नेपालमा यतिबेला अशिक्षित मात्र होइन अर्ध शिक्षित र उच्च शिक्षा प्राप्त जनशक्ति समेत रोजगारी नपाएर भौँतारिनु परेको छ किनकी हामीकहाँ रोजगारीको अवसर अत्यन्त सीमित छ। तथ्याङ्कले पनि रोजगारीका सीमितताहरूलाई स्पष्ट गरिसकेको छ। शैक्षिक संस्थाको संख्या बढ्दै गए अनुसार प्रत्येक वर्ष शिक्षित जनशक्तिको संख्या पनि उल्लेखनीय रुपमा बढिरहेको छ तर नेपालमा प्राविधिक रोजगारी तर्फ थोरै मात्र जनशक्तिले काम पाइरहेका छन्। त्यसमा महिलाको संख्या अझ कम छ। खाडी मुलुक जानेको बढ्दो सङ्ख्याले देशमा रोजगारीको अवसर ज्यादै कम भएको तथ्यलाई प्रमाणित गरिरहेको छ। देशमा रोजगारीको बढ्दो अपेक्षा हेर्दा आ व २०७८ को जनगणनाले प्रमाणित गरेको ४०.३५ प्रतिशत युवा (१६–४० वर्ष) को जनसांख्यिक लाभको अवसरलाई पूँजीकृत गर्नुपर्ने चुनौती पनि देखिन्छ।
उद्योग धन्दा कम हुन थालेपछि रोजगारी स्वाभाविक रूपमा घटिरहेको छ। नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि संगठनको लाभ लिनु त कता हो कता भएका उद्योगहरू पनि धमाधम बन्दै भइरहेका छन्। यो अवस्था हेर्दा रोजगारीमा समावेशी नीति अवलम्बनले पनि काम गर्न सकेको पाइन्न। यति हुँदाहुँदै पनि सूचना प्रविधिको क्षेत्रमा भने अपेक्षाकृत रुपमा सामाजिक सञ्जालको प्रभावले रोजगारीका सम्भावनाहरू क्रमशः बढिरहेको पाइन्छ।
अन्तर्राष्ट्रिय अनुभव र विश्व परिवेशले देखाए अनुसार उद्योग धन्दा बढेको खण्डमा जनशक्ति परिचालन हुने हो। त्यो परिदृश्य हेरेर नेपालले पनि रोजगारी वृद्धिको निमित्त प्रविधि विकास, प्रविधिको प्रयोग, प्रविधिप्रति जनचासो बढाउनु पर्नेछ। हामी कहाँ ज्यादै कम उद्योग धन्दा र रोजगार कम्पनीहरू छन्। सूचनाप्रविधि र सामाजिक सञ्जालको उपयोग गर्ने बानीको विस्तार र विकास कम छ। त्यसमा पनि प्राविधिक महिला जनशक्तिको विकास र प्रयोगमा हामी अझै पछाडि छौं। लैङ्गिक समानता, महिलालाई प्रोत्साहन र प्रेरणाका नीति र कार्यक्रम बनेपनि कार्यान्वयनमा कमजोरी देखिएको छ।
यस्तो परिस्थितिमा जनशक्ति निर्माण, उपयोग र प्रयोगको लागि काम गर्ने केही संस्थाहरू अघि आएका छन् तर ती संस्थाहरू संख्याका हिसाब ज्यादै कम र प्रभावकारिताका हिसाबले शिथिल जस्ता देखिएका छन्।
अहिले देखिएका थोरै संस्था मध्ये प्रभावकारी रूपले रोजगारी सिर्जना र अझ त्यसमाथि महिला रोजगारी प्रबर्द्धन गर्न लागि परेको संस्थामा कोड रस नामक संस्था देखिएको छ। आफ्नै देशमा फरक फरक विधामा विशेष गरेर दक्ष र अझ प्राथमिकतामा प्राविधिक जनशक्ति उत्पादन गरी सकेसम्म महिला जनशक्ति निर्माणमा ध्यान दिई उत्पादित जनशक्तिको स्वदेशमा मात्र होइन विदेशमा पनि माग बढाउने उद्देश्यले स्थापित यो संस्था नाफामूलक संस्था होइन। सन् २०१९ देखि कोडरस , विभिन्न माध्यमबाट प्रविधिमा महिलाहरूलाई रोजगारी दिई योग्य सीप उपलब्ध गराउनमा केन्द्रित छ। “कोड लाइक हर” भन्ने कार्यक्रम अन्तर्गत यो संस्थाले २० जना महिलालाई सफ्टवेयर र डाटा कोडिङ गर्न सक्ने गरी तालिम दिएको छ। यसैगरी “द डिजाइनर इन हर” भन्ने प्रशिक्षणमा २० महिलालाई तालिम दिएको छ। यसैगरी संस्थाले महिला प्रशिक्षार्थीहरूलाई गुगल साथै आइ क्लाउडलगायतका डाटाहरू कसरी कम्प्युटिङ निर्माण डिजाइनिङ गर्ने हो भन्ने सम्बन्धमा प्रशिक्षण दिइसकेको छ। तालिम पाएका मध्ये ८० प्रतिशतले स्वदेशमा नै काम पाएका छन्। यी तालिमहरू प्राय ६ महिने अवधि हुन्छन्। यो संस्थाले यस्ता तालिम निशुल्क दिन्छ। प्राविधिक क्षेत्रमा महिला जनशक्ति निर्माण गरी स्वदेशी विदेशी संस्थाहरूको माग अनुसार आपूर्ति गर्ने लक्ष्य संस्थाको रहेको बताइएको छ।
मेलिसा घिमिरे, आस्था शर्मालगायतका महिलाहरूले नेतृत्व गरेको यो संस्था कोड रसले जेनेसको २० मिलियन (नेपाली रुपैयाँ २ करोड) अनुदान प्राप्त गर्न सफल भएको छ। जेनेस एक आधिकारिक क्लाउड परामर्शदाता कम्पनी हो र अमेजन वेब सेवाहरू उपलब्ध गराउने क्लाउड परामर्श कम्पनी पनि हो। जेनेसले डिजिटल दुनियाँको विकासमा सहयोग गर्छ र युरोप र एसियाभरिका स्टार्टअप कम्पनीहरूलाई जनशक्ति निर्माणगर्न र त्यस्ता जनशक्तिलाई उचित स्थानमा माग अनुसार परिचालन/ हस्तान्तरण/ स्थानान्तरण गर्दैआएको छ। कोड रस र यस्ता युवा रोजगारीलाई प्राथमिकता दिने संस्थाहरू नेपालमा मात्र नभई विश्वव्यापी रूपमा र अझ विकासोन्मुख मुलुकहरूमा खुल्नु भनेको देश भित्र नै अवसर खोज्ने जनशक्तिलाई कम लगानीमा बढी उपलब्धि प्रदान गर्नु हो।
– सुगत पराजुली
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
