पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ सुरु गरेको छ। स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका दुई सय एकवटा क्यानभास चित्रलाई नगरपालिकाले आजदेखि काठमाडौँको नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो।

प्रदर्शनी आगामी फागुन १७ गतेसम्म जारी रहने छ। चित्रकला प्रदर्शनीको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो। संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ। ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्को शृङ्खलाको रूपमा आयोजना गरिएको छ।

“प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, उहाँले भन्नुभयो, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ। चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ।”

प्रदर्शनीमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभई सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताउनुभयो।

दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक र शुभम् फाउण्डेसनमा पुगेर उतारेका क्यानभास चित्रलाई प्रदर्शनमा राखिएको छ। दिक्तेलमा आयोजना गरिएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न १४ देशका ५० ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनमा राखिएको हो।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका लाइभ चित्रकलालाई काठमाडौँमा ल्याएर प्रदर्शनी गरिएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। ख्यातिप्राप्त चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ”, उहाँले भन्नुभयो, “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा इतिहास निर्माण गरेका छौँ। आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ।”

नगरपालिकाले पहिलो चरणको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा रु १८ लाख खर्च गरेको जानकारी दिएको छ। जिल्लाका कतिपय स्थानीय बासिन्दाले भने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ कार्यक्रमलाई अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन्।

स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुचि राख्ने प्रतिभालाई ऊर्जा मिलेको, चित्रकलासम्बन्धी ज्ञान आर्जन भएको, विदेशी चित्रकारको मानसपटलमा नगरपालिकाको छाप बस्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको नागरपालिकाको दाबी छ। मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम उद्घाटनको अवसरमा विभिन्न जातजातिको सांस्कृति झाँकीसमेत प्रदर्शन गरिएको थियो।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको पाइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले बताउनुभएको छ।

“चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन्। यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ।”

बबरमहलमा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रमको पहिलो दिन राष्ट्रपति पौडेल, मन्त्री किराती, उच्च पदस्त व्यक्तिहरू, विभिन्न देशका चित्रकार, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थी, जिल्लाबासी लगायत हजारौँले अवलोकन गरेको नगरपालिकाले जनाएको छ। प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।

प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलका तस्वीरहरू राखिएका छन्। तेह्र दिनसम्म जारी रहने प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सरकारी उच्चपदस्त व्यक्तिलगायतलाई निम्तो दिइएको नगरपालिकाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link