पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसतमा तीन हजार बालबालिका हराउने गर्छन् । हराएका मध्ये कति त फेला नै पर्दैनन् । हराउनेमा बालकको भन्दा बालिकाको सङ्ख्या धेरै रहेको छ । हराएका बालबालिकाको खोजतलास गर्ने राष्ट्रिय बालअधिकार परिषद्का अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६ सय ४६ बालबालिका बेपत्ता भएका छन् । यस अनुसार मासिक करिब ४०० हाराहारीमा बालबालिका हराउने गरेका छन् भने दैनिक १० जना भन्दा बढी बालबालिका हराउने गरेका छन् । गत वर्षको साउन महिनादेखि यो वर्षको असार मसान्तसम्म हेर्दा ३ हजार ४ सय ३१ जना बालिका हराएका छन् । यस्तै एक हजार २ सय १५ जना बालक हराएको उजुरी खोजतलास केन्द्रमा परेको छ । हराएका मध्ये ४ हजार २ सय २९ बालबालिका फेला परेको तर ४ सय १७ जना अझै नभेटिएको विवरण छ ।
यस्तै एक वर्षको अवधिमा हराएका ३ हजार ४ सय ३१ बालिकामध्ये ३ हजार १ सय ४४ जना त फेलापरे तर बाँकी २ सय ८७ बालिका कहाँ छन् त ? यसको विवरण कुनै पनि निकायसँग छैन । राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार, ती हराएका बालिका कहाँ छन्, कुन अवस्थामा छन्, देशभित्र छन् वा बाहिर छन्, यकिन भन्न सकिने अवस्था छैन । उहाँले परिषद्सँग पर्याप्त स्रोत साधन र जनशक्ति र संयन्त्र नभएकाले हराएका बालबालिकाको विषयमा गहिरो अध्ययन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार हराएकाको उजुरी र फेलापरेकाहरूको विवरण विश्लेषण गर्दा धेरै बालिका मानव बेचबिखनमा संलग्न समूहको निशानामा पर्ने गरेका छन् । यस्तै प्रेम सम्बन्ध र रोजगारी जस्ता प्रलोभनमा परेर धेरै बालिकाहरू हराउने गरेको चन्दले बताउनुभयो ।
हराउनेमा छोराभन्दा छोरी धेरै
राष्ट्रिय बालअधिकार परिषद्को वार्षिक प्रतिवेदन अनुसार हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल २ हजार ७ सय २९ बालबालिका हराएका मध्ये बालिकाको सङ्ख्या १ हजार ८ सय ७८ रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा पनि ३ हजार ६ सय ५८ बालबालिका हराएका मध्ये २ हजार ८ सय ९ जना बालिका नै रहेका छन् । यसैगरी आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्क हेर्दा पनि हराउने बालिका कै सङ्ख्या धेरै रहेको छ । यसले के पुष्टि गर्छ भने प्रत्येक वर्ष बालबालिका हराउने क्रम बढ्दो छ र त्यसमा पनि बालिकाको संख्या उच्च छ । राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारीले, समाजमा अझै पनि लैङ्गिक असमानता कायमै रहेकाले अभिभावकहरूले छोरा र छोरीमा गर्ने व्यवहारको कारण पनि बालिकाहरू धेरै हराउने गरेको बताउनुभयो । असमान व्यवहार र पारिवारिक विभेदका कारण बालिकाहरू घर छाडेर हिँड्ने तथा घरायसी तनाव र पारिवारिक विभेदका कारण छिट्टै झुठो प्रेम प्रलोभनमा फस्ने गरेको उहाँले बताउनुभयो । बालिकाहरू हराएमा खोजतलासका लागि अविभावकले समयमै सूचना नदिने अथवा लामो समयसम्म चासो नै नदेखाउने गरेकाले पनि हराएका मध्ये धेरै बालिका नभेटिने समस्या बढ्दो छ ।
सीमावर्ति गाउँहरूमा बालविवाहको हराउने समस्या छ । मधेस प्रदेशपछि सबैभन्दा धेरै बालबालिका सहरी क्षेत्रबाट हराउने गरेका छन् । हराउने मध्ये १४ देखि १८ वर्ष उमेर समूहका बालबालिका धेरै छन् । बेपत्ता भएका बालबालिका कहाँ जान्छन् र के गर्छन् भन्नेबारे सम्बन्धित सरकारी र गैर सरकारी निकाय कसैसँग पनि जानकारी छैन ।
तथ्यांक अनुसार अविभावकको साथमा हुर्केका बालिका र सडकमा हुर्केका बालकहरू बढी हराउने गरेका छन् । सरकारले सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरेर देशव्यापी अभियान चलाएको भए पनि मानव तस्करले अझै पनि सडकमा हुर्किएका बालबालिकालाई निशानामा पार्ने गरेका छन् । बालअधिकार परिषद्का अनुसार पछिल्लो एक वर्षमा १९८ जना बालक र ९९ जना बालिकासहित २ सय ९७ जनालाई सडकबाट उद्धार गरिएको छ । जसमा हराएको भनेर उजुरी परेका अथवा विभेदका कारण घर छाडेर सडकमा आइपुगेका बालबालिका धेरै थिए । बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले यसरी उद्धार गरिएका मध्ये अविभावक फेला परेका केही बालबालिकालाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको र अविभावक नभेटिएकाहरूलार्ई अस्थायी संरक्षण गृहमा राख्ने गरिएको बताउनुभयो ।
कुन ठाउँका बालबालिका धेरै हराउँछन् ?
हराउने बालबालिका मध्ये सबैभन्दा धेरै प्रदेश १ र मधेश प्रदेशका रहेका छन् । भारतसँगको खुल्ला सिमाना र आर्थिक प्रलोभनले गर्दा तस्करहरूले यी प्रदेशका विभिन्न जिल्लाका बालबालिकालाई सीमा कटाएर भारत लैजाने गरेको पाइएको छ । नेपाल प्रहरीका प्रवत्ताले तराई क्षेत्रमा खुला सिमानाका कारण महिला तथा बालबालिकाहरू सजिलै भारत पुग्ने गरेको स्वीकार्नुभयो । सीमापारि आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले बाक्लो आउजाउ हुने भएकाले बालबालिकाहरू मानवतस्करको निशानामा परिरहेको उहाँले बताउनुभयो ।
यस्तै तराई मधेशका जिल्लाहरूमा अहिले पनि बालविवाहको प्रथा भयावह छ । बालविवाहका कारण कलिलै उमेरमा छोरीहरूलाई बिहे गराएर पाठाउने र विवाहपछि लामो समयसम्म परिवारको सम्पर्कमा नआउने गरेकाले यस्ता विवरण नियमित उजुरीमा कतै पनि नआउने अवस्था छ । मधेस प्रदेशपछि सबैभन्दा धेरै बालबालिका सहरी क्षेत्रबाट हराउने गरेका छन् । हराउने मध्ये १४ देखि १८ वर्ष उमेर समूहका बालबालिका धेरै छन् । बेपत्ता भएका बालबालिका कहाँ जान्छन् र के गर्छन् भन्नेबारे सम्बन्धित सरकारी र गैर सरकारी निकाय कसैसँग पनि जानकारी छैन । अभिभावकहरू बालबालिका हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गरेकाले पनि हराएका र भेटिएकाहरूको यकिन विवरण राख्न नसकिएको प्रहरीले जनाएको छ।
किन वर्सेनि बढ्दैछ हराउने बालबालिकाको सङ्ख्या ?
कतिपय बालबालिकाले घरायसी र स्कुलमा हुने दुव्र्यवहार र हिंसाका कारण पनि घर छाड्ने गरेको पाइन्छ । त्यसैगरी अशिक्षा, जनचेतनाको अभाव, मानव तस्करी, यौनजन्य दुव्र्यवहार, बेचबिखन, आर्थिक प्रलोभन, गरिबी, बेरोजगारी, असुरक्षा आदि कारणले प्रत्येक वर्ष बालबालिका हराउने क्रम बढ्दो छ । त्यसैगरी सामाजिक सञ्जालका दलदल र साथीभाइको लहैलहैमा घरै छाडेर हिँड्ने प्रवृत्तिले पनि पछिल्लो समय बालबालिकाहरू हराउने क्रम बढ्दै गइरहेको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउनुहुन्छ । केही वर्ष अगााडिसम्म बालबालिका हराउने सङ्ख्यामा यति धेरै वृद्धि आएको थिएन तर अहिले उजुरी गर्नेको सङ्ख्या बढ्नाले पनि हराउने बालबालिकाको तथ्यांक वृद्धि भएको बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द बताउनुहुन्छ । घरपरिवारमा बालमैत्री वातावरण नहुनु बालबालिका हराउनुको मुख्य कारक तत्त्व रहेको चन्द बताउनुहुन्छ । संविधानमा बालबालिकाका लागि जे जति अधिकार सुनिश्चित् गरिएको भए पनि व्यवहारमा त्यति नै हक अधिकार बाल बालिकाले नपाएको पनि उहाँले जिकिर गर्नुभयो । त्यही अधिकार र सुविधा नपाएका बालबालिका हराइरहेका छन्, यो गरिव तथा विपन्न परिवार भित्रको विकराल समस्या हो ।
बालबालिकाको हक अधिकार सुनिश्चत गर्ने उद्देश्यले स्थापना भएको बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले सोचे अनुरूपको प्रतिफल निकाल्न सकेको छैन । अझै पनि बढ्दो मात्रामा बालबालिका हराउने क्रम रोकिएको छैन । बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नि:शुल्क फोन सेवाको पहुँच पनि सबै जिल्लामा पुग्न सकेको छैन । बालबालिका हराउने र बेवारिसे बालबालिका फेला पार्न नेपाल प्रहरीले २४० वटै सेवा केन्द्रमा विस्तार गरेको नि:शुल्क फोन सेवा ग्रामीण हिमाली तथा पहाडी क्षेत्रहरू पुग्न सकेको छैन । त्यसैले त नेपालमा प्रत्येक दिन औसतमा १० जना बालबालिका हराइ रहेका छन् । ती हराएका बालबालिका मध्ये धेरै जसो फेला नै पर्दैनन् । जनचेतनाको कमी, शिक्षाको अभाव र बाल अधिकारप्रति राज्यको संयन्त्र जिम्मेवार नबन्दा बढ्दो उमेरका बालबालिकाहरू दिनदिनै हराइरहेका छन् । भोलिका देशका कर्णधार मानिने यी बालबालिकाहरू हराउँदा के हाम्रा बालबालिकाले साँच्चिनै आधारभूत हकअधिकार पाइरहेका छन् त ? भन्ने गम्भीर प्रश्न खडा हुन्छ । हाम्रा बालबालिकाहरूले आफ्नै देशमा कत्तिको सुरक्षित महसुुस गरेका छन् त ? यो प्रश्नको जवाफ हरेक अभिभावक तथा सचेत नागरिकले खोज्ने बेला आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
यशोदा भण्डारी/काठमाडौँ का अन्य पोस्टहरु:
- आफ्नो ठेकदारलाई दिएर निजी शौचालयमा नि:शुल्क पहुँच खोज्दै महानगर
- उपभोक्ता झुक्याउने प्रपञ्च: फेरि ग्यासमा दुई थरी मूल्य
- उपत्यकामा बादँरबाट सरुवा रोगको संक्रमण फैलने त्रास
- मानिसको सबैभन्दा पुरानो साथीको दुर्दशा
- “रातो कर” माफीका नाममा माफिया मालामाल
- सानो झरीमा पनि किन डुब्न थाल्यो काठमाडौं?
- पेट्रोल पम्प कि पेट्रोल बम ? घरको खुड्किलामा पम्प, भुईंतलामा भण्डारण ट्याङ्की
- खोलामा बस्ती कि बस्तीमा खोला: मिलन चोकको कथा
- सरकारी पैसामा गुणस्तरहीन सेनेटरी प्याड: सुरक्षित भण्डारण र विसर्जनको मतलबै छैन
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थोत्रा विमान: लाजको पसारो