सर्वत्र निराशाले छाएको बेलामा नेपालका लागि एक सुखद तथ्याङ्क सार्वजनिक भएको छ । जसअनुसार उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने देशहरूको सूचीमा नेपाल ३५ नम्बरमा परेको छ ।
तथ्याङ्कहरूको विश्वव्यापी खुलासा गर्ने एक फिडले ट्विटरमा गरेको तथ्याङ्क सार्वजनिक करणमा उल्लेख भए अनुसार सन् २०२१ को निर्यात तथ्याङ्कमा नेपाल ३५ नम्बरमा देखिएको हो । कोरोनाको महामारीले गर्दा सो समयमा अन्य उत्पादन क्षेत्र खास गरी औद्योगिक उत्पादन क्षेत्रमा उत्पादन र निर्यात निकै घटे पनि सूचना प्रविधिमा आधारित उत्पादन र निर्यात भने ह्वात्तै बढेको थियो ।
उक्त तथ्याङ्क अनुसार चीनले सो वर्ष उच्च प्रविधिमा आधारित उत्पादन ९ सय ४२ बिलियन डलरको निर्यात गरी सबैभन्दा उच्च स्थान हासिल गरेको देखिन्छ भने दोस्रोमा हङकङ छ, जसले ४ सय ३१ बिलियनको निर्यात गरेको छ ।
यसबाट के पुष्टि हुन्छ भने – कोरोना महामारीको समयमा सूचना प्रविधि उद्यमशीलता मार्फत चीन र हङकङले सबैभन्दा बढी लाभ उठाउन सकेका छन् ।
उच्च प्रविधिमा आधारित उत्पादनबाट सो वर्ष नेपालले ५ मिलियन डलरको निर्यात गरेको थियो । अर्थात् ६० करोड रुपैयाँको निर्यात भएको तथ्याङ्क छ । सो वर्ष नेपालको अर्को छिमेकी देश भारतबाट २७ बिलियन डलर, पाकिस्तानबाट ३ सय १८ मिलियन डलर र बङ्गलादेशबाट ९३ मिलियन डलरको उच्च प्रविधिको उत्पादन निर्यात भएको थियो ।
उच्च प्रविधिमा आधारित उत्पादनको निर्यात गर्ने चीन र हङकङ पछि तेस्रोमा जर्मनीले २ सय ९ बिलियन डलर र चौथोमा अमेरिकाले १ सय ६९ बिलियन डलरको निर्यात गरेको थियो ।
उच्च प्रविधिको उत्पादन र निर्यातमा एसियाको वर्चस्व बढेको तथ्याङ्कले देखाएको छ । दक्षिण कोरियाले १ सय ६४ बिलियनको, जापानले १ सय १६ बिलियनको, मलेसियाले १ सय ८ बिलियनको र भियतनामले १ सय १ बिलियनको निर्यात गरेर उच्च निर्यातको ५ औँ देखि ९ औँ स्थान हासिल गरेका छन् ।
प्रविधिको पछिल्लो विकास र सोमा आधारित उत्पादनमा एसियाको यो अग्रताले भावी विश्व– अर्थतन्त्रको केन्द्र एसियामा नै हुँदै गएको देखाउँछ ।
निर्यातमूलक उत्पादनमा निकै पछाडि रहेको नेपालको समेत यस क्षेत्रमा अथाह सम्भावना रहेको सङ्केत यस तथ्याङ्कबाट खुलासा भएको छ । अन्य छिमेकी एसियाली देशहरूको तुलनामा नेपालको निर्यात क्षमता निकै कम देखिए पनि अन्य आधुनिक युरोपेली देशहरू र अफ्रिकी एवं ल्याटिन अमेरिकी देशहरूको तुलनामा सूचना प्रविधिमा आधारित उद्यमशीलतामा नेपाल निकै अगाडि देखिएको छ ।
सरकार र राज्यका तर्फबाट कुनै ठोस योजना र प्रोत्साहन नभए पनि नेपाली युवा इन्जिनियरहरू र कम्प्युटर साइन्टीस्टहरुले आफ्नै तहबाट यो क्षमता देखाएका हुन ।
‘नेपालका लगानीकर्ताहरू र निजी क्षेत्रका स्थापित उद्यमीहरूले सूचना–प्रविधि र यस्तै नयाँ उच्च प्रविधिमा आधारित उद्योगहरूमा खासै ध्यान दिएको छैन, यदि यस क्षेत्रका प्रतिभाहरूलाई लगानीको अवसर जुट्ने हो भने नेपालले यस क्षेत्रबाट प्रशस्त प्रगति गर्न सकिने सम्भावना छ’ सूचना प्रविधि क्षेत्रका एक युवा वैज्ञानिकको टिप्पणी छ ।
उनको अनुसार यस क्षत्रका बहुसङ्ख्यक नेपाली उद्यमशीलहरूले गरेको उत्पादन र बिक्री नेपालको अभिलेखमा आउन सकेको छैन । धेरैजसो कारोबार विदेशमा नै दर्ता भएका कम्पनी मार्फत हुने भएकोले तथ्याङ्कमा देखिए भन्दा निकै ठुलो सङ्ख्यामा उच्च प्रविधिका उत्पादनको निर्यात भएको हुनसक्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय