आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
श्री पशुपतिनाथ मन्दिर उत्पत्ति र आदि शङ्कराचार्यको नेपाल आगमन
पशुपतिनाथको मन्दिर को उत्पत्ति सन् ४०० मा भएको मानिन्छ । लिच्छवि राजा शिवदेव (कतै सुपुष्पदेव) को पालामा यसको व्यापक निर्माण कार्य भएको र आजको मन्दिरचाहिँ भुपतिन्द्र मल्लको पालामा बनेको उल्लेख छ । यो एसियाकै पुरानो शिव मन्दिर हो भनिएको छ । शंकराचार्यलाई भगवान् शिवको दर्शन र आशीर्वाद मिलेको थियो ।
देवताले सामान्य मानिसलाई साक्षात् रूपमा दर्शन दिनु नहुने दैवी नियमले गर्दा शशाङ्क ब्राह्मणको भेषमा शिवले दर्शन दिएको बताइन्छ। ३२ वर्षको उमेरसम्म मात्र बाँचेका, आदिशंकराचार्य नेपाल आउँदा २८–३० वर्षका थिए । सन् ७०३ मा उनी नेपाल आउँदा सम्भवतः यहाँ लिच्छवी राजा शिवदेवको शासन थियो । यस विषयमा इतिहासकारबिच केही मतभेद पाइन्छ ।
शङ्कराचार्य नेपाल आएको समाचारले समस्त सनातन धर्मावलम्बीहरूको हृदयमा उत्साहको सञ्चार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथमा मानिसहरू ओइरिन थाले । आचार्यले आफ्ना शिष्यहरूलाई पशुपतिनाथ वरिपरि सरसफाइ गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले, “नागेन्द्रहाराय त्रिलोचनाय, भस्माङ्गरागाय महेश्वराय। नित्याय सुद्धाए दिगम्बराय, तस्मै न का राय नमः शिवाय॥.” आचार्य आफैँ पशुपतिनाथको प्राङ्गणबाट धर्मोपदेश गर्दथे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर श्रोताहरूमा असाधारण प्रभाव पर्यो । यसरी नेपालमा हिन्दु धर्ममा पुनर्जागरण देखिन थाल्यो । आचार्यका शिष्यहरूले सहर घुमाघुमी धर्मोपदेश गर्न थाले ।
यहाँका ब्राह्मणहरूलाई उनीहरूले नित्य नैमित्तिक कर्म– अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले । आचार्यको विशेष इच्छाअनुरूप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्रसम्मत पूजा अर्चनादि नियमित रूपमा गर्नका लागि विद्वान ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान ब्राह्मण स्वामी सोमशेखर आनन्द ले गरेका थिए । ठाउँ ठाउँमा वेद र अन्य शास्त्रहरूको अध्ययनका लागि पाठशालाहरू बनाइए । शङ्कराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि मध्वाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरेको बताइन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने