सहादतस्थल सम्सीमै बन्यो प्रजातान्त्रिक योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन्। पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै प्रतिमा अनावरण भएपछि सम्सीवासी खुसी देखिएका हुन्। पञ्चायतका प्रारम्भिक दिनमै विसं २०१९ असोज ४ गते प्रजातन्त्रका पक्षमा लडेका मिश्रलाई सम्सीमा प्रहरीले समातेर गोली हानेको थियो।

भर्खर २० वर्ष टेक्दै गरेको अवस्थामा पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय हुनुभएका मिश्र नेपाली कांग्रेसको आह्वानमा सशस्त्र सङ्घर्षमा होमिएर सम्सी प्रहरीचौकी कब्जा गर्ने क्रममा सहिद हुनुभएको पाका सम्सीवासीलाई ताजै छ। “उच्च शिक्षा लिएका भर्भराउँदो उमेरका मिश्रका भाषणले त्यतिखेर रगत उमाल्थ्यो”, मनराका बासिन्दा ८० वर्षीय रामचन्द्र मिश्र सहिद शिवचन्द्रलाई सम्झँदै भन्नुहुन्छ, “निकै लामो कालखण्डपछि सहादतस्थलमै उहाँको प्रतिमा अनावरण भएको छ, यसले भावी पुस्तालाई उहाँको सम्झना गराइ रहनेछ।” अमर सहिद मिश्रको प्रतिमा अहिले ‘समुदायसँग कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानका क्रममा महोत्तरी आइपुग्नुभएका कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबार साँझ अनावरण गर्नुभएको हो।

मिश्रको सहादतले आफ्नो ठाउँको परिचय प्रजातान्त्रिक आन्दोलनसँग जोडिएर बनेको सम्सीका ७० वर्षीय उत्तिम यादव बताउनुहुन्छ। भारत प्रवेशको द्वार, पूर्वपश्चिम हुलाकी राजमार्ग र सम्सी गौशाला सडकको अहिलेको सङ्गमस्थलको चोक नै मिश्रको सहादतस्थल हो। मिश्रको सहादतस्थलबाट नेपाल भारत सीमा (दशगजा) २०० मिटर परमात्र छ।

पञ्चायतकालमा सशस्त्र सङ्घर्षमा होमिएका प्रजातान्त्रिक योद्धाहरू सङ्गठनसम्बन्धी सूचना समन्वय भारततर्फ रहेर गर्दै प्रहरी चौकीमा आक्रमण गर्दै बढ्ने गर्थे। यसैक्रममा सम्सी चौकीको आक्रमण प्रयत्नमै मिश्रलाई त्यतिखेरका पञ्चहरूले समातेर प्रहरीलाई बुझाएपछि उहाँलाई गोली हानी हत्या गरिएको अहिलेका युवापुस्ताले आफ्ना बाबुबाजेबाट सुनेका छन्।

“उहाँको साहस र वीरताबारे बुबाले सुनाउनुभएको हो”, सम्सीका सामाजिक अगुवा ३५ वर्षीय युवा इम्तियाज अहमद भन्नुहुन्छ, “मुख्यचोकमा अब प्रतिमा अनावरण भयो, सहिदको सहादतस्थल अब चिरकालसम्म सम्झनामा रहनेभयो।” अहमदले मिश्रको योगदानबारे जानकारी दिन यहाँका स्थानीय तहले स्थानीय पाठ्यक्रम बनाएर विद्यालयमा पठनपाठनको चाँजो मिलाउन आग्रह पनि गर्नुभयो।

को हुनुहुन्थ्यो मिश्र

महोत्तरीकै लोहारपट्टीका शोभित मिश्र र झरियादेवीका कान्छा छोराका रुपमा शिवचन्द्र मिश्रको विसं १९९९ कात्तिक १९ गते जन्म भएको थियो। माध्यमिक तहको अध्ययन (त्यतिखेरको प्रवेशिका) जनकपुरमा १३ वर्षको उमेरमै सकेर मिश्र कानुन पढ्न भारत जानुभयो। विसं २०१७ मा प्रजातान्त्रिक सरकार अपदस्त गरी राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि बढेको राजनीतिक उथलपुथलले मिश्रलाई पनि प्रभावित पार्‍यो। मिश्र कांग्रेस आबद्ध भएर आन्दोलनमा होमिनुभयो।

भारतको विहार प्रान्तका विभिन्न कलेजमा अध्ययन थालेका महोत्तरीका युवा त्यसबेला पञ्चायतविरुद्ध सङ्गठित हुँदै गए। जसमा मिश्रसँगै डाम्हीका चिन्ताहरण सिंह, रामचन्द्र सिंह, पिपराका हरिसुन्दर मिश्र, रतौलीका राजेन्द्र मिश्र र महावीरप्रसाद सिंहसहित विद्यार्थीको मोर्चा बन्यो। त्यसैगरी धनुषाका दुर्गानन्द झा पनि यो समूहमा जोडिनुभयो। त्यसैबेला राजा महेन्द्रको जनकपुर भ्रमणको कार्यक्रम बन्यो। यस क्रममा राजा महेन्द्रमाथि बम प्रहार गर्ने यो समूहले योजना बनायो।

राजामाथि जनकपुरको हवाई मैदान, रङ्गभूमि र जानकी मन्दिर परिसरमा बम प्रहार गर्न फरकफरक तीन टोली बनेका थिए। सोअनुसार विमानस्थलमा अरविन्द ठाकुर, जानकी मन्दिरमा दुर्गानन्द झा र बारहबिघा (रङ्गभूमि) मैदानमा शिवचन्द्र मिश्रलाई बम प्रहार गर्न खटाइएको थियो। त्यसबेलाको घटना सम्झँदै लोहारपट्टीकै कांग्रेस नेता महेन्द्रकुमार मिश्र भन्नुहुन्छ, “राजा आइपुग्नुअघि नै अरविन्द ठाकुर पक्राउ पर्नुभयो, फलस्वरुप राजा आएपछि जानकी मन्दिर परिसरमा दुर्गानन्द झाले बम प्रहार गर्नुभयो, तर राजा जोगिए।”

त्यस घटनापछि बारहबिघाको राजाको कार्यक्रम स्थगित भएर शिवचन्द्रले भूमिका निर्वाह गर्नुपरेन। जानकी मन्दिरको घटनाले भगदौड मच्चियो। त्यो असफलतापछि सीमा नजिकका चौकी आक्रमणको योजना बनेको महेन्द्रजस्तै पुराना कांग्रेस बताउँछन्। विद्यार्थी समूहमा विसं २०१९ असोज २३ गते सम्सी र सर्लाहीको मलङ्गवा आक्रमण गर्ने योजना बनेअनुसार सम्सीमा खटिनुभएका शिवचन्द्र २४ गते बिहान मारिनुभएको महेन्द्रकुमार मिश्र बताउनुहुन्छ।

“असोज २३ गते रातभरि दोहोरो हानाहानमा प्रहरी पछि सर्‍यो, तर २४ गते बिहान सम्सीचोकमा भाषण गरिरहेकाबेला पञ्चहरूले समाएर उहाँलाई प्रहरीको जिम्मा लगाए”, महेन्द्र भन्नुहुन्छ, “जिउँदै समातिएका शिवचन्द्रलाई प्रहरीले तीन गोली दागेर मार्‍यो।” शिवचन्द्रको शव दशगजा क्षेत्रमै प्रहरीले गाडेको थियो। शिवचन्द्रको हत्यापछि सेना र प्रहरीले लोहारपट्टीमा आतङ्क मच्चाए। उहाँको काजकिरिया बाजे शङ्कर मिश्रले भारतका तीर्थस्थलमा गएर गर्नुभएको थियो।

प्रतिमा निर्माणले सहिदप्रति सम्मान

कांग्रेसमा आबद्ध भएर आन्दोलनमा होमिदै ज्यान अर्पित गर्नुहुने अमर सहिद मिश्रको प्रतिमा अनावरण उहाँ आबद्ध दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गर्नुभयो। प्रतिमा निर्माण र अनावरण हुनुले सहिदप्रतिको सम्मान भाव, आन्दोलनको सम्झना र ठाउँको ओज र परिचय विस्तार भएको सम्सीवासी बताउँछन्।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
सहादतस्थल सम्सीमै बन्यो प्रजातान्त्रिक योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link