कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँच वटा दुहुना छन् ।
क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घ्यू उत्पादन हुने उनले बताए । उत्पादित घ्यू प्रतिलिटर रु एक हजार ५०० मा बिक्री हुन्छ ।
उनले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई पनि बिक्री गर्छन् । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।
भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उनी बताउँछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने ।
घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य रु एक लाखसम्म पर्ने उनले बताए । घ्यू र भैँसीको बिक्रीबाट घर खर्च कटाएर वार्षिक करिब रु तीन लाख बचत हुने गरेको उनको भनाइ छ ।
भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनी बताउँछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन् । छोरी अहिले जापानमा हुनुहुन्छ भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दुई तिहाइ बहुमत सरकारको चार महिना : राजस्व सङ्कलनमा सुधार, विकास खर्च साढे सात प्रतिशतमा सीमित
- कोप–३१: जलवायु वित्तको लक्ष्यमा ध्रुवीकरण, विकसित र विकासशील देश आ-आफ्नै अडानमा
- एनपीएल २०२६: पहिलो प्लेअफमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा प्रवेश
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडमा आंशिक बदली, तराई र उपत्यकामा हुस्सुको प्रभाव
- बाढी पहिरोको मारमा म्याग्दीका जलविद्युत् : उत्पादनदेखि निर्माणसम्म प्रभावित
- टमाटरखेतीको ‘हब’ बन्दै इलामको टोड्के गाउँ
- एनपीएल २०२६: पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- आज विदेशी मुद्राको भाउ कति?
- पश्चिमी वायुको आंशिक प्रभाव: कोशी र गण्डकीका उच्च भू-भागमा वर्षा र हिमपातको सम्भावना