मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष गरिरहेको समितिले आश्वासनकै भरमै गृहमन्त्रालयसँग सम्झौता गरेको छ।संघर्ष समितिले २०७९ असोज १ गते गृहमन्त्रालयमा सम्पन्न छलफलपछि उक्त सम्झौता गरेको हो।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता; प्रवक्ता निर्गराज जैशी र गृह मन्त्रालयकातर्फबाट मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले सम्झौता गराउनु भएको हो। संघर्षसमिति र गृहमन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सहमति गरिएको छ।
सहमतिको पहिलो बुँदामा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनमा उल्लिखित सिफारिस बमोजिम स्थानीय तह र स्थानीय प्रशासनका प्रतिनिधि र सरोकारवालाको संलग्नतामा लेनदेनका कागजातहरू छानबिन गर्ने। त्यसक्रममा प्राप्त कानूनसम्मत कागजात पालिकामा अद्यावधिक गरी एकप्रति पालिकामा राख्ने र मिटरब्याजसँग सम्बन्धित देखिएका कागजात खिचेर अवैध घोषणा गर्ने तथा दृष्टिबन्धक खोल्नुपर्ने देखिएमा सो को लागि कानूनसम्मत सहजीकरण गर्ने। यस प्रयोजनका लागि आवश्यक कार्यविधि तर्जुमा गरी पठाउने सहमति भएको हो।
दोस्रो बुँदामा मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने उल्लेख छ।
तेस्रो बुँदामा मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारहरूलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने कुरा उल्लेख गरिएको छ।
चौथो बुँदामा ऋणीसँग ऋणको तमसुक गर्दा ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहू वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएको तर कानूनसम्मत रूपले हुन आउने साँवा ब्याज पुरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म विक्री गरेको भए तापनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानूनी व्यवस्था गर्ने उल्लेख छ।
यसैगरी पाँचौं बुँदामा सङ्घर्ष समितिका मागपत्रका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लखित सिफारिसको कार्यान्वयनका लागि अन्तरनिकाय समन्वय गरी नेपाल सरकार मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
