कसले बुझिदिने आमाको वेदना?

हिमांशु  चौधरी

चन्दा मामा आ रे आ, चानीके बाटी ला,
चानीके बाटीमे दूध–भात लेने आ
बौआके मुँहमे घुटुक…

(मामा चन्द्रमा ! छिट्टै आऊ। चाँदीको कचौरामा दूध–भात लिएर आऊ। बाबुको मुखमा घुटुक्क)

गणतान्त्रिक मुलुक नेपालमा मधेश प्रदेशको स्थिति, सफलता, उपलब्धिको विश्लेषण गर्दा माथि उल्लेख गरिएको मैथिली गीतझैं कारूणिक रहेको पाइन्छ।

गीतको पृष्ठभूमि र भावको प्रसंग एउटी स्तन सुकेकी आमासँग सम्बन्धित छ। आमाको स्तन सुकेका कारण बच्चालाई स्तनपान गराउन पाइरहेकी छैनन्। बच्चा रोइरहेको छ। आमालाई बच्चाको रोदन असह्य हुन्छ अनि चन्द्रमासँग गुहार गर्नुहुन्छ– ए चन्दा तिमी आऊ ! चाँदीको कचौरामा दूध–भात लिएर आऊ। तिमीले ल्याएको दूध–भातले बच्चाको भोक पूरा गर्छु। यसमा आमाको आशा, वेदना, आतुरता छ। स्तन सुकेकी आमाको काखमा रहेको बच्चा आमाको यही गीत सुन्दासुन्दै निदाउँछ। तर आमालाई बच्चा बिउँझेपछि के होला भनी चिन्ताले सताइरहेको हुन्छ।

यो गीत कुनै नयाँ गीत होइन। वर्षौदेखि सुनिँदै आएको गीत हो। गीतमा विपन्नता, अभाव, वस्तुस्थिति, जीवनस्तर, सामाजिक संरचना, परिवेश, क्रन्दन, पीडा, पछौटेपन र जीवनचक्रको यथार्थ छ। मधेश प्रदेशको सन्दर्भमा गणतन्त्र यस भूखण्डवासीका लागि साकार रूप भए पनि आर्थिक, सामाजिक, पूर्वाधार विकास,मानव विकासको अवस्थामा संघीय गणतान्त्रिकअनुरूपको चरित्र, संविधान, व्यवहार, अवसर, उपलब्धतामा व्यापक असन्तुष्टि देखिन्छ। प्रदेशवासीको जीवनले खोजेजस्तै नयाँपन र न्यायिकता छैन। केन्द्रीकृत परम्परगत साँघुरो पहिचानको वर्चश्व कायमनै छ।

०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको समाप्तिपछिका संक्रमणकालीन दिनमा राज्यमा देखापरिरहेका अलमल, अस्पष्टता र शक्तिकेन्द्रहरूबीचको तानातान, संविधानको संशोधनमा गणतन्त्र र संघीयताको प्रत्याभूति, क्रमिक रूपले प्रदेशसम्मको यात्रामा प्रदेशवासीले उठाएका सम–न्याय र सम–विकासको मागको सम्बोधन कसरी हुने र कहिले पूरा हुने हो ? भविष्यकै गर्भमै छ। जसले गर्दा वर्ग, समूह र लिङ्गको सकारात्मक रूपान्तरणको प्रवाह मन्द देखिएको छ। त्यसले गणतान्त्रिक यात्रा,संघीयताको भविष्यप्रति अविश्वासको बीज भर्ने काम भइरहेको छ।

इतिहासमा विभिन्न गणराज्यको अनुभूति गरेका यस भूखण्डका वासिन्दा गोरखा राज्यको विस्तारसँगै गोरखा राज्यको अंशको रूपमा रहन बाध्य भए। सुगौली सन्धियता यो भूखण्ड प्यारो तर यहाँका वासीलाई विरानो ठान्ने सामन्ती राज्यसत्ताको दुव्र्यवहारको सिकार बन्नुपरेकाले यो भूखण्ड सम्पन्न भएर पनि यहाँका रैथानेवासी समुदाय पराया, गरिब र रैतीजस्ता भए। यसै पृष्ठभ्ूमिमा रैतीबाट मुक्त हुँदै स्वतन्त्र जीवन जिउने ध्येयमा यस क्षेत्रका वासिन्दाले केन्द्रिकृत र सामन्ती राज्यसत्ताको विरोधमा आफूलाई लामबद्ध गरेको इतिहास छ। राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ गर्ने श्रेय पनि यस भूखण्डवासीको छ।

प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाले भूखण्डवासीको गरिबी, अधिकारविहीनता, तानाशाही कदमविरूद्ध राजा महेन्द्रमाथि जानकी मन्दिरमा परिसरमा बम प्रहार, गणतान्त्रिक नेता रामराजाप्रसाद सिंह, मधेश मुद्दाका उन्नायक गजेन्दनारायण सिंह, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका अगुवाहरूको पे्ररणा र नेतृत्वमा मुक्तिको आन्दोलनको परिणाम अधिकारको जागरण अभियानअन्तर्गतको संघर्षमा वलिदानीको इतिहास नमनकारी रहेको छ। यद्यपि कतिपय अगुवामा सत्तामा वस्ने मोहले नमनकारी भूमिका द्विविधामा परेका उदाहरण पनि छन्। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको गरेको व्यवस्थाअनुसार यस प्रदेशका १३६ वटा स्थानीय तहमा यस भूखण्डवासीको अधिकारको आवाज र माग सम्बोधनका लागि संघर्ष गरेका अनुहारहरू नेतृत्वको अभिभारा जनस्तरबाट पाएका पनि छन्। नेपालका प्रदेशमध्ये भौगोलिक रूपमा सबैभन्दा सानो भए पनि जनसंख्याको हिसाबले दोस्रो ठूलो प्रदेश हो। समथर उर्वर भूमि पर्याप्त रहेको, सांस्कृतिक विविधताले सम्पन्न र भौगिलिक रूपले सुगम तथा अन्तर्राष्ट्रिय व्यापारका हिसाबले सहज हुँदाहुँदै गणतान्त्रिक मूल्यमान्यताअनुसारको केन्द्रीय आचरण नभएका कारण प्रदेश हाल पनि अधिकारविहीनको अवस्थामा देखिन्छ।

विश्लेषक चन्द्रकिशोरका अनुसार गणतान्त्रिक गोरेटो सही भए पनि मन्द गति र गन्तव्यमा अस्पष्टताका कारण प्रदेशमा अन्योलता देखिएको छ। उहाँको विचारमा संरचना हाल पनि पुरातन छ। केन्द्रिकृत मनोविज्ञानका कारण गणतन्त्र अन्यमनस्कको अवस्थामा छ। गणतान्त्रिक यात्राका क्रममा संघीयताको खोज र स्थापना मुतिmको खोज मानिन्छ तर न्यायोचित वितरण,नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रबन्ध केन्द्रीयताको चपेटमा परेका कारण यस प्रदेशका सन्दर्भमा गणतान्त्रिक यात्रा एउटी स्तन सुकेकी आमाको क्रन्दनझैं भएको देखिन्छ।

विगतमा भूखण्डवासीको पहिचान र समानताको हक अधिकारको सवाल, राज्यसत्तामा समानुपातिक सहभागिताको सवाल, पहुँचको सवाल, आफ्ना लागि आफैबाट शासनको सवाल,नागरिकताको सवाल, जातीय तथा लैंगिक भेदभावको सवाल, न्यायपूर्ण भूमिव्यवस्थाको सवाल, प्राकृतिक स्रोतसाधनमाथि स्वामित्वको सवाल र अल्पसंख्यकहरूको अधिकारको सवाल सम्बोधनका लागि पहल गर्ने सन्दर्भमा कतिपय गणतान्त्रिक यात्राका सारथीहरूले इमानमा प्रश्नचिन्ह सिर्जना गरेका छन्। जसका कारण गणतन्त्रको अनुभूतिका लागि समग्र मधेसवासी अहिले स्तन सुकेर छटपटाइरहेकी आमाको बच्चाझै जीवनगाथा बनेको छ।

प्रदेशका नागरिकको जीवन निर्वाहको आधारका रूपमा रहेको कृषि क्षेत्र परम्परागत र गुजारासम्म नहुने अवस्थामा नागरिकको आर्थिक एवं सामाजिक अवस्था कमजोर छ। अपर्याप्त एवं भौतिक पूर्वाधार, सडक, सिंचाइ, अव्यवस्थित सहरीकरण, फोहरमैलाको उचित व्यवस्थापनको कमी, कमजोर जनचेतना स्तर, भएका स्रोत र सम्पदाको उचित व्यवस्थापन र प्रयोगमा कमजोरीका कारण प्रदेशको शासन सञ्चालन समस्याबाट आक्रान्त छ। मुक्तिका अगुवाको वर्चश्व भए पनि कपटपूर्ण व्यवहारको पासोबाट निस्किन पाइरहेको छैन। केन्द्रमा सरकारमा सहभागी हुने मोहभंग भएको छैन भने प्रदेशमा मुख्यमन्त्री, मन्त्री दलीय सहमतिअनुसार बाँडफाँटको चक्रव्यूहमा दिनप्रतिदिन अल्झिँदै गएको छ।

गणतन्त्र र संघीयता भनिए पनि केन्द्रियता हावी भएकाले यसको अनुभुति गराउने कार्य जटिल भएको आशय पटकपटक सुनिन्छ। प्रदेशमा श्रमजीवी किसान तथा मजदुरको बाहुल्य भए पनि आत्मनिर्भर भएको छैन। जनशक्ति विदेश पलायन भइरहेका छन्। भूमि मरूभूमि हुने हो कि ? चिन्तासँगै गणतन्त्र र संघीय चरित्रको जीवन दर्शन, व्यवहार, ऐन, कानुन, व्यवस्था, आर्थिक, सामाजिक क्रियाकलाप, उत्पीडन अन्त्यका लागि सबैमा परिवर्तनको आवश्यकता र मनोविज्ञानको विकासको अपरिहार्यलाई जोड दिने गरिएको पाइन्छ।

विश्लेषक तुलानारायण साहका अनुसार गणतन्त्र र संघीयता भनिए पनि आचरण र व्यवहार पुरानै छ। संविधान गणतान्त्रिक भावनाअनुरूप हुन सकेको छैन। यो अवस्थामा व्यवहारिक धरातल गणतान्त्रिक भावनाअनुरूप लोकतान्त्रिक प्रणालीअनुरुप बनाउने भनिएको छ। तर व्यवहार अलोकतान्त्रिक भएको इतिहास साक्षी भएकाले अब पनि त्यस्ता मनसायलाई जीवित राख्यो भने गण्तन्त्रमाथि खतरा आउन सक्ने संभावनालाई पनि नकार्न सकिँदैन।

गणतन्त्र र संघीयता यस प्रदेशको सन्दर्भमा नयाँ युग हो। एकताको नयाँ आधार हो। एउटा हुकुमशाही ढल्दाको जनताको स्वतन्त्रताको अनुभूति पनि हो। संघीयताको यात्रा यस क्षेत्रको उपलब्धिको काल र अंग हो। तर खाँचौ छ स्तन सुकेकी यस भूमिकी आमाको वेदना बुझिदिने सारथिको।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हिमांशु चौधरी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link