सिन्धुपाल्चोकको थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध

थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यु –३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ। हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो।

सम्झौतामा यु–३२ का प्रिन्सिपल स्टिवन डेलिङ्गरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गर्नुभयो। पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। उहाँले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब विस्तारै पूरा हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस पालिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागिपरेको बताउनुभयो।

हेल्पका अध्यक्ष जिमी लामाले भगिनी सम्बन्ध कायम भएकामा बधाई ज्ञापन गर्दै भविष्यमा विद्यार्थी र शिक्षकबीच सिकाइ साटासाट हुने बताउनुभयो। अन्य दिन पनि स्कुललाई हितको लागि लाग्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

दुई विद्यालयका शिक्षक र विद्यार्थीबीच विभिन्न माध्यमबाट सिकाइ आदानप्रदान गर्न र एकअर्कालाई सिकाइ प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरु पूरा गर्न एकअर्कालाई सहयोग पु¥याउने उद्देश्यसहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताउनुभयो।

भगिनी सम्बन्धबाट शिक्षकहरुलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तरराष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो। कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पूर्वव्यस्थापन समितिका शङ्कर लामालगायतले यु–३२ विद्यालयप्रति आभार प्रकट गर्नुभयो।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि चारवटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो। बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो। पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो। विद्यालयमा हाल आठ सय २१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन्।

यु–३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्यन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब सात सय २५ जना विद्यार्थी अध्यनरत छन्। यु–३२ समावेशी सिकाइ वातावरण, सामुदायिक सहयोग, विद्यार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्यभन्दा पृथक रहेको प्रिन्सिपल स्टिवन डेलिङ्गरपेटले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link