पर्यटक कुर्दै तमोर

 

धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो ।

यसरी पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् ।

जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् ।

तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ । स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ ।

रु पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आउनुभएका उहाँले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताउनुभयो ।

अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ ।

तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उहाँले जानकारी दिनुभयो । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उहाँले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link