भूकम्पले लुट्यो दुई छोरी, सपनामा देख्छु तर छुन पाउँदिन

कात्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी एक सय ५३ जनाको ज्यान गयो भने हजारौँ घर भत्किए । जाजरकोट र रुकुमपश्चिममा अहिलेको अवस्था निकै दयनीय बनेको छ । सयौँको स‌ङ्ख्यामा ज्यान जाने गरी आएको भूकम्पले धेरैलाई परिवार विहीन बनायो भने कतिपयको गाँसबास नै खाेसिएको छ । 

भूकम्पले दुई छाेरी गुमाएका जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंह बिर्सिनै नसिकने पीडामा छन् । उनीहरु राहतभन्दा पनि दुई छोरीको निधनले शोकमग्न छन् । गत शुक्रबार राति ११ः४७ बजेको भूकम्पमा परी सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गएको थियो । 

घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा बस्दै आउनुभएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिनुभएको थियो । दसँै मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी–बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बुबाआमा मावली सदरमुकाम खलङ्गास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए । उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका–९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन् ।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने । गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन् । महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् ।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे । त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे ।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ । “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भन्नुभयो ।

सिंह पत्नी शोभा शाह भन्नुहुन्छ, “काख रित्तिएको छ । घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ । राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन । अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको । भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन् ।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन् । देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो । भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन् । जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link