रामिडाँडा ६.४- ८० जनाभन्दा बढीको मृत्यु

जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा कम्तिमा पनि ८० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन्। जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोट प्रशासनले जनाएको छ। एक सय भन्दा बढी घाइते भएका छन्।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। त्यहाँ पनि सय बढी घाइते भएका छन्। मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन्।

यसैगरी जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ। भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ। सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो

त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ। भूकम्पले जाजरकोटका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ। भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ।

भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ। सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उहाँको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ।

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ। मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ। प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ।

उहाँले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ। प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ।

सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन्। भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले  आफू मर्माहत भएको बताउनुभएको छ।

उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link