बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भको पुरातात्विक संरचनालाई जोगाउने प्रयास सुरु गरिएको छ। लुम्बिनीलाई बुद्ध जन्मस्थलका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ।
युनेस्कोलगायत पुरातत्वविद्हरुले दिएको सुझावअनुसार नै लुम्बिनी विकास कोषले मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ नजिकै बत्ती बालिँदै आएको दियोसेड मन्दिर परिसर बाहिर निर्माण गरेर स्थानान्तरण गरिएको विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताउनुभयो। विकास कोषले हालै अशोक स्तम्भ नजिकै रहेको दियोसेड मायादेवी मन्दिर परिसरको पश्चिमपट्टी एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ।
“लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, त्यसैले विगतमा अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजाने विज्ञहरुको सुझाव थियो”, उहाँले भन्नुभयो, “सुझावअनुसार नयाँ दियो सेडक स्थापना गरिएको छ।”
बुद्ध जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिइन्छ। ई.पु.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेखनै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणीक तथ्य हो।
युनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोकस्तम्भको पुरातात्विक संरचनालाई नकरात्मक असर परेको देखाएको थियो। बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचनमा नकरात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्नेस्थल हटाउन आफुहरुले सुझाव दिएको कोषका पुरातत्व महाशाखा प्रमुख एंव वरिष्ठ पुरातत्वविद् हिमालकुमार उप्रेतीले बताउनुभयो।
उहाँले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट सिमेन्टका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दूध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताउनुभयो। सन् २०११ देखि २०१३ सम्म पवित्र बगैंचा क्षेत्रमा यूनेस्को जापानीज फण्ड एण्ड ट्रष्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेडक स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताउनुभयो।
अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टी दियोस्थल निर्माण गरेको छ। अहिले एकै पटकमा आठ हजार बत्ती बाल्न सकिन्छ। कोषले दैनिक रुपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ।
गत माघ १२ गते उपाध्यक्ष डा लामासहित खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र चिनियाँ चर्चित हलिउडका कलाकार जेटलीले दियो सेडकको उद्घाटन गर्नुभएको थियो। महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतिमा प्राय दियो बाल्ने प्रचलन छ। बौद्धिष्ट बाहेक अन्य तीर्थालुलेसमेत लुम्बिनी पुगेपछि दियो बाल्ने प्रचलन बढ्दै गएको छ।
व्यवस्थित रुपमा दियोस्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुर्याएको छ। माघ १२ देखि फागुन मसान्तसम्म रु १३ लाख नौ हजार आठ सय बराबरको बत्तीबाट आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने