प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जम्बो टोलीसहित आज नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्नेछ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री प्रचण्ड दिउँसो साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्ने छन्। प्रचण्डसहितका अतिथिलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको बताइएको छ।
साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले होटलमा छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ।
त्यसपछि जेठ १८ गते बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा जानेछन्। त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदरावाद हाउसमा फर्किनेछन्। हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन्। प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।सोही दिन मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही दिन प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्। उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र भारतीय उद्योग परिसंघ (सिआइआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। यसैगरी भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणको तेस्रो दिन शुक्रबार अर्थात् जेठ १९ गते प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानेछन्। चौथो दिन शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन्। सोही दिन नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट उनी काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ। विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको बताइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
