रुपन्देहीको पहाडी जिल्लामा मात्रै सीमित सराय नाच पछिल्लो समय रुपन्देहीको मुख्य बजारको रूपमा रहेको बुटवलमा पनि स्थापित बन्दै गएको छ ।
दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराय नाचको आयोजना गर्ने गरेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच विगत १२ वर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको हो ।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, त्यस्तैसरि बागलुङ र स्याङ्जामा यो नाच निकै प्रख्यात छ । पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरूले परम्परा जोगाउने उद्देश्यले नाच मार्फत बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरूप भाला, खुकुरी,तरबार नचाएर दिनभर प्रदर्शन गरिएको हो ।
पञ्चेबाजाले सो क्षेत्रको वातावरण नै रमाइलो बनाएको थियो । विगत ११ वर्षदेखि सराय नाच देखाउन थालिएको नवदुर्गा मन्दिर बुटवलका अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो ।
परापूर्व कालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले सांस्कृतिक नाच बिर्सँदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराय नाच देखाइएको उहाँको भनाइ छ ।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयको उत्सवको रूपमा मनाइने प्रचलन रहेको छ ।बुटवलको सरायले अब नयाँ पहिचान बनाउने बुटवलका नगर प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।
उहाँले पहाड र तराइ एक आपसमा जोडिएको र सबै प्रकारको कला संस्कृति स्थानान्तरण भइरहेको बताउनुभयो ।नेपाल एकीकरण भन्दा पहिले बाइसे चौबिसे राज्य मध्ये चौबिसे राज्य अन्तर्गत गुल्मीमा ६ ओटा राज्य भएको र ती राज्यहरू एक बनाउने क्रममा शक्तिशाली राज्य गुल्मीबाट विजयोत्सवका सन्दर्भ मा सराय नाचको सुरु भएको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा नारायण पन्थको भनाइ छ ।
लुम्बिनी वाणिज्य क्याम्पस खेल मैदानमा देखाइएको नाचले परम्पराको संरक्षण गरेको स्थानीय कुलप्रसाद केसीको भनाइ छ । सहभागीले नसहरूको हातमा ढाल,तरबार,खुँडा,खुकुरी बोकेर नाचिरहेको र नयाँ पुस्ता यसमा रमाइरहेको उहाँको भनाइ छ ।
पछिल्लो पुस्तालाई सराय नाचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्सेनि यो नाच देखाउँदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको गुल्मी धुर्काेट सम्पर्क समाजका अध्यक्ष राम प्रसाद पौडेलले बताउनुभयो ।
बुटवल ११ देवी नगर चौँरीछेउका व्यवसायी भीम ज्ञवालीका अनुसार यस नाचले देवी भगवती खुसी हुने र राक्षसलाई मार्न प्रयोग गरिएका धारिला हतियारका बारेमा सबैलाई जानकारी हुने बताउनुभयो।
हामीले पहाडमा सानोमा देखेको तर यहाँ आएपछि बल्ल सराय खेल्न पायौँ नाचमा सहभागी युवती देवी नगरकी तुलसा पौडेलले भन्नुभयो ।सराय हेर्नका लागि मानिसहरूको बाक्लो भीड लागेको थियो ।
त्यस्तै बुटवल १२ नयाँ गाउँमा रहेको सो क्षेत्रकै सबैभन्दा पुरानो नवदुर्गा भवानीको मन्दिरमा पनि सराय नाच देखाउन सुरु गरिएको अध्यक्ष तुलसीराम भण्डारीले बताउनु भयो ।यस्तै बुटवल १३ जित गढीमा पनि सराय नाच देखाइएको स्थानीय ऋषि आजादले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने