दूध बिक्रीमा समस्या, चिन्तामा किसान

पछिल्लो समय चितवन जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ। जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्रीमा कमी आएको हो।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार कम्पनीहरूले हप्ताको एकपटक मात्रै दूध उठाउने गरेका छन्। उहाँले भन्नुभयो, “दूध उठ्न छाड्यो। अब कसरी बिक्री वितरण गर्ने ?” नियमित दूध बिक्री गर्ने अवस्था नभएको उहाँले बताउनुभयो।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो। दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन्।

बगालेका अनुसार चितवनबाट बाहिर जाने दूध उठ्न छाडेपछि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले दुग्ध उत्पादक किसानलाई सताउन थालेको छ। उहाँले भन्नुभयो, “हामीले प्रदेश र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ। अहिलेसम्म समस्याको समाधान हुनसकेको छैन।”

बाहिरबाट आयातित दुग्धजन्य वस्तुका कारण यहाँ उत्पादित वस्तुको बिक्री वितरण हुन नसकेको बगालेले बताउनुभयो। उहाँले भन्नुभयो, “रात्रिबसमा लुकाइछिपाई कुराउनी, पाउडर दूधलगायत वस्तु भारतीय नाकाबाट आउने गरेका छन्।” सरकारले प्रतिबन्ध गरेका वस्तुसमेत चितवनका बजारमा भेटिँदा स्थानीय प्रशासनले खासै चासो नदिएको उहाँले आरोप लगाउनुभयो।

बगालेले भन्नुभयो, “यही अवस्था रहे किसान आन्दोलनमा उत्रनुको विकल्प छैन”, किसानहरू सडक सङ्घर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको उहाँको भनाइ थियो।

रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष बगालेले बताउनुभयो। उहाँले भन्नुभयो, “दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन्।”

बगालेका अनुसार अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने गरेको छ। निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध उठ्न नसकेको उहाँको भनाइ थियो।

दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि सबै सरोकारवालाहरूले चासो दिन नसकेको सङ्घले जनाएको छ। दूध नउठ्ने अवस्था आए किसान पलायन हुनुपर्ने बाध्यता आउने उहाँले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link