आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो ।
सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट वल्र्ड कप’ राखिएको थियो ।
प्रतियोगिताको पहिलो दिन आज (शुक्रबार) अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । दुवै खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ ।
आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुनेछ । नेपालले पनि ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा अर्थात् आगामी आइतबार न्युजिल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । समूह ‘डी’ मा नेपाल सहित न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
