भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
भूकम्पपीडितसँग प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गर्नुभएको छ । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम पश्चिम आइपुग्नुभएका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेट्नु भएको हो ।
बिहान जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुग्नुभएको थियो ।
उहाँले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पुर्याउनुभएको थियो । चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ । चौरजहारी अस्पतालमा घाइतेलाई भेट गर्नुभएका प्रधानमन्त्री दहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । “भूकम्पका कारण भएको क्षतिप्रति हामी दुःखी छौँ । सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ । तपाईंहरु नआत्तिनु होला”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
साथै उहाँले सरकार भूकम्पपीडितको साथमा रहेको बताउनुभयो । भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उहाँको भनाइ थियो । भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आइपुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल आज बिहान स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा आइपुग्नुभएको हो ।
विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उहाँले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गर्नुभएको हो ।
मन्त्री शर्माले भन्नुभयो, “हुनतः सूचनाको महत्व सधैँ छ यहाँहरुले बुझी नै रहनुभएको छ । तर पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।”
सत्यतथ्य र सही समाचारको सम्प्रेषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुनेगरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।
यस्तो विपद्का बेला पनि कहीँकतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपद्मा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उहाँले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिनुभयो ।
त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ–आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उहाँले निर्देशन दिनुभयो ।
उहाँले सामाजिक सञ्जालमा नागरिक तर्सिने खालका भ्रमपूर्ण प्रकृतिका सूचना आएमा त्यसलाई निस्तेज पार्नेगरी सही र पीडितको राहत र उद्धारका काममा सहयोग पुग्ने खालका सूचना निर्माण गरी प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो ।
मन्त्री शर्माले जाजरकोट र रुकुमपश्चिममा सञ्चार अवरुद्ध हुन नदिन, सञ्चारमा नेटवर्कको समस्या देखियो भने तत्कालै समाधान गर्नका लागि प्राविधिक टोली खटाउन र त्यहाँ भूकम्पको उद्धारसम्मका लागि सञ्चारको निःशुल्क र चुस्तदुरुस्त बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।
त्यसैगरी प्रभावित जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन नदिनका लागि पनि सम्बद्ध निकायसँग आवश्यक समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको थियो । मन्त्री शर्माले तत्कालका लागि उद्धारको काम जारी रहेकाले त्यसमा ध्यान दिन र त्यसपछि राहतका काममा पनि सम्बद्ध सबै निकाय तथा व्यक्ति परिचालन हुने कार्यलाई सहजीकरण गर्न नेपाल सरकारका सबै निकायले आआफ्ना स्थानबाट पहल कदमी दिन पनि आग्रह गर्नुभयो ।
सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को बैठक आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
मानव अधिकार आयोगको अपिल
यसबीच राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ । आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”
आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत सुरू गरिसकेको छ ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावितस्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी
- लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
- ट्रम्पको होटल अगाडि च्याटजीपीटी एआईमार्फत विस्फोट गराइएको थियो साइबरट्रक
- उनन्तीस वर्षदेखि ओडारमा व्यापार