एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै

जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजले सानदार विजय हासिल गरेका छन्। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको पहिलो खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई पराजित गर्‍यो भने दोस्रो खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किङ्ग्सविरुद्ध फराकिलो जित निकाल्यो।

लुम्बिनी लायन्सको लगातार उत्कृष्ट प्रदर्शन

दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रनको प्रतिस्पर्धी योगफल तयार पारेको थियो।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। यसबाहेक विकेटकिपर ब्याट्सम्यान निरोसन डिक्वेल्लाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए। जनकपुरका बलरहरू राहुल यादव र विशाल सुशलिङले समान २–२ विकेट लिए पनि लुम्बिनीलाई रोक्न पर्याप्त भएन।

१५० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। यस जितसँगै लुम्बिनी लायन्सले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै ४ खेलबाट ७ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

काठमाडौँ गोर्खाजको ९ विकेटको विशाल जित

बिहीबार नै भएको दोस्रो खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किङ्ग्समाथि ९ विकेटको सानदार जित हासिल गर्‍यो। टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किङ्ग्स काठमाडौँको कसिलो बलिङसामू टिक्न सकेन र १८.३ ओभरमा मात्र ८३ रनमा समेटियो।

विराटनगरका लागि रूपेश सिंहले २७ बलमा सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्यूजले २२ र बशीर अहमदले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। काठमाडौँका कप्तान करण केसी र सन्तोष यादवले घातक बलिङ गर्दै समान ३–३ विकेट हात पारे। यस्तै, सहान अराचचिगेले २ तथा जाहदाद खान, शहाब आलम र देव साहले १–१ विकेट लिए।

८४ रनको सामान्य लक्ष्य काठमाडौँ गोर्खाजले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। यस जितसँगै काठमाडौँ ३ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आज हुने खेलहरू

एनपीएल अन्तर्गत आज (शुक्रवार) पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन्:

१. सुदूरपश्चिम रोयल्स र कर्णाली यक्स (दिउँसो १२:३० बजे, त्रिवि क्रिकेट मैदान, कीर्तिपुर)

२. चितवन राइनोज र पोखरा एभेन्जर्स (अपराह्न ४:३० बजे, त्रिवि क्रिकेट मैदान, कीर्तिपुर)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link