महासचिव गुटेरेसले नियुक्त गर्नुभयो ३९ सदस्यीय एआई सल्लाहकार सदस्य 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमणमा निस्कनु अगाडि २६ अक्टोबरका दिन आर्टिफिसियल ईन्टेलीजेन्स (कृत्रिम बौद्धिकता) को अन्तर्राष्ट्रिय नियमन (गर्भेनेन्स) सम्बन्धी ३९ सदस्यीय सल्लाहकार निकायका सदस्यहरूको घोषणा गर्नुभएको छ ।

आर्टिफिसियल ईन्टेलीजेन्सको सकारात्मक फाइदाहरूलाई प्रोत्साहन गर्न र त्यसबाट आउने जोखिमहरूलाई घटाई मानवीयताको पक्षलाई जोगाउन अन्तर्राष्ट्रिय बहस सिर्जना गर्न सो निकायले योगदान गर्ने विश्वास राष्ट्र सङ्घको छ ।

गत सेप्टेम्बर महिनामा सम्पन्न राष्ट्र सङ्घीय साधारण सभाले यस प्रविधिको बारे एक साझा विश्व दृष्टिकोण सिर्जना गरी यस सम्बन्धी नियमनका सिद्धान्तको रूपरेखा तय गर्न एक सल्लाहकार निकाय गठन गर्ने निर्णय लिएको थियो ।

सो सल्लाहकार निकायका, सदस्यहरूमा विभिन्न क्षेत्रको प्रतिनिधित्व समेटिएको छ । जसमा सोनी कम्पनीका प्रमुख प्राविधिक अधिकारी हिरावकी कितानो, ओपन एआईका प्रमुख प्राविधिक अधिकृत मिरा मूर्ति र माइक्रो सफ्टका मुख्य एआई अफिसर नटसा क्रम्प्टन जस्ता ठुला कम्पनीका विशेषज्ञहरू पनि छानिएका छन् ।

यसै गरी सल्लाहकार सदस्यमा स्पेन, साउदी अरेबिया देखि एआई प्रविधिमा उच्च तहको विकास गरिसकेका अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, रूस, चीन, नेदरल्याण्ड र इजरायत लगायतका देशका सरकारी प्रतिनिधिहरू पनि छन् । राष्ट्र सङ्घीय एआई सल्लाहकार निकायका सदस्यहरूमा एआईका विशेषज्ञहरू जस्तै अमेरिकाबाट विकास धर र चीनबाट प्रोफेसर यी जेङ्ग पनि हुनुहुन्छ ।

सल्लाहकार सदस्यमा रुस सरकारबाट अन्ना अब्रामोभा, ब्राजिल सरकारबाट इस्टेला अर्नाट्ट, जर्मनीबाट अन्ना क्रिस्टमेन र जापानबाट एरिसा इमा पनि छन् । यस समितिमा दक्षिण एसियाबाट भारतको आइस्प्रिट फाउन्डेसनका शरद शर्मा, पाकिस्तानको नागरिक संस्था डिजिटल राइट्स फाउन्डेसनको कार्यकारी निर्देशक निहात दाद र भारतको अनुसन्धान कम्पनी हुगिङ्ग फेसको प्रमुख अनुसन्धानकर्ता नाजिन रजानी पर्नु भएको छ ।

यो सल्लाहकार समितिले एआईको अवसर चुनौती दुवै पक्षको वृहत् अध्ययन गर्ने र यसको नियमनका आधारहरूबारे अन्तर्राष्ट्रिय सहयोग र समन्वय तथा छलफललाई प्रवर्द्धन गरी प्रतिवेदन दिने छ ।

यो वर्षको अन्तसम्ममा यस सम्बन्धी प्रारम्भिक रूपरेखा बनाउने र आगामी वर्ष सन् २०२४ को मध्यसम्ममा यस सम्बन्धी सुझाव र सिफारिस सहितको प्रतिवेदन बुझाउने छ ।

महासचिव गुटेरेसले एआई सल्लाहकार निकायको प्रमुखका रूपमा गत जुन महिना अमन दीप सिंह गिललाई आफ्नो सूचना–प्रविधि विशेष प्रतिनिधिमा छनौट गरिसक्नु भएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link