सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरीखेती छाडेर आलुखेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्। परम्परागत बाली छाडेर आलुखेतीतर्फ लागेका किसान डडुवा रोगका कारण आलुका बोटका पात र आँख्ला सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन्। गहुँ, जौ, उवा, फापर र तोरीखेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलुखेती गर्न थालेका थिए।
म्याग्दीको बेनी नगरपालिकासहित मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा पालिकाका किसान व्यावसायिक आलुखेतीमा लागेका कृषि ज्ञान केन्द्रले जनाएको छ। मालिका गाउँपालिका–१ निस्कोट, वडा नं २ रुम, ६ दरवाङ र ७ बिम तथा मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत बेनी नगरपालिकाका दशवटै वडामा आलुखेती हुने गरेको छ।
अधिकांश वडाका किसान परम्परागत अन्नबाली छाडेर आलुखेतीतिर लागेका पालिकाका कृषि प्राविधिकको भनाइ छ। मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरूपमा बिक्री हुन थालेपछि नगदेबालीका रूपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो।
उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकर्षित भएका मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो। व्यावसायिक रूपमा आलुखेती गर्दै आएका बेनी नगरपालिका तथा मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन्।
अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो। आलुखेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलुखेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो। रघुगङ्गा–६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान टेकबहादुर छन्त्यालले बताउनुभयो। खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीको रेखदेख गर्ने गरेमा आलुलाई रोग किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ छ। म्याग्दीमा व्यावसायिक रूपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलुखेती गरिएको छ। आलु सुपरजोन र स्थानीय पालिकाको साझेदारीमा बीउमा अनुदानमा पाई किसानले करिब एक हजार क्विन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
पछौटे डडुवा आलुखेतीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले जानकारी दिनुभयो। उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढिरहेको छ। पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छभने तराईका जिल्लामा महामारीका रूपमा फैलिएको छ। यसको सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो। उहाँका अनुसार अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ। ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ। रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भइरहे पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उहाँको भनाइ छ।
‘फाइटफथोरा इन्फेस्टेन्स’ नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन्। यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन्। लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ तथा माटोको माध्यमबाट यो रोग देखापर्ने विशेषज्ञको भनाइ छ।
म्याग्दीमा आलु मौसममा प्रतिकिलो रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु ८० देखि रु एक सयसम्ममा बिक्री गर्न सकिने किसानको भनाइ छ। आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको किसानको माग छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
