आइसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले निराशाजनक हार व्यहोरेको छ। आयोजक युएईविरुद्ध टस हारेर पहिले बलिङका लागि निम्त्याइएको नेपालले कसिकसाउ बलिङ गर्दै युएईलाई ४६.३ ओभरमा १६८ रनको न्युन स्कोरमा रोक्न सफल भएको थियो।
तर प्रतिओभरको ३.३६ को औसतमा रन बनाउने लक्ष्य बोकेर मैदान प्रवेश गरेको नेपालले पुनः एकपटक युएईका सामु घुँडा टेकिदियो। नेपाली टोली ३५.१ ओभरमै केवल १२० रन बनाएर अलआउट भयो। यो हारले प्रतियोगिताको शीर्ष चारमा रहँदै सोझै विश्वकप छनौटको अन्तिम चरणमा स्थान बनाउने नेपालको अभियानमा गम्भीर धक्का पुगेको छ।
पहिलो खेलमा पपुवान्युगिनीविरुद्ध आकर्षक अर्धशतक बनाएका रोहितकुमार पौडेलले यस खेलमा पनि नेपालका तर्फबाट सर्वाधिक ४० रन बनाए। ज्ञानेन्द्र मल्लको २८ र ओपनर कुशल भुर्तेलको ११ रन बाहेक अन्य कुनै पनि ब्याट्स्म्यान दोहोरो अंकमा रन बनाउन सकेनन्। आरिफ शेख, कमलसिंह ऐरी र सागर ढकालले रनको खाता नै खोल्न सकेनन्।
‘आइसीसी वर्ल्डकप क्रिकेट लिग २’
नेपालको टप अर्डरका ब्याट्स्म्यानहरूको खराव प्रदर्शनले यो खेलमा पनि निरन्तरता पायो। इनिङको चौथो ओभरको पहिलो बलमा जुनैल सिद्दिकीले ओपनर कुशल भुर्तेललाई ११ रनमा क्लिन बोल्ड गरेपछि नेपाली ब्याटिङ लाइनअपको पतन शुरू भयो। जुनैदले त्यही ओभरमा अर्का ओपनर आशिफ शेखलाई ७ रनमा चिराग सुरीको हातबाट क्याच आउट गराए। अर्का भरपर्दा ब्याट्स्म्यान दिपेन्द्रसिंह ऐरी पनि खेलको नवौँ ओभरमा जम्मा ४ रन बनाएर आउट भएपछि नेपाल संकटमा परेको थियो।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले चौथो विकेटका लागि ५३ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाल खेलमा फर्किएको थियो। तर खेलको २२ र २३ ओभरमा मल्ल र आरिफ शेखलाई आउट पार्दै युएईले खेललाई आफ्नो पक्षतिर ढल्काए। त्यसपछि लगातार विकेट झर्दै गएपछि नेपाल केवल १२० रनमा अलआउट हुनपुग्यो। नेपाललाई सस्तैमा प्याक अप गर्ने क्रममा युएईका बासिल अहमदले केवल ५ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए। करण केसी सहित ३ महत्वपूर्ण विकेट जुनैदको नाममा रह्यो।
त्यसअघि तीव्र गतिका दुई बलर सोमपाल कामी र करण केसीले एकआपसमा ७ विकेट बाँडेपछि नेपाल युएईलाई कम योगफलमा रोक्न सफल भएको थियो। सोमपालले ९ ओभरमा ३९ रन खर्चिएर ४ विकेट हात पारे। कप्तान सन्दिप लामिछानेले कसिकसाउ बलिङ गर्दै १० ओभरमा ३० रन दिएर १ विकेट लिए।
नेपाली बलरहरूको उच्च प्रदर्शनलाई ब्याट्स्म्यानहरूको फितलो प्रदर्शनले छायाँमा पारिदियो। १२० रनको स्कोर नेपालले एकदिवशीय क्रिकेटमा बनाएको अहिलेसम्मको दोस्रो न्युन स्कोर हो। यसअघि २०१९ मा नेपाल युएईविरुद्ध नै ११३ रनमा अलआउट भएको थियो। युएईविरुद्ध अहिलेसम्म खेलिएका ५ खेलमा नेपाल २ खेलमा विजयी भएको छ भने ३ खेलमा हार ब्यहोरेको छ। २०१९ मै नेपालले युएईविरुद्ध बनाएको २५५ रन एकदिवशीय खेलमा नेपालको उच्च स्कोर हो।
प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हार सहित १० अंकका साथ तालिकाको छैठौँ स्थानमा छ। शुक्रबारको हारले नेपालको ब्याटिङमा देखिएको समस्यालाई झनै उदाङ्गो बनाएको छ भने प्रतियोगिताका आगामी खेलहरू नेपालका लागि अझै कठिन हुने पनि स्पष्ट भएको छ। प्रतियोगिता अन्तर्गत नेपालले आगामी आइतवार युएईसँग र सोमवार पीएनजीसँग खेल्ने कार्यक्रम छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पाँच महिनामा २५ हजार जना बढीले घुमे गोसाइँकुण्ड र लाङटाङ
- शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
- रेल चालकको आत्महत्याले फ्रान्समा रेल सेवा अवरुद्ध
- नेपालको यस्तो गाउँ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ
- १७ वर्षदेखि बोरामा बसेर पढ्न बाध्य छन् विद्यार्थी
- कन्याम चियाबारी
- तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
- डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
- लुम्बिनी कप फागुन १९ गते देखि
- धरहरा सञ्चालन भएको एक महिनामा ५५ लाखको टिकट बिक्री