समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो। हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ।
आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिने भएकाले स्थानीय मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम पनि आमाछोदिङ्मो राखिएको हो।
कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ रहेको यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो। पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो।
गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहार मात्र नभई हिन्दु र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो। उनले भनिन्, “यहाँ अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ। तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ। गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको भए पनि यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ।”
पार्वतीकुण्डको उत्पत्ति र महत्वबारे हिन्दु तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन्। हिन्दु धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ।
समुद्र मन्थनबाट निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सृजना गरेको धार्मिक विश्वास छ। शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान हुनुभएको स्थानीय जनश्रुति छ। यही विश्वासका आधारमा कुण्डलाई पवित्र तीर्थस्थल मानिन्छ। यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ। मानसरोवर तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्री पनि यहाँ स्नानका लागि आउने गरेका छन्। भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ।
बौद्ध धर्मावलम्बीका अनुसार गुरु पद्मसम्भव (गुरु रिम्पोछे)ले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गरेका थिए। तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास गत्लाङका स्थानीय अविनाश तामाङ बताउँछन्।
स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो। यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ। यहाँ आउने पर्यटकले तामाङ संस्कृति, परम्परागत वेशभूषा र रैथाने जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सक्छन्। कुण्ड वरपर रहेका गुराँस, खस्रु, लालीगुराँस र काठका रूखले यहाँको वातावरणलाई शान्त र मनमोहक बनाएका छन्।
कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’बाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगललगायतका हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ। यहाँबाट चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यावलोकन गर्न सकिन्छ।
पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीबहिनीका रूपमा लिने गरिन्छ। यस क्षेत्रको ऐतिहासिक महत्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक रहेको छ। सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ तथा धादिङका विभिन्न बस्ती पुग्ने प्रमुख पदमार्गका रूपमा पनि यो क्षेत्र परिचित छ।
पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटकको आकर्षण बढाउन स्थानीय तामाङ समुदायमार्फत मौलिक सांस्कृतिक झाँकी, म्हेन्दोमाया र सेलोलगायत परम्परागत नृत्य प्रस्तुत गर्ने गरेको छ। यसले पर्यटकलाई स्थानीय संस्कृति र परम्परासँग नजिकबाट परिचित गराउने गरेको छ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण पार्वतीकुण्डको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार हुन सके यसलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको अपेक्षा छ। यसबाट स्थानीयवासीको आर्थिक जीवनस्तर सुधारमा पनि योगदान पुग्ने देखिन्छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि यो क्षेत्र थप ओझेलमा परेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
- तरकारीभन्दा फूल खेतीमै बढी आम्दानी
- च्याम्पियन्स लिग: भल्भेर्डेको निर्णायक गोलमा एएके एथेन्समाथि रियल मड्रिडको रोमाञ्चक जित
- आजदेखि राष्ट्र बैंकले सुन-चाँदीका सिक्का बेच्ने
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- पश्चिमी वायुको प्रभाव: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना