन्छ । आयोगले असार २९ गतेबाट काठमाडौ उपत्यकाका तीन जिल्लामा अनलाइनबाट मतदाता नामावली संकलन गर्न थालेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट असार २९ गतेदेखि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न थालिएको र यसबाट ७७ वटै जिल्लाका मतदाताले लाभ लिनसक्ने बताउनुभयो । आयोगका अनुसार सबैभन्दा धेरै उपत्यका बाहिरबाट काठमाडौं आइबसेका नागरिकले अनलाइनबाट फारम भरेका छन् । www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा) अनलाइनबाटै पेस गरेपछि अनलाइन फारममा उल्लिखित संकेत नं. सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने हुन्छ । फोटो खिच्न र औंठा छाप लगायतको प्रक्रिया पूरा गर्न पुन: लाइन बस्नुपर्ने हुन्छ ।
अनलाईन फारम भरे पनि फेरि निर्वाचन कार्यलय धाउनुपर्ने हुँदा नयाँ मतदाताहरू यस व्यवस्थाप्रति त्यति सन्तुष्ट देखिँदैनन् । अनलाईन फारम भरेर पनि फेरि निर्वाचन कार्यलय नै पुग्नुपर्ने भएपछि अनलाइन रजिस्ट्रेशनको के अर्थ? जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा भेटिनुभएका झापाका लगन रसाइलीको प्रश्न छ । त्यस्तै ओखलढुङ्गाका हितबहादुर गुरुङले पनि फोटो खिच्न र औंठा छाप लगाउन समेत घण्टौं पालो कुर्नु परेको भन्दै अनलाइन सुविधाको प्रचारका पछि नलाग्न अनुरोध गर्नुभयो ।
अनलाइनका साथै अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मतदानका लागि उमेर पुगेका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकको फारम बुझ्ने गरेको छ । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर योग्यता पुगेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भए पनि विभिन्न जिल्लाबाट काठमाडौं आइबसेका अस्थायी नागरिकलाई सम्बन्धित जिल्लाको मतदान केन्द्रकै ठेगाना अनुसारको विवरण भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् । बसाइँसराइको प्रमाणपत्र पेश गरेको अवस्थामा काठमाडौ बाहिरबाट आई बसोबास गरेका नागरिकले काठमाडौं मै मतदान गर्ने गरी विवरण भर्न पाउने काठमाडौंका जिल्ला निर्वाचन अधिकृत ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुरु गरेको हो । निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने भएकाले मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले अभियान चलाएको उहाँले बताउनुभयो । आयोगले सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था अनुसार नै जिल्ला निर्वाचन कार्यालय काठमाडौमा सेवाग्राहीको चाप बढी छ ।
अधिकृत भट्टराईले ७७ वटै जिल्लाका नागरिक कार्यालयमा भेला भएकाले अस्वाभाविक भिड देखिए पनि बेलुकीसम्म सबै सेवाग्राहीले विवरण बुझाएर फोटो खिचेर जाने गरेको बताउनुहुन्छ । सेवाग्राही सर्वसाधारणले भने मतदाता नामावली विवरण फारम पाउनै मुस्किल रहेको र एउटा फारम बुझाउन ३ घण्टाभन्दा बढी लाइन लाग्नु परेको गुनासो गर्छन्।
यो अवधिमा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने छ । आयोगले मतदाता परिचयपत्र भएको तर कारणवश मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ । यस्तै, आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको तर पेशा वा व्यवसाय अर्को जिल्लामा गर्दै आइरहेकाहरूले पनि जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जनाएको छ । निर्वाचन अधिकृत भट्टराईले त्यस्तो व्यक्तिको नाम निजको स्थानीय ठेगाना रहने गरी बाहिरी जिल्लामा मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुने र विवरण भिडाएर विवरण मिलाउने बताउनुभयो ।
तर परिवर्तनका लागि म पनि मतदान गर्छु भन्ने अठोट बोकेर जिल्ला निर्वाचन कार्याल पुगेका सर्वसाधारणको गुनासो बेग्लै छ । सरकारी सेवा, छिटो छरितो र व्यवस्थित बनाउने र प्रविधिमैत्री बन्ने घोषणा गरिए पनि जुनसुकै कार्यालयमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता नहटेको सर्लाही लालबन्दीका रवीराज बरालको गुनासो छ । घण्टौं लाइनमा पालो पर्खेर फारम बुझाउनु पथ्र्यो, अहिले फोटो र बायोमेट्रिकका लागि बस्नुपर्छ, मतदाता कार्ड कहिले पाइन्छ, नाम र विवरण गलत आउँछ कि सही भन्ने नै निश्चित छैन– बरालले भन्नुभयो । यस्तो प्रविधिको जमानामा कागजमा हातले विवरण लेखेर क्यामेराको अगाडि सशरीर उभिएर फोटो खिचाएर महिनौंसम्म कार्ड आउला भन्दै कुर्नुपर्छ– सर्लाहीको जनज्वति मावी बस्तिपुरमा मताधिकार प्रयोग गर्ने विवरण बुझाएका बरालका भाइ मुकेश बरालले भन्नुभयो । अध्ययनको सिलसिलामा काठमाडौ मै बस्ने दाजुभाइले नै उमेर पुगेर पनि आजसम्म भोट हाल्नुभएको छैन । उहाँहरूमा पनि अबको भोट परिवर्तनको पक्षमा भन्ने भावना देखिन्छ । जिल्ला निर्वाचन कार्यालयको भिडमा भेटिनु भएकी झापाकी विना मगर अथवा सोलुखुम्बु दुधकुण्डकी आ¨दमु लामा सबै नयाँ मतदाता हुन् । अधिकांशमा अब मैले पनि युवा नेतृत्व चुन्नका लागि भोट हाल्नुपर्छ भन्ने भाव जागेको देखिन्छ ।
निर्णायक नयाँ मतदाता
निर्वाचन आयोगका अनुसार गएको वैशाख २९ गते भएको स्थानीय तह चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए । यसमा धेरै मतदाताको मृत्यु भइसकेको र मतदाताको विवरण समेत नमिलेकाले हजारौंले मतदानका क्रममा झमेला सहनु पर्यो । यही दोहोरिएको विवरण, मृत्यु भइसकेकाको विवरण कटौती, मतदाताको ठेगाना परिवर्तन र थपिएका मतदाताको नाम संकलनका लागि अहिले देशभर यो अभियान चलाइएको हो ।
मतदान केन्द्रमा भएका कर्मचारी, दलका प्रतिनिधि अथवा अधिकृतलाई चित्त बुझेको अवस्थामा नागरिकताको आधारमा मतदान गर्न पाउने पुरानो परम्परा सुधार गर्दै २०५१ सालमा जारी भएको मतदाता नामावली दर्ता ऐन अनुसार अहिले मतदाता नामावलीमा नाम उल्लेख गर्र्न नागरिकता अनिवार्य चाहिन्छ । त्यसैको आधारमा २०७० को निर्वाचनमा फोटोसहितको मतदाता नामावली प्रयोगमा आएको हो । ऐन अनुसार, १८ वर्ष पुगेका नेपाली नागरिकले मताधिकार पाउने र मतदाता नामावलीमा स्वयम् उपस्थित भएर नाम लेखाउनुपर्ने व्यवस्था अनुसार तत्काल अनलाइन अथवा अरु माध्यमबाट नामावली संकलन गर्न नसकिएको निर्वाचन कार्यालयका अधिकृत भट्टराईले बताउनुभयो ।
अहिले जिल्ला निर्वाचन कार्यालय काठमाडौँ परिसरमा भेटिने अधिकांश नयाँ मतदातामा राजनीतिक दलका केही निश्चित नेताले गरिरहेको रजाइँका कारण चरम वितृष्णा गुम्सिएको देखिन्छ । त्यसैले पनि पुराना र परीक्षण भइसकेका नेतालाई म भोट हाल्दिन भन्ने युवाहरू आफ्नो मताधिकार सुनिश्चित गर्न लाइन बसेका छन् । उनीहरूको बुझाइमा मतदाता नामावली संकलनको काम निरन्तर चलिरहनुपर्ने प्रक्रिया हो । आवधिक निर्वाचनको समयमा मात्र हैन १८ वर्ष पुगेका नागरिकले जुनसुकै समयमा पनि आफ्नो नाम दर्ता गर्न पाउनुपर्छ, झापाकी वीना मगरको माग छ ।
कुनै पनि मुलुकमा हुने आवधिक चुनावमा सबैभन्दा बढी मतदाता सचेत र बलियो हुनुपर्छ । जसले परिवर्तन सुनिश्चित् गर्छन् र प्रणालीको सुदृढीकरणमा भूमिका खेल्न सक्छन् तर सचेत र सक्षम भनिएका युवा मतदाता नै आफ्नो मताधिकार माग्दै कैयौं काम माया मारेर यसरी घण्टौंसम्म सरकारी कार्यालयको ढोका कुर्न विवश छन् । जसमा अहिलेको राजनीतिक नेतृत्वप्रति चरम वितृष्णा छ । रजनीतिक दल र तीनका नेताको कामकाजप्रति फिटिक्कै खुशी छैनन् । सरकारी कार्यालयमा भइरहेको झमेला र ढिलासुस्तिले दिक्क बनाएको छ । भरोसा गर्न योग्य नेतृत्व युवाहरूले भेट्टाएका छैनन् । त्यसैले पनि हरेक दिन हजारौं नयाँ मतदाता परिवर्तनका लागि मेरो मत भन्ने सपना सम्झिएर मतदाता नामावलीमा नाम लेखाइरहेका छन् । यो परिवर्तनको सुखद संकेत हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार