मोदी सरकारका ९ वर्ष : यी हुन् सर्वाधिक ‘हिट’ र ‘फ्लप’ काम

भारतमा नरेन्द्र मोदी सरकारले दुई चरणमा गरी सत्ता सम्हालेको ९ वर्ष भएको छ। मोदी दोस्रोपटक विजयी हुनुमा उनकै नेतृत्वमा सञ्चालित जनकल्याणकारी योजनाको अहम योगदान थियो। उनै मोदीको ९ वर्षे कार्यक्रालमा सुरु भएका योजनामध्ये कुन ‘हिट’ र कुन ‘फ्लप’ भए भन्ने यहाँ चर्चा गरिएको छ।

मोदी कार्यकालका ‘हिट’ योजना

जन–धन योजना : प्रधानमन्त्री मोदी केन्द्रीय सत्तामा पुगेपछि एउटा ठूलो निर्णय गरे। जसअन्तर्गत भारतका हरेक परिवारक बैँकिङ सिस्टमबाट जोड्ने कार्यविधिको थालनी गरे। यसका लागि १५ अगस्ट २०१४ मा जन–धन योजना सुरु गरिएको थियो। अहिलेसम्म हेर्दा सरकारले जुन रूपमा ग्राउन्ड लेभलमा यो योजना सुरु गरेको थियो पूर्णरुपमा सफल साबित भयो। यसका लाभग्राहीको संख्या लगातार बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। गत वर्ष जन–धन योजनाअन्तर्गत ४५ करोडभन्दा बढी खाता खोलिए। अहिले उक्त तथ्यांक ४९ करोड पुगेको छ।

उज्ज्वला योजना : मोदी कार्यकालको अर्को सफल योजन हो उज्ज्वला योजना। यसलाई केन्द्रीय सरकारले आफ्नो ठूलो उपलब्धिसमेत मानेको छ। गरिबीको रेखामुनि रहेर जीवनयापन गर्ने परिवारको चुलोबाट निस्कने धुवाँ बन्द गराई राहत दिन भारत सरकारले १ मे २०१६ मा यो योजना सुरु गरेको थियो। यस योजनाअन्तर्गत सरकारले आवश्यक परिवारका लागि खाना पकाउने ग्यास निःशुल्क उपलब्ध गराउँछ। सरकारका अनुसार गत वर्षको अप्रिलसम्म उज्ज्वला योजनाअन्गर्तत ९ करोडभन्दा बढी ग्यास बाँड्यो। प्रधानमन्त्री उज्ज्वला योजनाअन्तर्गत केन्द्रीय सरकारले बिपिएल तथा एलपिएल रासनकार्ड धारक परिवारका महिलालाई १६०० भारु पनि उपलब्ध गराउँछ।

प्रधानमन्त्री गरिब कल्याण योजना : कोराना महामारीका बेला सुरु भएको योजना हो यो। २६ मार्च २०२० मा सुरु भएको योजनाको उद्देश्य हरेक नागरिकको पेट भर्नु थियो। प्रधानमन्त्री गरिब कल्याण योजनामार्फत भारतभरका ८० करोड मानिसले खाद्यान्न मिलिरहेको छ। यसमा प्रत्येक नागरिकलाई ५ किलोभन्दा बढी खाद्यान्न दिइन्छ। केन्द्रीय सरकारले योजना सुरु भएपछि यसलाई सातपटकसम्म निरन्तरता दिएको छ। यही फेब्रुअरी १ देखि थप एक वर्षका लागि यसको अवधि बढाएको छ। उक्त योजनाअन्तर्गत ६ लाख करोड भारु खर्च भइसकेको छ।

प्रधानमन्त्री किसान सम्मान निधि योजना : सन् २०१४ मा मोदी सरकारमा आएपछि पहिलो कार्यकालको अन्तिम वर्षमा मोदीले किसानलाई फाइदा पुग्ने उद्देश्यसहित यो योजना प्रस्तुत गरे। उनको कार्यकालमा उक्त योजना सफल पनि भयो। किसान निधि योजनाअन्तर्गत सरकारले प्रत्येक वर्ष किसानको बैँक खातामा ६ हजार रुपैयाँ जम्मा गरिदिन्छ, जुन २–२ हजार गरी तीन किस्तामा ट्रान्सफर हुन्छ। अहिलेसम्म केन्द्रीय सरकारले १२ किस्ताको रकम रिलिज गरेको छ।

यसैगरी मोदी कार्यकालमा माथि उल्लिखित योजनाबाहेक अन्य थुप्रै योजना छन्, जो सफल साबित भएका छन्। यिनमा आयुष्मान भारत योजना, स्वच्छ भारत मिसन योजना, जल जीवन मिसन पनि पर्छन्।

असफल योजना

स्किल इन्डिया : प्रधानमन्त्री कौशल भारत योजनाको सुरुवात १५ जुलाई २०१५ मा भएको थियो। यस योजनाअन्तर्गत २०२२ सम्म भारतका ४० करोड मानिसलाई फरक–फरक कौशल (कला) मा प्रशिक्षित गर्ने लक्ष्य केन्द्रीय सरकारले राखेको थियो, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको आत्र्मनिर्भर भिजनसँग जोडिएको थियो। ड्रिम प्रोजेक्ट हुँदा पनि यसले सफलता पाउन सकेन। विपक्षीले यो योजनालाई ‘फ्लप’ करार गरिदिए।

कालो धन : नोटबन्दी गर्दा भारत सरकारले कालो धनको खुलासा हुन्छ भन्ने सोचेको थियो। यसकै लागि मोदीले ८ नोभेम्बर २०१६ मा नोटबन्दीको घोषणा गरे। सोही रातिदेखि ५०० र १००० का नोट अवैध मानिए। तर अझै पनि विपक्षीले यो निर्णयलाई लिएर कालो धन फिर्ताको मुद्दामा केन्द्रीय सरकारलाई घोचपेच गरिरहन्छ। केन्द्रमा आउनासाथ मोदी सरकारले विदेशमा जम्मा भएको कालो धन स्वदेश फर्काउने अभियान तीव्र रुपमा सुरु गरे। तर यसमा सरकारले सफलता हासिल गर्न भने सकेन।

स्मार्ट सिटी र नमामि गंगे : भारतभरिका १०० सहरलाई स्मार्ट बनाउन ‘स्मार्ट सिटी’ योजनाको सुरुवात भएको थियो। यसका लागि नागरिकलाई अनुकूल सहरी क्षेत्र विकसित गर्न भनेर ६८ खर्ब ५७ करोड ५८ लाख भारुभन्दा बढी लगानी गरेर कैयौँ अन्य पहल पनि गरिए। तर मोदी सरकारको यो प्रोजेक्ट बालुवामा पानी साबित भयो। यसैगरी मोदी सरकारको अर्को फ्लप योजना हो– नमामि गंगे। पहिलो पाँच वर्षमा सरकारले यसमा २ खर्ब भारु बजेट निर्धारित गरिएको थियो। रकम खर्च भयो तर गंगा अझै पनि पूर्णरुपमा सफा हुन सकेन।
-एजेन्सी 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
मोदी सरकारका ९ वर्ष : यी हुन् सर्वाधिक ‘हिट’ र ‘फ्लप’ काम
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link