फागुन ७ देखि १०-कांग्रेस महासमिति बैठकको तयारी

नेपाली कांग्रेसले आगामी फागुन ७ गते हुने पार्टी महासमिति बैठकको तयारीलाई तीव्र गतिमा अघि  बढाएको छ। पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको हो।

हाल देशभरबाट  ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो। महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुने गरी दुई हजार तीन भन्दा बढी महासमिति सदस्य रहनुहुनेछ।

महासमिति बैठक फागुन ७ देखि १० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुँदैछ। बैठक तयारीका लागि सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। बैठक नीति अधिवेशनका रूपमा हुने भएकाले समसामयिक राजनीतिक विषयमा  प्रस्ताव निर्माण गर्न पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा  प्रस्ताव तयारी अन्तिम चरणमा छ।

यसैगरी, बैठक तयारीका लागि माघ २१ गते विभिन्न उपसमिति गठन गरी संयोजक पनि चयन गरिएको छ। प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य,  भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदयशम्शेर राणा,  यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरिएको पार्टी कार्यालयले जनाएको छ।

यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जीतजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई चयन गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले आइतबार नै उपसमितिका संयोजक र पार्टी सचिवालयको संयुक्त बैठक गरेर तयारीका बारेमा छलफल गर्नुभएको थियो। महामन्त्री शर्माले सभाहल पुगेर सबै उपसमितिको कार्यविभाजनअनुसारका कामका लागि सरसल्लाह गर्नुभएको जानकारी दिनुभयो।

यसअघि यही माघ २० गतेसम्म सबै महासमिति सदस्यको निर्वाचन सम्पन्न गरी सूची प्राप्त भइसक्नुपर्ने समय निर्धारण गरिएको थियो। यद्यपि सुनसरी, भोजपुर, खोटाङ, महोत्तरी, बारा, पर्सा, सप्तरी, सिन्धुली, धादिङ, काठमाडौँ, दोलखा, रामेछाप, पर्वत, दाङ, कपिलवस्तु र कञ्चनपुरका केही क्षेत्रबाट महासमिति सदस्यको सूची प्राप्त हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link