बडीमालिकाका स्कुलमा हप्तामा एक दिन कोदोको हलुवा

विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवाखाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन्। सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवाखाजामा समावेश गर्न थालिएको हो। बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवाखाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ।

नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवाखाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताउनुभएको छ। नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उहाँले बताउनुभयो।

स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्द्धन तथा प्रचार–प्रसार गर्नेगरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने नीति कार्यान्वयन भएको नगरप्रमुख अमर खड्काले बताउनुभएको छ।

सरकारले दिँदै आएको दिवाखाजालाई थप प्रभावकारी बनाउन र गाउँमै उत्पादन गरिएको कोदोको प्रवर्द्धन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोलगायतका बालीको परिकार पकाएर खुवाउने गरेको नगरप्रमुख खड्काले जानकारी दिनुभयो।

रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्यसहित नगरले लिएको नीति अवलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यायलयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको  नगरपालिकाले जनाएको छ।

प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एकपटक दिउँसो खाजा सुविधा पाइरहेका छन्। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा विद्यालयमा विद्यार्थी छाडेर जाने र विद्यालयमा नआउने हुँदा सङ्ख्या बढाउनका लागि सरकारले दिवाखाजा सञ्चालन गर्दै आएको छ।

दिवाखाजा कार्यक्रमपछि विद्यालय छाड्नेको सङ्ख्यामा कमी र विद्यार्थीले नियमितरूपमा विद्यालय आउने गरेको कालिका आधारभूत विद्यालयका शिक्षक जङ्ग विकले बताउनुभएको छ। कतिपय विद्यार्थीले बीचमै पढाइ छोड्ने, विद्यालयमा भर्ना भए पनि कम मात्रामा विद्यालय आउने र विद्यार्थीको सङ्ख्या दर घट्दै जाने गरेकाले दिवाखाजा कार्यक्रमले विद्यार्थीलाई आषर्कषण गर्दै आएको बताउनुभयो। दिवाखाजा कार्यक्रमले विद्यार्थी निरन्तर विद्यालयमा आउने बानीको विकास भएको र विद्यार्थीको अनुपस्थित दर घटेको उहाँले सुनाउनुभयो।

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा बालबालिकालाई माघ २० गतेदेखि नै कोदो, फापर, मकैलगायतका खाद्यान्नको परिकारको दिवाखाजा बनाएर खुवाउने गरेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक बलबहादुर रोकायले बताउनुभएको छ। रैथाने बालीको प्रवर्द्धन तथा बढावा दिन, प्रचार प्रसार र उपयोगिताबारेमा जानकारी गराउने उद्देश्यसहित सञ्चालन गरिएको शाखा प्रमुख प्रेमबहादुर महतले बताउनुभएको छ।

उहाँले २५ वटै विद्यालयमा चिनी, घ्यु र कोदोको हलुवा बनाएर हप्तामा एक दिन विद्यार्थीलाई खुवाउने कार्यक्रम रहेको कृषि शाखा प्रमुख महतको भनाइ छ। बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ५८ बालबालिकाले दिवाखाजा खाइरहेका छन्। रैथाने बालीको दिवाखाजा कार्यक्रमका लागि रु दुई लाख ७५ हजारको बजेट छुट्याएको कृषि शाखा प्रमुख महतले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बडीमालिकाका स्कुलमा हप्तामा एक दिन कोदोको हलुवा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link