सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ ।
चालक, सहचालक र यात्रुको शारीरिक अस्वास्थ्यताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।
दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रूपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् ।
यस अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाइने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अङ्गभङ्ग हुनु परेको छ । जसलाई रोक्नका लागि चालक र यात्रुलाई दुर्घटना बारे सचेत गराउन सहायता कक्ष सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सहायता कक्ष तानसेनको बसपार्क, रामपुरको बेझाड बजार, तिनाउ गाउँपालिकाको दोभानमा स्थापना गरी सेवा दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले तानसेनमा आयोजित सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रममा बताउनुभयो ।
उनका अनुसार प्रदेश सरकारको सहयोगमा पाल्पासहित रुपन्देही र बाँकेमा पनि सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने छ । स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीबाट चालक, सह–चालक, सहयोगी र यात्रुको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी प्रदान गरिने छ ।
सहायता कक्षका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी लगायतका सरोकारवाला निकायहरूको सहकार्य र समन्वय रहने जनाइएको छ ।
स्वास्थ्य कार्यालयले सरोकारवाला निकायहरूसँग बसेर सहायता कक्ष स्थापनाका विषयमा अभिमुखीकरण कार्यक्रम समेत गरेको हो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. –६ का वडा अध्यक्ष सागरमान महर्जनले एक जना चालकको हातमा ४०/५० जना यात्रु हुने हुँदा चालक पूर्ण रूपमा स्वस्थ रही सवारी साधन चलाउनुपर्ने बताउनुभयो ।
चालकलाई स्वास्थ्य प्रति सचेत गराउन बेला बेलामा सडकमै स्वास्थ्य परीक्षण आवश्यक रहेको उनले उल्लेख गर्नुभयो । पछिल्लो समय चालकहरूले मोबाइलमा कुरा गर्नुको साथै सुर्तीजन्य वस्तु खाई सवारी चलाउँदा समेत दुर्घटनाको जोखिम बढ्दै गएको बताउनुभयो ।
कहिले काहीँ चालक, सहचालकहरू अस्वास्थ्य हुँदा हुँदै पनि सवारी चलाउँदा दुर्घटना हुने गरेको भन्दै यस्ता स्वास्थ्य सहायता कक्षले रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
