आज हामी झन्डै एकवर्षको अन्तराल पछि भेला भएका छौँ। कैयौँ साथीहरूलाई विधानविपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञासा हुनसक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ।
अहिलेको विश्व लोकरिझ्याँमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवद्र्धन त गरेको छ। तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियोजस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरू, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदि कुराको स्पष्ट गाइडलाइन बनाऔँ।
महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ। कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ। केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउँनुपर्ने प्रावधान थपिनुपर्छ। किनकी यसले संघियताप्रती हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ। अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरूको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ।
कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन। आगामी निर्वाचनहरू कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ। किनकि गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ।
गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको छ। ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन। तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनि हामी छौँ। संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रासामु छ। मलाई यो भनिरहँदा कुनै संकोच छैन कि हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरूबाट पनि चुनौतीको घेरामा छ।
सरकारको कामकाज समिक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरूले स्वत स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको छ।
स्थानीय सरकारदेखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरूबाट जन अपेक्षा अत्यन्त बढी छ र त्यसअनुरूप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन, नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहीन हुन जानेतर्फ साथीहरू सचेत हुनुहुनेछ। महँगी र कालाबजारीले जनता आक्रान्त छन्। जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्। यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरू गम्भीर हुनैपर्छ। कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरू सचेत हुनुहोला।
राज्यका जिम्मेवार निकायकै कारण देशमा पछिल्ला दिनमा दण्डहीनता बढेर गएको छ। नीतिगत रूपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको छ। हाल संसद्मा रहेको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८०’ तत्काल खारेज गरिनुपर्छ। यदि यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहीनताले संस्थागत रूप लिन्छ। जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन्।
समाजवादी मोर्चा किन बनेको हो ? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो ? भ्रष्टाचार र सुशासन दुई विपरित दिशामा हिँड्छन। कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन।
भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशील र पेचिलो विषय हो। यस विषयमा केवल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन। यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ। यसमा हामी सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता छ। यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु।
प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ। यसैगरी विदेशमा बस्ने नेपालीहरूलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ। यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ। बदलिँदो भुराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भिरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ।
विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनक रूपमा घर फर्कने बाटो खोलिनुपर्छ। कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्न सके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरि मूलधारमा ल्याउन सकिन्छ। तसर्थ यसअघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरूलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्वान गरौँ।
सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ। हामी जनतासँग टाढिएका छौँ। जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो। लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ। जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ। यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पुनर्स्थापित गरेर विपी कोइरालालगायत हाम्रा अग्रजहरूको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ। जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ।
तसर्थ नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ। पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पूर्वप्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरूसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन। त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिबाट पार्टीले लाभ लिने व्यवस्था गरौँ।
हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ। हामी सबै एउटा खेलको नियममा वाँधिएका छौँ र बाँधिनुपर्छ। जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ। हाम्रा भातृ र शुभेच्छुक संस्थालाई पनि विधानअनुरूप अगाडि बढाउने काम गरौँ। विधानले सबैले गर्ने काम तोकेको छ। हामी कतिले के-के गर्यौं ? मनन गरौँ। लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो। यो राम्रो लक्षण हैन। यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ।
१४औँ महाधिवेशनले नेतृत्व चयन मात्र गर्यो। कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जिवन्त रहन्छ। नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो । तर १४औँ महाधिवेशनपछाडि यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन। अहिले पार्टीमा विचारको खडेरी छ। त्यसकारण विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ।
अन्तमा, पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होइन। पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो। सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन। परिपक्व र जिम्मेवार बनौँ। दूरदराजका जनताको आवाज सुनौँ। केवल शब्द रटानमा मात्रै होइन, व्यावहारिक रूपमै आफूलाई परिवर्तन गरौँ। विधानले व्यवस्था गरेअनुसार बसौँ र छलफल गरौँ। कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ। कांग्रेस रूपान्तरण भनेकै यही हो।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा राख्नुभएको धारणा।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जापानको आर्थिक वृद्धिदर सुस्त
- हिउँद नलाग्दै सुक्न थाले खोला
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान