कट्टरपन्थीहरूले अन्तर्राष्ट्रिय रूपमा नै बङ्गलादेशी ब्लगर असद नूरको हत्याको आह्वान भइसकेको छ, तर पनि असद संसारलाई बङ्गलादेशको समाज कसरी कट्टरपन्थी बन्दै गएको छ भनेर बताउनु जरुरी छ भन्नुहुन्छ।
असद नूरसँग अब नयाँ फोन नम्बर र नयाँ घरको ठेगाना छ। भारतमा निर्वासित भएका बङ्गलादेशी नास्तिक ब्लगर र मानवअधिकार कार्यकर्ता आफ्नो नयाँ सम्पर्क विवरण साह्रै कम व्यक्तिसँग मात्र भएको बताउनु हुन्छ। कतिसम्म भने बङ्गलादेशमा रहेका उहाँको परिवारका सदस्यहरूसँग पनि असद नूरको नम्बर र ठेगाना छैन। युरोपबाट टाउको काट्न माग गर्दै भिडियो बाहिर आएपछि असद नूर भारतमा कहाँ लुकेको हो कसैलाई थाहा छैन।
सलमान रुस्दीजस्तै हुँदा कस्तो महसुस हुन्छ भन्ने बल्ल थाहा भएको ३२ वर्षीय नूरले बताउनुहुन्छ। “म सलमान रुस्दीजस्तै लेख्न सक्दिन, तर धार्मिक भावनामा चोट पुर्याएको आरोपमा भोगेको समस्याचाहिँ उस्तै हो,” असद नूरले अज्ञात स्थानबाट भन्नुभयो। आफू रुस्दीको जस्तो वयस्क उमेर पुग्नुभन्दा धेरै अगाडि मारिन सक्ने असद नूरले बताउनुभयो।
नूर भारतमा अन्डरग्राउन्ड भएको आफ्नो घरबाट बाहिर एकदमै कम निस्कनुहुन्छ र दिनरात आफ्नो ल्यापटपको अगाडि बिताउनुहुन्छ। उहाँ आफ्नो किबोर्डमा काम गर्नुहुन्छ, बङ्गलादेशमा अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टहरू सङ्कलन गर्नुहुन्छ, अनलाइन घृणाको निगरानी गर्नुहुन्छ, र भ्लगहरू उत्पादन गर्नुहुन्छ। आजकल उहाँसँग अरू केही धेरै गर्ने समय पनि छैन, र डकुमेन्ट्री फिल्मको सिनेटोग्राफर बन्ने उहाँको सपना पनि टाढिँदै गएको देखिन्छ। असद नूर भन्नुहुन्छ, ‘ज्यानमाथि आएको खतराका कारण म मानिसहरूलाई भेट्न पनि सक्दिनँ। डकुमेन्ट्री फिल्म प्रोजेक्टमा काम गर्न सक्छु भनेर कसरी सोच्ने खै?”
असद नूर भन्नुहुन्छ, ‘भारत ठुलो र जटिल देश हो । तर अभिव्यक्ति स्वतन्त्रता छ, बहस हुन्छ। म प्रजातन्त्र र धर्मनिरपेक्षताका धेरै मुखर रक्षकहरू हरेक मञ्चबाट बोलिरहेको देख्छु। यो एक आदर्श अवस्था नहुन सक्छ, तर कम्तीमा म यहाँ जीवित छु। इस्लामिक कट्टरतावादले कुनै पनि बहसलाई अनुमति दिँदैन। म बङ्गलादेशमा यसरी बस्न सक्दिन।”
भारतमा गुमनाम जिन्दगी
गुमनाम नै भए पनि भारतमा बाँच्न सफल हुँदा कहिलेकाहीँ असद नूर राहतको सास फेर्नुहुन्छ। बेलुका हिँड्न जाने, सडकमा बसेर चिया पिउने वा क्याफेमा एक्लै बस्ने, अनि कफी पर्खने बेलासम्म न्यापकिन पेपरमा आफ्नो अर्को भ्लगको लागि बुँदाहरू लेख्ने गर्दा पनि स्वतन्त्रताको अनुभूति हुन्छ।
हिजोआज नूरलाई धेरै पढ्ने समय मिल्दैन। तर जब समय पाउँछन्, असद नूर बङ्गलादेशी लेखकहरू हुमायुन आजाद र तस्लिमा नसरीन र बङ्गाली उपन्यासकार समरेश मजुमदारको साहित्यिक किताब पढ्न थाल्नुहुन्छ। तीनै लेखकहरूले नूरलाई स्वतन्त्र रूपमा सोच्न मद्दत गरेका छन्।
राजनीतिक र धार्मिक दुवै हिसाबले शक्तिशालीहरूका विरुद्ध खडा हुनुको मूल्य चुकाउँदै हुनुहुन्छ- असद नूर। सन् २०१३ मा ब्लगिङ गर्न थालेदेखि बङ्गलादेशका धार्मिक कट्टरपन्थीहरू असद नूरको पछाडि परेका छन्। ७ अगस्ट २०२० मा प्रकाशित प्रतिवेदनमा एमनेस्टी इन्टरनेसनलले बङ्गलादेशका अधिकारीहरूलाई नूरका परिवारका सदस्यहरूलाई “उत्पीडन र धम्की दिने” बाट जोगाउनु पर्ने भनेर लेखेका थिए। स्थानीय पुलिसले १४-१५ जुलाई २०२० को मध्यरातमा दक्षिण बरगुना जिल्लाको अमतली गाउँमा यी ब्लगरको घरमा छापा मारेको थियो। तर उनीहरूले असद नूरलाई फेला पार्न सकेनन्, पुलिसले त्यसपछि नूरका आमाबाबुको खोजी गरेका थिए। रिपोर्टमा भनिएको छ, “पुलिसले जुलाई १६ मा फेरि असद नूरको घरमा छापा मारेको थियो। १८ जुलाईको बिहान बिहानै प्रहरीले घरमा फेरि छापा मारेर असदका बुबा तोफज्जल हुसेन, उनकी आमा राबेया बेगम, दुई बहिनी (एउटी नाबालिग) र अन्य दुई आफन्तलाई कुनै औपचारिक आरोप वा वारेन्ट बिना नै हिरासतमा लिएको थियो। स्थानीय प्रहरीले जुलाई १९ को राति रिहा गर्नुअघि परिवारका सदस्यहरूलाई ४० घण्टा हिरासतमा राखेको थियो।”
यही कारणले गर्दा नूर आफ्नो परिवारसँग सम्पर्कमा रहन रुचाउनुहुन्न। उहाँ भन्नुहुन्छ ” म केवल उहाँहरू खुसी र सुरक्षित रहनु हुनेछ भन्ने आशा मात्र गर्न सक्छु।”
असद नूर भन्नुहुन्छ, ‘मेरा आमाबुवालाई मदरसाका बारेमा शिक्षा दिनेभन्दा बढी केही थाहा थिएन । त्यहाँ सिकाइने कुराले तपाईँलाई अन्य धर्मका मानिसहरूलाई स्पष्ट घृणा नगरे पनि हेय दृष्टिले हेर्ने सिकाइन्छ। “हुजूर” भनिने धार्मिक प्रचारकहरूमध्ये अधिकांश बङ्गलादेशको भित्री भागमा धेरै लोकप्रिय छन्, नियमित रूपमा धार्मिक अतिवादको प्रचार गर्छन्। इस्लाम प्रचार गर्न आयोजित कार्यक्रम वाज महफिल प्रायः घृणा सिकाइन्छ। विद्यालयदेखि सुरु भएको, सामाजिक र धार्मिक जमघटमा पुग्दा घृणा सामान्य बन्दै गएको छ।”
धम्की रोकिएको छैन
अहिले अन्तर्राष्ट्रिय रूपमा नै नूरको हत्याको माग गर्न थालिएपछि उहाँको मातृभूमि बङ्गलादेशको समाज कति कट्टरपन्थी बन्दै गएको छ भनेर विश्वलाई बताउनुपर्ने भएको नूर बताउनुहुन्छ। नूरको भनाइमा, “प्रतिपक्षीको आवाजलाई सडकमा छुरा प्रहार गर्ने देशमा अभिव्यक्ति स्वतन्त्रता कुरा गर्नु मजाक हो। अहिले विदेशबाट बङ्गलादेशीहरू मलाई धम्की दिइरहेका छन्।”
अगस्ट ८ र १० मा, सामाजिक सञ्जाल इन्फ्लुएन्सर पेरिसका बेजोय हुसेन तान्जिल र बेलायतका फरहान चौधरीले धर्म द्रोहको आरोपमा नूरलाई मृत्युदण्डको सजाय दिनु पर्ने भिडियोहरू पोस्ट गरे। तिनीहरूले अहिले भिडियो त हटाए, तर ब्लगर विरुद्ध धम्की जारी छ। “मसँग धेरै समय छैन भनेर मलाई डर लागिरहेको छ, ” असद नूर भन्नुहुन्छ।
अहिले डिलिट गरिएको भिडियो पोस्ट गरिएको फरहान चौधरीको फेसबुकमा झन्डै १ लाख ७४ हजार फलोअर छन् र त्यहाँ चौधरीले नूरजस्ता धर्म द्रोहीको के हालत गर्ने भनेर प्रश्न गरेका छन्। चौधरीका एक अनुयायीले पैगम्बर मुहम्मदको आलोचना गर्नबाट रोक्न नूरको जिब्रो काट्न सुझाव दिए। अर्काले इस्लामविरुद्ध लेख्न नपरोस् भनेर आफ्नो हात काट्न आग्रह गरे। नूर सम्झनुहुन्छ, ” इस्लामको आलोचना गरे बापत फ्रान्समा १६ अक्टोबर २०२० मा टाउको काटिएका स्कुल शिक्षक स्यामुएल प्याटीको जस्तै नियति मैले भोग्नुपर्ने भनेर चौधरीले मलाई धम्काएका थिए।”
तन्जिल र चौधरी दुवै जन्मले बङ्गलादेशी हुन्। युरोपमा बसोबास गरे पनि उनीहरूले इस्लामको आलोचना गर्ने प्रतिको घृणालाई उनीहरूले जित्न नसकेको नूर बताउनुहुन्छ।
मदरसा नै असहिष्णुताको जनक
नूर यो असहिष्णुतालाई जन्म दिने श्रेय बङ्गलादेशमा हुर्कँदा आफूले पढेका मदरसाहरूलाई दिनुहुन्छ। मदरसाहरूले नूरलाई जे जति सिकाएको पनि किताबहरूले उहाँलाई त्योभन्दा बाहिरको संसार देखायो। ढाकाको महानगरीय सभ्यताले जीवनका अन्य तरिकाहरूमा उहाँको आँखा खोल्यो, र आफ्नो जन्म गाउँ गोपालगञ्जमा हुर्किँदा उहाँले बनाएका अवधारणाहरूबाट मुक्त गर्यो। सन् २०१३ मा, नूरले बङ्गलादेशी समाज र राजनीतिको इस्लामीकरण, र देशमा अल्पसङ्ख्यकहरूका लागि बढ्दो खतरा जस्ता आफ्ना वरपरका समस्याहरूबारे ब्लग गर्न थाल्नुभयो।
नूर भन्नुहुन्छ, ” “त्यति बेला तिर नै जाकिर नाइकले अनलाइन धार्मिक भाषण दिन थाले, यसबाट आधुनिक लुगा लगाए पनि, अङ्ग्रेजी बोले पनि तपाई सधैँ अझै पछाडि रहन सक्नुहुन्छ भन्ने देखियो। कट्टर पन्थको समस्या अब मुलुकके भित्री क्षेत्रमा मात्र सीमित रहेन। देशको हरेक कुनामा कट्टर पन्थ फैलिरहेको थियो।”
अल्पसङ्ख्यकमाथि कुनै आक्रमण भएको देखेमा वा सुनेमा उहाँ सामाजिक सञ्जालमा त्यसको अभिलेखीकरण गर्नुहुन्छ। सेप्टेम्बर २०१२ मा, चट गाउँ डिभिजनको कक्स बजार क्षेत्रमा, बौद्ध धर्मावलम्बी उत्तम कुमार बरुआलाई धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाइएको थियो। त्यसपछि बौद्ध धर्मावलम्बीका घर, पसल र मन्दिर गुम्बामा लुटपाट गरी आगजनी गरियो। बर्सौँ बित्दै गयो, पुराना घरको भग्नावशेषमा नयाँ घरहरू बनाइयो, पुराना गुम्बा मन्दिरहरू भएको ठाउँमा नयाँ गुम्बा मन्दिरहरू बनाइयो। तर कुटपिट गर्नेलाई भने कुनै कारबाही भएको छैन। उत्तम कुमार बरुआलाई कहाँ पुर्याइयो अहिलेसम्म कुनै पत्ता लागेको छैन।
नूरले त्यसपछि अक्टोबर २०१६ को उदाहरण दिनुभयो, चट गाउँ डिभिजनको ब्राह्मण बारिया जिल्लाको नसिरनगर उपजिल्लाका निवासी रोशश दासलाई ‘धार्मिक घृणा फैलाउने’ फेसबुकमा पोस्ट गरेको आरोपमा पक्राउ गरी यातना दिइयो। स्थानीय अवामी लिगका नेताहरूले दासलाई सोधपुछ गरे र दासलाई यातना दिए। पछि मात्र थाहा भयो ती बिचराको फेसबुक एकाउन्ट नै थिएन।
सन् २०१७ मा, रङ्गपुरका टिटु रेलाई आपत्तिजनक पोस्टको लागि गिरफ्तार गरियो र आफूमाथि आरोप लागेको कुरा कहिल्यै अपलोड नगरेको खुलासा नभएसम्म जेलमा यातना दिइयो। यस्तो सूची लामो छ र निरन्तर बढ्दै छ, तर नूर रोकिनुभएको छैन।
“बङ्गलादेशको मुख्यधारको समाचार मिडियाले गर्न नसक्ने कुरा मैले गरेर देखाउने प्रयास गर्छु। हाम्रो देशका अधिकांश पत्रकारले कुटपिट वा ज्यान गुमाउने डरले जुन प्रश्न सोध्दैनन् म त्यही प्रश्न गर्छु । मसँग बङ्गलादेशभरि युवा कार्यकर्ताहरूको बलियो सञ्जाल छ जसले घृणाका हरेक घटनाका बारेमा मलाई रिपोर्ट गर्छन् र भिडियोहरू पठाउँछन्। म तिनीहरूलाई मेरो सामाजिक सञ्जालमा पोस्ट गर्छु।“
सत्यको मूल्य
नूर चर्चित भएपछि डिजिटल र भौतिक दुवै क्षेत्रमा उहाँको विरोध सुरु भयो। तर वास्तविक समस्या जनवरी २०१७ मा सुरु भयो, जब नूर २५ वर्षको हुनुभयो। कट्टरपन्थी इस्लामिक समूहहरूले नूरलाई कथित रूपमा पैगम्बरको अपमान गरेको आरोप लगाए र पक्राउ गर्न माग गरे। ११ जनवरी २०१७ मा, बङ्गलादेश प्रहरीले देशको २०१३ को सूचना र सञ्चार प्रविधि ऐन अन्तर्गत धर्मको अपमान गरेको आरोप लगाए।
नूरलाई २६ डिसेम्बर २०१७ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि जहाज चढ्ने क्रममा उहाँलाई पक्राउ गरिएको थियो। उहाँले आठ महिना जेलमा बिताउनुभयो र जमानतमा रिहा भएपछि असद नूरविरुद्ध आक्रोशित प्रदर्शन भएको थियो। असद नूर लागु औषध ओसारपसारको झुटो आरोपमा फेरि पक्राउ पर्नुभयो। चार महिनापछि असद नूर जमानतमा रिहा हुनुभयो, त्यसपछि उहाँले गोप्य रूपमा बङ्गलादेश छोड्ने निर्णय गर्नुभयो। यो फेब्रुअरी २०१९ को कुरा हो। त्यसपछि नूर त्यतिबेला देखि भारतमा लुकेर बस्नुभएको छ। उहाँले देश छोडेको चार वर्ष भइसक्यो तर असद नूरमाथि लगाइएको आरोप फिर्ता भएको छैन।
नूर जेलबाट रिहा भएपछि इस्लामिक समूह हेफाजत-ए-इस्लाम बङ्गलादेशले उनलाई फाँसीको माग गरेको थियो। जुलाई २०२० मा, उहाँले रङ्गुनिया उपजिल्लामा स्थानीय बौद्ध समुदायमाथि आक्रमणको बारेमा भारतबाट ब्लगहरू प्रकाशित गर्नुभयो। अवामी लिगका एक नेताले असद नूरविरुद्ध देशको डिजिटल सुरक्षा ऐनअन्तर्गत “धार्मिक भावनामा चोट पुर्याएको” मुद्दा दायर गरेका छन्।
नूरलाई थाहा थियो उहाँको मातृभूमि अब उहाँका लागि सुरक्षित छैन, तर उहाँले आफू विरुद्धको घृणा इङ्गल्यान्ड र फ्रान्समा पनि फैलिनेछ भनेर चाहिँ कहिल्यै कल्पना गर्नुभएको थिएन। अब कुनै पनि ठाउँ आफ्नो लागि सुरक्षित छैन भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ, तर अझै पनि आफ्ना सिद्धान्तहरूमा उहाँ अडिग हुनुहुन्छ।
कट्टरपन्थी इस्लामिक समूहका विरुद्ध बोल्ने उहाँ मात्र होइन; उहाँजस्ता अरूले ठुलो मूल्य चुकाउनु परेको छ। २०१३ र २०१६ को बिचमा, बङ्गलादेशमा धर्मनिरपेक्ष र नास्तिक लेखकहरू र ब्लगरहरू, साथै विदेशीहरू, एलजीबीटीक्यू प्लस समुदायका सदस्यहरू, र धार्मिक अल्पसङ्ख्यकहरूलाई इस्लाम र पैगम्बर विरुद्ध लेखको वा बोलेको आरोपमा धार्मिक कट्टरपन्थीहरूले मारिदिएका छन्। २०१६ को जुलाईसम्म, यस्ता खालका आक्रमणहरूमा लगभग ४८ व्यक्ति मारिएका छन् र अन्य गम्भीर रूपमा घाइते भएका छन्।
यी आक्रमणहरू अन्सारुल्लाह बङ्गला टिम र इस्लामिक स्टेट अफ इराक र सिरिया जस्ता चरम पन्थी समूहहरूले गराएको बताइएको छ। बङ्गलादेशी सरकारको पनि आक्रमणहरूको प्रतिक्रियाको लागि आलोचना गरिएको थियो, जसमा केही ब्लगरहरूलाई केही धार्मिक समूहहरूलाई बदनाम गरेको र धार्मिक भावनामा चोट पुर्याएको आरोप लगाइएको थियो। यो अनियन्त्रित, क्रूर हत्या अन्तर्राष्ट्रिय हेडलाइन बन्यो। असद नूर भन्नुहुन्छ, ‘मारिएका धेरैजसो मेरा साथी थिए। म तिनीहरूको मृत्युलाई व्यर्थ जान दिने छैन। म धार्मिक कट्टरपन्थी विरुद्ध बोलिरहनेछु।’
“बङ्गलादेशको जिडिपी बढेको छ, तर आर्थिक असमानता कायम छ र भ्रष्टाचार पनि छ। मानिसहरू दुखी छन्, र देशका अधिकांश भाग गरिब र अशिक्षित छन्। तिनीहरूले यस जीवनमा आशा गुमाए र त्यसैले तिनीहरू अर्को जीवनको प्रतीक्षा गर्छन्। र यहाँ धर्म बेच्नेहरू जन्नत वा स्वर्गको वाचा लिएर आउँछन् र आफ्नो धर्म नमान्नेहरूप्रति घृणा प्रचार गर्छन्। कसैले त यसका बारेमा बोल्न पर्यो। मैले बोल्न थाले।”
पूर्व मुस्लिम होइन
भारतमा लुकेको गोप्य स्थानबाट असद नूर आफ्नो फेसबुक पेजमा नियमित भ्लगहरू पोस्ट गर्नुहुन्छ र बङ्गलादेशमा अल्पसङ्ख्यकहरूमाथि हुने दैनिक उत्पीडनमा आफ्ना विचारहरू व्यक्त गर्न प्रायः लाइभ हुनुहुन्छ। गत साता मात्र, असद नूर आफ्नो मन पर्ने लेखकहरू मध्ये एक, तस्लिमा नसरीन, र ब्लगर आसिफ मोहिउद्दीनसँग बङ्गलादेशी क्रिकेटर तन्जिम हसन साकिबको महिला र धार्मिक अल्पसङ्ख्यकहरूमाथिको प्रतिगामी विचारहरूबारे बहस गर्न फेसबुकमा लाइभ हुनुभयो।
बहसका क्रममा नूरले भने, “साकिब एक चर्चित क्रिकेटर हुन्, तर उनी महिलामाथि घृणित टिप्पणी गर्छन्, उनीहरूको लुगा छनोटलाई बलात्कारको आरोप लगाउँछन्। उनले धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणलाई जायज ठहराएका छन्। तर बङ्गलादेश क्रिकेट बोर्डले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन समेत गरेको छैन।”
बङ्गलादेशमा धार्मिक र सामाजिक रूढीवाद विरुद्ध निर्भीक वचन हो जसका कारण साथी र समर्थकहरूलाई पनि नूरको पक्षमा सार्वजनिक रूपमा बोल्नबाट रोकेको छ। एक बङ्गलादेशी पत्रकारले नाम न छाप्ने सर्तमा भने, नूरजस्तो साहसी मानिस कमै छन्। ‘धार्मिक नेता र राजनीतिज्ञदेखि सेलिब्रेटीसम्म घृणा फैलाउने कसैलाई पनि नूरले छाड्दैनन्। नूरको फेसबुक पेज दैनिक घृणा ट्र्याकर हो।हामी उसलाई धेरै चासोका साथ हेर्छौं, तथापि, हामी यसलाई सार्वजनिक रूपमा स्वीकार गर्दैनौँ,” ती पत्रकारले भने, “दुर्भाग्यवश, बङ्गलादेशी समाजमा नूरजस्ता स्पष्ट वक्ता पूर्व-मुस्लिमको लागि कुनै ठाउँ छैन।”
यद्यपि, नूरले आफूलाई पूर्व मुस्लिम भन्न रुचाउनुहुन्न र आफू नास्तिक भएको दाबी गर्नुहुन्छ। “आफूलाई पूर्व मुस्लिम भन्नुको मतलब यो समस्या इस्लामको मात्र हो र [त्यो] मैले मेरो दिमाग अन्य धर्महरूमा खुला राखेको छु भन्ने हुन्छ। जुन होइन। सबै धर्ममा समस्या छन्। मेरो जीवनमा भगवानको लागि कुनै ठाउँ छैन।”
द प्रिन्टमा दीप हलदरले लेख्नुभएको सामाग्रीको भावानुवाद
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु
- पत्रकार महासङ्घको निर्वाचन आज
- विपद्का घटनाबाट चिन्तित चुरेफेदी
- आत्म–रक्षाका लागि गोलान बफर जोन कब्जा गरेको इजरायलको भनाइ
- टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
- अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
- के हो आँखाको क्यान्सर ?
- बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
- सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
- आयोजना अलपत्र पारेपछि कारणसहित लिखित जवाफ माग