गोप्य दस्तावेज घर लगेको आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू यो विषयमा निर्दोष रहेको बताएका छन्। मियामी अदालतमा सुनुवाइका क्रममा ट्रम्पले सबै आरोप अस्वीकार गर्दै आफूमाथि लागेका विभिन्न ३७ आरोप निराधार र झुटा भएको बताए।
अदालतमा सुनुवाइपछि ट्रम्प बेडमिन्स्टर गल्फ क्लब पुगेर त्यहाँ आफ्ना समर्थकलाई सम्बोधन गरे। ‘आज अमेरिकाको इतिहासमा पहिलोपटक राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयो गरे,’ उनले भने, ‘राष्ट्रपतिको कुर्सीमा बसेका भ्रष्ट नेताले झुटो आरोपमा आफ्नो कडा प्रतिद्वन्द्वीलाई गिरफ्तार गराए।’ उनको यो भनाइ हालका राष्ट्रपति जो बाइडेनप्रति लक्षित थियो।
आफूले सही काम गर्दागर्दै पनि आपराधिक मुद्दा लगाएको ट्रम्पको जिकिर छ।
अमेरिकी इतिहासमा ट्रम्प यस्ता पूर्वराष्ट्रपति हुन्, जो ‘फेडरल चार्ज’ मा अदालमा पेस हुनुपर्यो। अदालतले सबै दलील सुनेपछि ट्रम्पलाई घर जान अनुमति दिएको छ।
बाथरुम र बलरुमा लुकाएका थिए दस्तावेज
बिबिसीका अुनसार ट्रम्पले गोप्य दस्तावेज बाथरुम, बलरुम, अफिस, स्टोर रुम र बेडरुममा लुकाएका थिए। यस्तै एफबिआईको छानबिनलाई प्रभावित पार्न ट्रम्पले आफ्ना वकिललाई गोप्य दस्तावेज लुकाउन या नष्ट गर्न आदेश दिएका थिए।
सिएनएनका अनुसार गत वर्ष एफबिआईले ट्रम्पबाट ३३७ सरकारी दस्तावेज बरामद गरेको थियो। यीमध्ये २१ दस्तावेजमाथि ‘विशेष गोप्य’ लेखिएको थियो। यी दस्तावजमा संवेदनशील जानकारी हुन्छ, जसको पहुँच अति कम मानिसमा मात्रै हुन्छ। विभिन्न गोप्य स्रोतबाट मिलेको सूचना पनि यसमा हुने गर्छ।यस्तै बरामद भएका ९ दस्तावेजमा ‘गोप्य’ लेखिएको थियो। यी दस्तावेज लिक हुँदा राष्ट्रिय सुरक्षामाथि नै गम्भीर खतरा पुग्ने बताइन्छ।
फाइलमा ‘प्लान अफ अट्याक’ जानकारी
सन् २०२० को एक फाइलमा अन्य देशको परमाणु क्षमताबारे गोप्य जानकारी थियो। ट्रम्पले लुकाएका गोप्य दस्तावेजमा अमेरिकाको न्युक्लियर प्रोग्राम र अमेरिका तथा अन्य देशको रक्षा र हतियारको क्षमतासँग जोडिएको जानकारी थियो। यसैगरी अमेरिकामाथि हमला हुँदा उसको जबाफ के हुन्छ र युद्धमैदानमा अमेरिका र उसका प्रतिद्वन्द्वीको कमजोरी के हुन्छ भन्ने उल्लेख भएका दस्तावेजसमेत ट्रम्पले लुकाएका थिए।
ट्रम्पविरुद्धको आरोपपत्रमा भनिएको छ, ‘ट्रम्पले दस्तावेज आफ्नो घर र प्राइभेट क्लबमा राखेका थिए, जुन उपयुक्त ठाउँ होइन। २०२१ मा फरकफरक अवसरमा यी फाइल एक जना लेखक र दुई स्टाफ सदस्यलाई समेत देखाएका थिए, जुन अवैधानिक हो।
पुनः राष्ट्रपतिको दौडमा
न्युयोर्क टाइम्सका अनुसार ट्रम्प पुनः एकपटक राष्ट्रपति चुनाव लड्दैछन्। आगामी चुनावलाई आफूलाई रोक्ने षड्यन्त्र भइरहेको ट्रम्पको आरोप छ। आफूमाथि जे जति आरोप लगाइएको छ, त्यो सबै राजनीतिक पूर्वाग्रहले लगाइएको र त्यसमा कुनै सत्यता नरहेको उनको दाबी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
