विप्रेषणसँगै बढीरहेको खाद्यवस्तुको भाउ

गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।नेपाल राष्ट्र बैंकले फागुन २७ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८५ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ०६ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशतले बढेको छ।  घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १२ दशमलव ३३ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव १५ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ। यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने एक दशमलव ४१ प्रतिशतले घटेको छ।

माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९६, तराईको चार दशमलव ७१, पहाडको पाँच दशमलव ५८ र हिमालको पाँच दशमलव ४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः आठ दशमलव ४७, सात दशमलव ८२, सात दशमलव ३० र सात दशमलव ९२ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्।

नेपाल राष्ट्र बैंकले फागुन २७ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ३९ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७ दशमलव एक प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव एक प्रतिशतले वृद्धि भई अमेरिकी डलर छ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव चार प्रतिशतले बढेको थियो।

माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब १० अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले बढेको थियो। यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई रु तीन अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब १८ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब चार करोडले धनात्मक रहेको थियो।

चालु खाता एवम् शोधनान्तर स्थिति पनि सकारात्मक देखिएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा चालु खाता रु एक खर्ब ६१ अर्ब ६९ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ४० अर्ब १६ करोडले घाटामा रहेको थियो। अहिले शोधनान्तर स्थिति रु दुई खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो।

गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिना अवधिमा १९ दशमलव ९ प्रतिशतले वृद्धि भई गत माघ मसान्तमा रु १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तसम्ममा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत माघ मसान्तसम्म पुग्दा २० दशमलव सात प्रतिशतले वृद्धि भई रु १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ। अहिले बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब २१ अर्ब दुई करोड रहेको छ। गत माघ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको सुरुवाती सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव सात महिनाको वस्तु आयात र १२ दशमलव तीन ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ दशमलव तीन, १०२ दशमलव चार र २८ प्रतिशत रहेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
विप्रेषणसँगै बढीरहेको खाद्यवस्तुको भाउ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link