द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—८
द्रौपदी अत्यन्त सहनशीला, परिश्रमी र बुद्धिमती तर इखालु पनि थिइन् भन्ने कुराको झलक बडामहारानीको भूमिका सरल तरिकाले निर्बाह गरेको र सुझबुझ तरिकाले बहन गरेको कथाहरूले पनि हामीलाई दिन्छ। इखालु कुन अर्थमा भने उनलाई जुन चीर हरण गर्ने अपमान गरिएको थियो कुरु दरबारमा, त्यसलाई उनले कहिल्यै पनि बिर्सिएकी थिइनन्। उनको सहिष्णुता र दयालुपनको प्रमाण पाइने धेरै उदाहरणहरू होलान् तर दुईओटा उदाहरणले देखाउँछ, जब जयद्रथले उनलाई अपहरण गरेको थियो, पाण्डवहरूले उसलाई पक्रेर मार्न आँटेका थिए। त्यसबेलामा उनले दुःशलाको सौभाग्य मेटिन दिइनन् र जीवित नै छोडिएको थियो। अर्को घटना थियो, गुरुपुत्र महारथी अश्वत्थामाले जब द्रौपदीका पाँच महारथी पुत्रहरूलाई पाण्डव सम्झेर सुतेका बेलामा मारेका थिए, त्यसपछि उनलाई लखटी लखटी पक्रेर मार्न आँट्दा उनले आफूलाई जस्तै पुत्रशोक गुरुआमा कृपीलाई नपरोस् भनेर जीवन दान दिइन्।
तर चीरहरणलाई भने उनले कहिल्यै पनि बिर्सन सकिनन्। परसरेकी थिइन्। एकबस्त्रमा थिइन्। महाराज युधिष्ठिरले जुवामा उनलाई हारेपछि द्रौपदीलाई घिसार्दै घिसार्दै जुवा खेलेकै ठाउँमा राजकुमार दुःशासनले ल्यायो, बलजफ्ती गर्न खोज्यो, नोकर्नीको रुपमा व्यवहार गर्न थाल्यो। कौरवतर्फमा कान्छो राजकुमार विकर्ण बाहेक सबै नै द्रौपदीमाथि भएको अन्याय, बलजफ्ती र अपमानको बारेका चुइँक्क कोही बोलेनन्। न त कुरुश्रेष्ठ देवब्रत बोले, न त कुलगुरु कृपाचार्य बोले माफ पनि दिइनन्।
चीरहरणका पछिल्तिरका कारणहरू धेरै थिए भन्ने बुझ्न सकिन्छ। सबैभन्दा ठुला कारणचाहिँ राज्यको बाँडफाँट नै थियो। महाराजको पदवी आफ्नो हकमा हुँदाहुँदै आफूलाई नदिएर भाइ पाण्डुलाई महाराज बनाएको बेलादेखि नै दरबारमा मौन विद्रोह देखिन्छ। त्यो विद्रोहका लागि धृतराष्ट्र आफैँमा मुर्मुरिएका थिए मुमा बडामहारानी सत्यवतीसँग, आफ्ना भौतिक पिता वेदव्याससँग, कुरुवंशका अन्तिम निर्णयकर्ता पितामह भीष्मसँग। जेठा राजकुमार धृतराष्ट्रको विवाह नभई भाइ पाण्डुको विवाह गर्नु मनासिब नभएकाले गान्धार नरेश सुबलकी छोरी गान्धारीको विवाह बलजफ्ती तरिकाले धृतराष्ट्र गराइएको थियो। एकप्रकारले पोके विवाहका रुपमा। गान्धार नरेशका तर्फबाट कन्यादान दिन हस्तिनापुर आएका युवराज शकुनि त्यसपछि आफ्नो राज्य छोडेर हस्तिनापुरमा नै अड्डा जमाएरै बसे।
अचानक प्राप्त भएको अर्को कारणचाहिँ चीरहरणको कुरा यसरी विकसित भएको देखिन्छ। कौरवहरू पनि द्रौपदीको स्वयंवरमा गएका थिए। सबै राज्यका राजा तथा राजकुमारहरूलाई खुला निम्तो थियो। सर्त राख्नेहरूलाई एउटा समस्या कस्तो पर्ने रहेछ भने यदि सर्त पूरा भएन भने राजकुमारीको विवाह कहिल्यै हुने छैन। त्यस्तै सर्त त्रेतायुगमा पनि महाराज जनकले राखेका थिए, मेरी छोरी सीताको विवाह त्यसैसँग मात्र हुनेछ जसले शिवधनुमा वाण सन्धान गर्न सक्नेछ। कारण थियो, कस्ता कस्ता वीरहरूले पनि एक्लै उठाउन नसकेको धनु यसो पन्छाएर जानकीले धनु राख्ने ठाउँ सफा गर्थिन्। त्यस्ती क्षमतावान छोरीको विवाह धनुसमेत उठाउन नसक्नेसँग गर्नु पनि हुने थिएन, त्यसैले त्यस्तो सर्त राखिएको हुनुपर्छ। त्यो बेलाको अत्यन्त चर्चित राज्य भनेको दशरथको अयोध्या थियो र वीरमा नाम चलेका थिए दशरथका राजकुमारहरू श्रीराम, लक्ष्मण, शत्रुघ्न र भरत। श्रीरामको जन्मको सार्थकताका लागि पनि ऋषि विश्वामित्रले चारै राजकुमारहरूलाई त्यो सर्त पूरा गराउन लिएर गएका थिए होलान् र त श्रीरामले हजारौँ राजाहरूले उठाउन नसकेको धुनष उठाएमात्र होइन, उनको सन्धानमा टुक्राटक्रा भएको थियो। भनिन्छ, लङ्कापति रावणले पनि धनुष उठाउन नसकेको अवस्थामा बालक राजकुमारले उठाएर सबै बलिया, बुद्धिजीवी राजाहरूको घमण्ड चुर भएको थियो।
यस्ता सर्तहरू कल्पकल्पमा सुनिन्थे र प्रयोगमा आउँथे। कति सर्तको पूर्णता नहुँदै राज्यहरूका बिचमा घमासान युद्ध भएको पनि पुराण वयान छ। कति राज्यका राजकुमारीहरूलाई स्वयंवरका प्रक्रियाहरूको बिचबाट नै अपहरणको शैलीमा लगिएको पनि छ पुराणहरूमा। जस्तै कि रुक्मिणीलाई श्रीकृष्णले उनकै इसारामा अपहरणको शैलीमा भगाएका थिए। काशी नरेशका तीनओटी छोरीहरू अम्बा, अम्बिका र अम्बालिकाहरूलाई त्यसबेलाका सबैभन्दा शक्तिशाली धनुर्धर, कुरुवंशका धरोहर देबव्रतले आफ्ना भाइ विचित्रवीर्यका लागि अपहरण नै गरेर ल्याएका थिए। हस्तिनापुरबाट फर्केर गएकी अम्बालाई न त प्रेमीले स्वीकार गरे, न त हस्तिनापुरले स्वीकार गर्यो। यो विवादमा स्वयं भगवान परशुरामसमेत मुछिए तर देवब्रतले अम्बालाई फिर्ता लिन पनि मानेनन्, भाइसँग विवाह गर्न पनि मानेनन्।त्यसको नकारात्मक परिणामका रुपमा अम्बाको जीवन रह्यो र पछि तिनै बदलाको भावनाले प्रताडित राजकुमारी अम्बाले पुनर्जन्म लिएर महाराज द्रुपदको दरबारमा पहिलो सन्तान शिखण्डिनी छोरीको रुपमा जन्म लिइन् तर उनमा पूर्व जन्मको ज्ञान थियो,बदलाको भावमा कुनै कमी थिएन र जसरी हुन्छ भीष्म ब्रत लिएर भीष्म पितामहका रुपमा प्रख्यात देवब्रतको हत्या गर्नु थियो, मृत्युको कारण बन्नु थियो र उनलाई जसरी पनि महाभारतको युद्धमा भाग लिएर पितामहसँग लड्नु थियो। त्यो पनि अम्बाको पुनर्जन्म लिएकी शिखण्डिनीलाई थाहा थियो कि पुरुषलाई बाहेक सेनामा भर्ना लिइँदैन र युद्धमा लड्ने अनुमति पनि हुँदैन। शिखण्डिनीले पुरुषको लिङ्ग प्राप्त गरेर शिखण्डी भए, युद्धकला सिके, महारथी शिखण्डीको रुपमा पाण्डव सेनाका योद्धाका रुपमा लडे। अन्तमा उनकै वाणका कारणले भीष्म पितामहको शरशय्यामा सुत्ने अवस्था आएको थियो कथाले भने अनुसार। त्यसो त पितामहलाई कसरी जित्ने भन्दा उनले भनेका थिए, यो सबै कुरा कृष्णलाई थाहा छ, भोलि मेरो रथका अघिल्तिर शिखण्डिनीलाई ल्याउनू, म कुनै नारी, निहत्था योद्धासँग कहिल्यै लड्दिन, मेरालागि शिखण्डी अहिले भए पनि त्यो शिखण्डिनी नै हो, महिला नै हो। अनि म पिठ्युँ फर्काउने छु, अनि शिखण्डिनी र उनको तर्फबाट जजसले हाने पनि भयो वाण।
पाञ्चालमा पनि याज्ञसेनीसँग विवाह गर्नका लागि सर्त थियो माथि घुमिरहेको कृत्रिम माछाको आँखामा तल पानीमा हेरेर निसाना लगाउने। जसले सबैभन्दा पहिले ठिकसँग वाण सन्धान गर्छ र निसानामा लगाउँछ, त्यसले द्रुपद महाराजकी राजकुमारीलाई पाउने छ। द्रौपदी त्यस समयकी सबैभन्दा सुन्दर राजकुमारी थिइन्। उनको जन्मका विषयमा विभिन्न पुराणहरूमा फरक फरक कारणहरू छन् र पनि भित्री मनसाय त आफूलाई अपमान गर्ने र आफ्नो आधा राज्य खोसेर लैजाने द्रोणाचार्यसँगको बदला लिनु थियो, द्रोणाचार्यलाई मार्न सक्ने पुत्रको लागि यज्ञ गरिएको थियो र सँग जुम्लाहा बच्चीको रुपमा कुमारी जन्मिएकी हुन् कृष्णा, जसलाई आज पनि हामी द्रौपदीको रुपमा चिन्छौँ। संसारमा प्रख्यात पाँच कन्याहरूमा द्रौपदी पनि एक थिइन्। खासमा द्रौपदीका लागि द्रुपदको मनमा एकजना अर्जुनमात्र कल्पनामा थिए तर त्यहीताक पाण्डवहरू बारणावर्तमा पोलिएर मरेको समाचारका कारणले अर्जुनसरहको धनुर्धरको खोजी महाराज द्रुपदलाई थियो। खासमा अर्जुन नै त्यस्ता वीर हुन् जसले द्रुपद महाराजलाई बन्दी बनाएर गुरु दक्षिणाको रुपमा द्रोणाचार्यको पाउमा लगेर पछारेका थिए। त्यसपछिमात्र यज्ञ गरिएको थियो र जुम्लाहा छोरा र छोरी जन्मिएका थिए धृष्टद्युम्न र कृष्णा। वयस्क उमेरका। जन्मदै उनीहरूको कर्तव्य तोकिएको थियो र त्यसका लागि उनीहरूलाई मानसिकरुपमा प्रशिक्षण पनि दिइयो तर द्रौपदीमा निष्छलता, निर्दोषिता बढी थियो भन्न सकिन्छ।
सर्तमा खासै भनिएको थिएन जात, धर्म र कुल तर सामान्यतया राजकुमारीको स्वयंवरमा राजा तथा राजकुमारहरू नै आएकाक थिए। एकातिर दुर्योधनको सहयोगीका रुपमा भए पनि अंग नरेशका रुपमा महारथी कर्ण पनि स्वयंवर प्रयोजनका लागि गएका थिए। त्यो बेलामा कुनचाहिँ राजा थिएन होला, कुनचाहिँ राजकुमार थिएन होला द्रुपद पुत्री द्रौपदीको लालसा नराख्ने, चाहना नराख्ने। द्रुपद महाराजको चाहना अर्जुनसँग विवाह गराउने भएकाले पनि त्यस्तो सर्त राखिएको थियो होला किनभने त्योबेलाको भारतवर्षमा अर्जुन बराबरको धनुर्धर अर्को थिएन भन्ने थियो जसले द्रुपद महाराजलाई समेत बन्दी बनाएर हस्तिनापुर पुर्याएको थियो। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा